काठमाडौ । काठमाडौ उपत्यकामा बसोबास गर्ने मानिसहरुको धर्म परम्परा, संस्कृति तथा दैनिक जीवनसंग गाँसिएको बिष्णुमती नदी कुनै बेला स्वच्छ र सफा थियो । मानिसहरु यहि नदीमा नुहाउँने गर्दथे कपडा धुने गर्दथे र पिउनको लागि पनि प्रयोग गर्दथे । समयकाल तथा उच्चतम जनसंख्या बृद्धी र चेतनाको कमीले आज विष्णुमती फोहोरको ढल समान भएको छ ।
याे नदी हिन्दुहरुको आस्थासंग जोडिएको बागमती नदीमा टेकु दोभानमा पुगेपछि मिसिएको छ । काठमाडौ उपत्यकामा बग्ने पवित्र बागमती नदीमा बागमती सहित सात मतीहरुको संगम हुने गर्दछ । यसैले बागमती नदीलाई सप्तमती पनि भन्ने गरिन्छ ।
शिवपुरीको उत्तर तर्फबाट बागमती नदी बहन थालेको छ । बागमतीको मुलद्वार भएको हुँदा यसलाई बागद्वार भन्ने गरिन्छ । साथै बागमती नदीलाई शिवको मुखबाट उत्पति भएको हुँदा शिवगङ्गा पनि भन्ने गरिन्छ । यहि शिवपुरीको दक्षिणबाट भने बिष्णुमतीको शुरुवात भएको छ । बिष्णुमती नदीको मुलद्वार भएको हुँदा त्यस स्थानलाई बिष्णुद्वार अथवा बिष्णुपादुका भन्ने गरिन्छ । साथै बिष्णुमती नदीलाई बिष्णुको पाउ (खुट्टाको बुढी औला)बाट उत्पति भएको मान्ने गरिन्छ ।
करिब १५ किमी लामो बिष्णुमती नदीमा फोहोर फाल्ने कार्यले गर्दा दुषित भइ नदी जन्य जीवजन्तुहरु बस्दैनन् । जुन नदीमा कुनै पनि जीवजन्तु बस्दैन त्यस्ता नदीलाई मृत नदी भनिन्छ । अहिले बिष्णुमती नदी पनि मृत नदी भएको छ । यो नदीको नजिकै पुग्नुभयो भने हातले नाक थुन्नु पर्ने हुन्छ । यस नदी किनारमा मानिसको सभ्यताको बिकास भएको थियो भन्न पनि लाज हुने भइसकेको छ ।
यस नदी किनारको बिभिन्न ठाँउमा मन्दिर पौवा तथा श्मशान घाटहरु रहेको छ । यस तस्विरमा बिष्णुमती नदी तर्नको लागि बनाइएको हिउँदे पुल देख्न सकिन्छ । यो हिउँदे पुलसंगै मानिसहरु हिड्न मिल्ने पुल पनि रहेको थियो । तर पनि सहजताको लागी हिउँदमा पानीको बहाव कम हुने समयको लागि यस प्रकारको अस्थाइ पुल बनाउने गरिन्थ्यो । यस पुल नजिकै लुँती अजिमाको मन्दिर छ ।