काठमाडौँ – राप्ती र नारायणी नदीको किनार । दुई किनार भएर बग्ने दुई नदी मिसिएर बनेको दोभान । त्यही दोभानमा एकाबिहानै र साँझपख सूर्यको मनमोहक दृश्य देखिन्छ । त्यो दृश्य हेर्न चितवन पुगेका हरेक पर्यटक मोहित भएर गोलाघाट पुग्छन् । गोलाघाट अर्थात मेघौलीको अर्को नाम । जुन भरतपुर महानगरपालिका वडा नं। २८ मा अवस्थित छ । जो टाइगर टप्स होटलका कारण सबैभन्दा धेरै चर्चित बन्यो ।
वर्षौ पहिले खुलेर १२ वर्षअघिदेखि टाइगर टप्स होटल बन्द भएपछि मेघौली सुनसान बन्यो । अनि राप्ती र नारायणी नदीको संगमस्थल अर्थात दोभानका कारण गोलाघाट चर्चित हुँदै गयो ।
टाइगर टप्स होटलका कारण चर्चित बनेको मेघौलीमा पर्यटक आउन छाडेका छैनन् । मात्रै पहिलेको तुलनामा धेरै कम मात्रामा पर्यटक मेघौली जाने गरेका छन् । मेघौलीको मायाले आउने पर्यटकलाई अचेल गोलाघाटले निरन्तर आकर्षण गरिरहेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज, त्यसभित्रका वन्यजन्तु, राप्ती र नारायणीको सुन्दर किनार अनि कुमाल समुदायको बाहुल्य बस्ती ।पर्यटक निरन्तर आइरहँदा निकुञ्जभित्रका होटल बन्द भएपछि अलपत्र पर्ने गरेका तिनै पर्यटकलाई गाँस र बास दिने कुमाल सामुदायिक होमस्टे अहिले मेघौली तथा गोलाघाटको भरोसा हो ।
सुरुमा एउटा घरबाट सुरु भएको होमस्टे अहिले चार घरसम्म फैलिएका छन् । चार घरमा उनीहरूले कम्तीमा ३० देखि ४० जनासम्मलाई कुमाल समुदायको स्थानीय परिकार खुवाएर सेवा दिन्छन् ।जसका कारण प्रशस्त पर्यटकीय सम्भावना भएर पनि गोलाघाट सँधै ओझेलमा पारिरह्यो । खेतीकिसानी गर्ने, अन्न उत्पादन गर्ने, आफ्नै रैथाने बाली र व्यवस्थामा रमाउने कुमाल समुदाय बजारीकरणमा भने धेरै पछाडि छ ।
त्यसमा जोडिएको अर्को तथ्य हो, सामूहिक एकतामा कमी । माटोका सुन्दर भाडा बनाउने र आफ्नै खेतबारीको बालीमा ध्यान दिने उनीहरु बजारिया प्रवृत्तिबाट सँधै टाढा रहन रुचाउँछन् ।नेवार समुदायका मास्केले भने यी सबै कुरा बुझेर कुमाल समुदायलाई एकतामा बाँध्दै सामुदायिक होमस्टे गठन गरेका हुन् । उनीहरूको आफ्नै उत्पादन र संस्कृतिलाई जगेर्ना गर्नुपर्ने आवाज बुलन्द पार्दै पर्यटकलाई पनि भित्र्याएर अर्थोपार्जन गराउन मास्के आफैँ अघि सरेर होमस्टे सञ्चालन गरेका हुन् ।
‘कुमाल समुदायसँग रैथाने बाली र सांस्कृतिक सम्पदाको वर्षौ पुरानो ज्ञान छ । तर त्यो बजारीकरण हुन पाएन । अलि बढी आफैँसँग रमाउने यो समुदायलाई एकतामा बाँध्न केही गाह्रो थियो’ उनले सुरुवाती समयमा गरिएको संघर्ष सम्झिँदै भने, ‘तर प्रशस्त सम्भावना र अर्थोपार्जनको भरपर्दो भरोसा होमस्टे भनेर बुझाएपछि अहिले सबैजना आफ्नै संस्कृति बचाउँदै, पर्यटक बोलाउँदै गर्छन् ।’
विगतमा आफ्नै खेतबारी र आन्तरिक काम मात्रै गर्ने कुमाल समुदाय अहिले पर्यटक बोलाउन, उनीहरूको स्वागत गर्न, होमस्टे बसुन्जेल सांस्कृतिक नाचगान देखाउन र सेवामा रमाउँछन् । पर्यटक खुशी भए फेरि फेरि आउने, अरु पर्यटक पठाउने र आफ्नो समुदायको अर्थोपार्जनमा सहयोग हुने देखिएपछि उनीहरु हिजोआज कम्मर कसेर होमस्टे चम्काउन लागि परेका छन् । होमस्टे सञ्चालन भएपछि आफ्नो दैनिकी र थोरै भएपनि अर्थोपार्जनमा सहयोग पुगेको कुमाल सामुदायिक होमस्टेका सचिव पदम कुमाल बताउँछन् ।
‘पर्यटकहरु आउनुहुन्छ । हाम्रो समुदाय र संस्कृति बुझेर जानुहुन्छ । बसेको खाएको पैँसा दिएपछि हाम्रो पनि अर्थोपार्जन भएको छ । अब थप घर बनाउने र पर्यटकलाई सेवा दिने व्यवस्थापनमा लागेका छौँ,’ उनले खबरहबसँग भने । गोलाघाट पुगेका पर्यटकलाई कुमाल सामुदायिक होमस्टेका सञ्चालकहरु मकैको सेलरोटी, मुलाको अचार, गुन्द्रुक, सिमीको तरकारी, आलुदेखि माछा खुवाउने गरेका छन् । आफ्नै बारीमा उत्पादन भएको साग, अचार र चामलको भात खुवाउने उनीहरु कुमाल समुदायको स्वादिलो स्वाद चखाउँछन् ।खबरहबबाट