गाउँखाने कथा यस जिल्लामा प्रचलित लोकसाहित्यका विधामध्येको एक हो । सुख–दुःखका क्षणमा विभिन्न किसिमका प्रश्नोत्तर गरी मनोरञ्जन प्राप्त गर्ने र फुर्सदको समय बिताउने महत्वपूर्ण साधन ग्राम्य समाजमा गाउँखाने कथा भएको पाइन्छ । यसमा कुनै कुराको अड्को थापेर प्रश्न सोधी अरूबाट उत्तरको अपेक्षा गरिन्छ । यस्ता प्रशनहरू सोझा नभएर घुमाउरा वा साङ्केतिक किसिमका हुन्छन्र सोही आधारमा उत्तर पनि प्रतीकात्मक नै हुन्छ । यदि उत्तरकर्ताले उत्तर दिन सकेन भने उसले हारेको ठहरिन्छ र हार्नेले जित्नेलाई गाउँ दिनुपर्दछ । काभ्रेपलाञ्चोक जिल्लामा विभिन्न किसिमका गाउँखाने कथा प्रचलनमा रहेको पाइन्छ ।
यहाँ प्रचलित गाउँखाने कथाका प्रकृतिलाई हेर्दा तिनले घरेलु, जीवन, मानवशरीर, प्रकृति, कृषि व्यवसाय तथा अन्य विविध विषयमा आधारित भएको पाइन्छ । जस्तैः
खिरिलोरुखमा एउटा पात — पन्यौ
आमा छाद्ने छोरी खाने — पानी सारेको
सानी नानी मझेरीमा लुटुपटु गर्छिन् — चुलो लोटाएको
भुँडे गोरुको एउटा सिङ — जाँतो
तीन भाइको एउटै पगरी — ओदान
सेतो गोरु पानी खान गयो, रातो भई आयो — सेल पकाएको— घरेलु जीवनसम्बन्धी
आमाभन्दा छोरी बोक्सी — खुर्सानी
कसौंडी पाक्यो तर चालम काँचै — अम्बा पाकेको
पेट काटे मर्ने टुप्पो काटे सर्ने — उखु
टुप्पामा फुल्ने फेदमा फल्ने — आलु
लहरे बाबुको घनटाउके छोरा — फर्सी — खेतीपातीसम्बन्धी
आकाशकी परी धरतीमा झरिन् घामलाई देख्दा भुतुक्क मरिन् — शीत
जता प¥यो ओराली, उतै मन बराली — पानी — प्रकृतिसम्बन्धी
यसरी गाउँखाने कथाहरूले लोक जीवनमा मनोरञ्जनका साथै बुद्धिविलासका कार्यहरू गरिरहेका हुन्छन्। लोकजीवनमा विशेष गरी किशोर पुस्ताका बीचमा यसको प्रचलन हुने गरेकाले पनि यसको संरक्षण भइआएको पाइन्छ । सामाजिक जनजीवन, व्यवसाय, प्रकृति र मानवीय सेरोफेरोमै गाउँखाने कथाको विषयवस्तु सीमित रहेको भए तापनि आधुनिक सभ्यतासँगसँगै यसले यसले आफूलाई पनि रूपान्तरित र परिमार्जित गर्दै गएको छ । नयाँ—नयाँ गाउँखाने कथाहरू बन्दै गएका छन् । नयाँ विषयवस्तुलाई यिनले अँगाल्दै गएका छन् । नयाँ प्रविधि र आधुनिक जीवनशैलीलाई पनि आत्मसात गर्दै गएकाले गाउँखाने कथाको परम्परा यस जिल्लामा जीवन्त रूपमा रहेको छ ।