नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण जेलमुक्त बनेको तर एमाले नेता टोपबहादुर रायमाझी थुनामै रहेकोप्रति असन्तुष्टि प्रकट गरेका छन्।
मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्राको १७ औं दिन शनिबार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले नेता खाणको नाम नलिई उनी कांग्रेस भएकै कारण छुटेको बताएका हुन्।
रायमाझीको पनि नाम नलिएका ओलीले उनी चाहिँ एमाले भएकै कारण जेलमै रहेको बताएका हुन्। यद्यपि सोही दिन अदालतबाट सफाइ पाएका एमाले सांसद लक्ष्मी कोइरीबारे भने ओलीले ‘बल्ल सफाइ पाएको’ बताएका थिए।
‘अहिले एमालेको एकल सरकार बन्ने अवस्था छैन। हामी प्रमुख पार्टी पनि भएनौं,’ ओलीले कोइरीतिर लक्षित गर्दै भने, ‘२३ ठाउँमा कांग्रेसले बुथ कब्जा गरेर हाम्रा सिटहरू लुटेर लिएको छ। अनेक मुद्दा लगाएर एक जना साथीले अस्तिका दिन मात्रै बल्ल सफाइ पाउनुभयो।’
बिहीबार महोत्तरी जिल्ला अदालतले असई थमन विकको हत्यामा संलग्न रहेका सात जनालाई जन्मकैदको फैसला गरेको थियो। अदालतले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई भने सफाइ दिएको थियो। ओलीले कोइरीको नाम नलिई ‘एक जना साथीले सफाइ पाएको’ भनेर प्रसन्नता प्रकट गरे। तर, बालकृष्ण खाण छुटेको र टोपबहादुर रायमाझी थुनामै रहेकोबारे भने ओली रूष्ट सुनिए।