नुवाकोट जिल्लावासीको सम्पन्नताको प्रतिकको रुपमा रहेको टोखा छहरे सुरुङ मार्ग निर्माण सुरु गर्ने यस बर्षको बजेट बक्तव्यले नुवाकोटवासीलाई पक्कै पनि खुशी तुल्याएको छ । यो सुरुङ मार्ग निर्माण कार्य सँगसँगै थान्सिङको छहरे फाँट सहरीकरण योजना पनि अगाडि बढाइने भन्ने बजेटमा उल्लेख छ। एकातिर नुवाकोट जिल्लावासीमा सुरुङ मार्गको निर्माण सुरु हुने कुराले खुशी ल्याएको छ भने थान्सिङको धान उब्जनी हुने फाँटहरूमा कंक्रिटको घरहरूले भरिने र काठमाडौं जस्तै अब्यबस्थित शहरीकरण हुँदै जाने चिन्ता पनि थपिएको छ।
टोखा छहरे सुरुङ मार्गले नुवाकोट जिल्लालाई नै नयाँ काठमाडौँमा बिस्तारै रुपान्तरण गर्नेछ । काठमाडौँ र नुवाकोटको दुरी सुरुङ मार्गले ५ किलोमिटरमा झार्नेछ । टोखाबाट थान्सिङ छहरेको दुरी ५ किमिमात्र हुनेछ । यो छोटो दुरीले छोटो समय मै काठमाडौँको जनघनत्वलाई थान्सिङ छहरेसम्म मात्र होइन ढिकुरेदेखि बहराफेदी गंगटेसम्म बिस्तार गर्नेछ । खाद्यान्न तथा तरकारी उब्जनी हुने आजको थान्सिङ छहरे मात्र होइन गंगटे पुर्वका सेरा, वहराफेदी ढिकुरे लब्दुसहित तादी र लिखु नदी किनारका फाँटहरू क्रंक्रिटको सहरमा रुपान्तरण हुने सम्भावना प्रवल छ।
पचास बर्ष अघिको काठमाडौं उपत्यका जे जस्तो अवस्थामा थियो आज ती तस्विरहरु फेसबुकमा हेर्दा मन नदुखाउने कुनै नेपाली भेटिदैनन् । स्वयम्भूदेखि बौद्धसम्मका बिसाल फांटहरु आज क्रंक्रिटका घरहरुको जंगलले भरिएका छन् । थानकोटदेखि बुढानिलकण्ठसम्मका सामाखुसीदेखि गंगबु हुदै टोखासम्मका उतिबेलाका हरिया फाँटहरु आज क्रक्रिटका जंगलमा रुपान्तरण भएका छन् । पचास बर्षअघि काठमाडौंलाई फर्काउन पाए हुन्थ्यो भन्ने सबैको चाहना हुँदाहुँदै अब त्यो असम्भव भैसकेको छ । काठमाडौंलाई आधुनिक र ब्यवस्थित शहर बनाउन खोजे पनि अब बन्नै नसक्ने स्थितिमा पुगिसकेको छ।
आज नुवाकोटवासीले तादी, त्रिशूली र लिखु खोलामा पौडी खेले जसरी पचास बर्षअघि त्यसैगरी काठमाडौंबासीले बागमती र विष्णुमतीमा पौडी खेल्दथे । आजको पुस्तालाई बागमती र विष्णुमती नदी हो भन्दा यो त नदी होइन खुला ढल हो भन्ने स्थितिमा पुगेको छ। पचास बर्षअघि बागमती र विष्णुमती नदीको किनारका फाटहरूमा उब्जने खाद्यान्न र तरकारीले काठमाडौंलाई पाल्ने क्षमता राख्दथ्यो । तर आज काठमाडौलाई आवश्यक पर्ने खाद्यान्न र तरकारी छिमेकी जिल्ला नुवाकोट, धादिङ र काभ्रेपलान्चोक जिल्लामा भर पर्नु पर्ने स्थिति छ।
काठमाडौंवासी र राजनीतिक नेतृत्वको अदूरदर्शीताको कारण काठमाडौँको यो हालत भएको सबैमा जग जाहेर नै छ। संसरभरका सहरहरु नदी किनारमा नै ब्यबस्थित गरिएका छन् । तर काठमाडौं भने बागमती र विष्णुमतीको किनारको अग्लो भागमा निर्माण भएको सहर हो । मल्लकालदेखि नै काठमाडौं स्वयम्भूदेखि पशुपतिनाथ मन्दिरबीचको टार क्षेत्रहरुमा बसाइएको सहर हो । टेकु दोभानदेखि माथिको अग्लो भुभाग जैसीदेवल लगन हुदै बसन्तपुर दरवार क्षेत्र मरूहिटी, इन्द्रचोक नरदेवी असन क्षेत्र नै पुरानो काठमाडौं सहर हो।
यो सहरलाई आवश्यक पिउने पानीको लागि पोखरी र ढुंगेधारा प्रणालीको खानेपानी वितरण प्रणाली देख्न सकिन्छ। रानीपोखरीमा जम्मा हुने पानीले काठमाडौंको भोटाहिटि, मरुहिटी, थंहिटि, नारायण हिटिजस्ता ढूंगेधाराहरुमा पिउने पानीको प्रवाह गराइएको थियो । यो शहरको बासिन्दालाई आवश्यक खाद्यान्न तथा तरकारी बागमती र विष्णुमती नदीका किनारामा अवस्थित फांटहरुबाट उत्पादन हुने खाद्यान्न र तरकारीले प्रशस्तै पुग्ने गर्दथ्यो।
काठमाडौं बागमती र विष्णुमती नदी किनारमा बसेको शहर होइन । यो त बागमती र विष्णुमती नदीका बीचमा स्वयम्भूदेखि पशुपतिसम्मको टारहरूमा बसालिएको प्राचिनतम शहर हो । विगत पचास बर्षमा हामीले काठमाडौं शहरलाई बागमती र विष्णुमती नदीको किनारमा विस्तार गर्ने काम गर्यौं । काठमाडौंको उर्वरफाँटहरु माथि अब्यवस्थित रुपले शहरीकरण गर्ने काम मात्र गर्यौं ।
शहरमा बस्ने बासिन्दालाई आवश्यक पिउने पानी र खाद्यान्नलाई आवश्यक भूमि जगेडा नराखिकन शहरीकरण गर्दै जाने हो भने त्यो सहर श्रमिकहरु मात्र बस्ने र आफ्नो उत्पादन क्षमता गुमाएको मगंतेहरुको सहर बन्दै जानेछ । संसारभर सहरहरूको निर्माण औद्योगिक क्रान्तिपछि नै भएको देखिन्छ । औद्योगिक क्रान्तिले ठुला(ठुला कलकारखाना निर्माण हुन थाले । योसंगै कारखानामा काम गर्ने कामदारहरुको आवश्यक्ता पर्न थाल्यो।
गाउँबाट शहरमा कारखानामा काम गर्ने श्रमिकहरु शहर पस्न थाले । सहरमा कलकारखाना खोल्ने उद्योगपतिहरुले आफ्ना उत्पादनहरु बेचेर धनी हुँदै गए । सहरमा एकातिर धनीहरु बस्ने र अर्कोतिर कलकारखाना वरिपरि श्रमीकहरु बस्ने बस्तिहरु निर्माण हुँदै जाँदा ठूला ठूला शहरहरु निर्माण भएको देखिन्छ । प्रत्येक शहरले आफ्नो आम्दानी आफैले गरेर आफ्नो जीवन धान्ने हिसावले विकास हुनु पर्दछ । सुरुमा जमीनको उत्पादनमा जीवन धान्ने शहरले पछि औधौगिक उत्पादनले जीवन धान्ने स्थितिमा पुग्नु पर्दछ। शहरको निर्माणपछि औद्योगिकीरण गर्ने होइन। औद्योगिकीकरण सँगसँगै शहरको निर्माण हुदै जान्छ।
काठमाडौंको शहरीकरण औद्योगिकीकरणले निर्माण गरेको शहर होइन । जुन सहर औद्योगिकीकरण निर्माण हुँदैन त्यो सहर आत्मनिर्भर सहर होइन । त्यो सहर परनिर्भर सहर हो । काठमाडौंको व्यापक शहरीकरण २०५० सालपछि भएको देखिन्छ । नेपालमा माओवादी जनयुद्ध सुरुभएपछि गाउँबाट सामन्तवादी राज्य सत्ताको अन्त्य गर्ने आन्दोलनले सबै गाउँलेलाई गाउँमा बस्ने वातावरण भएन र सुरक्षाको लागि सहर पस्न बाध्य पारियो । देशका बिभिन्न शहरहरूमा गाउवाट मानिसहरु ओइरिने क्रम सुरु भयो ।
सबैभन्दा बढी मानिस काठमाडौं खाल्डोमा ओइरिने क्रम भयो र आज काठमाडौंको सहरीकरणले विकरालरुप लिइसकेको छ। कुनै पनि देशको राजधानीमा त्यो देशको जनसंख्याको जम्माजम्मी तीन प्रतिशत जनसंख्या मात्र देशको राजधानी शहरमा बस्दछन् । तर काठमाडौंमा देशको जनसंख्याको २०५ भन्दा बढी जनसङ्ख्या बस्नुपर्ने स्थिति छ । यो कहालीलाग्दो शहरीकरण औद्योगिकरणको कारण सृजना भएको होइन । आज काठमाडौंवासीले पिउने पानीको लागि मेलम्ची जस्तो भीमकाय आयोजना सम्पन्न गरेर मेलाम्ची खोलामा निर्भर हुनुपरेको छ भने खाद्यान्नको लागि देशका अन्य भाग र मित्रराष्ट्रका औद्योगिक शहरमा भर पर्नु पर्ने स्थिति छ। काठमाडौंसँग बेच्ने नाममा केही छैन । काठमाडौं किन्छ मात्र ।
काठमाडौंबासीले हिजो आफ्नो महत्वपूर्ण जमिन बेचेर खायो आज त्यो जमिन पनि बेच्ने स्थीति रहेन । बेच्ने जमिन रित्तिइसक्यो । आज काठमाडौंसंग नदीको नाममा रहेको बागमती र विष्णुमती फोहर बग्ने ढलमा रुपान्तरण भैसक्यो । कतै आधा शताब्दीपछि नुवाकोटको आजको तादी, त्रिशूली र लिखु नदी फोहर बग्ने ढलमा रूपान्तरित नहोस् । आज तादी, त्रिशूली र लिखु नदीमा पौडी खेलेका तस्विरहरु हाम्रा छोरा नातीका पुस्ताले आजका काठमाडौंवासीका छोरा नातीले झै फेसबुकमा पस्ट्याउदै पछुताउनु पर्ने दिन नआवोस् ।
मुर्खले आफूलाई परेपछि मात्र चेत्दछ बुद्धिमानीले अरुलाई परेको देखेपछि चेत्दछ। आज नुवाकोटवासीले काठमाडौँको अब्यवस्थित सहरीकरणबाट चेत्नु आवश्यक छ। काठमाडौंलाई पाल्न सक्ने जमिन नुवाकोटसँग छ। देशकै २० प्रतिशत जनसंख्यालाई नुवाकोट एक्लैले पाल्न सक्ने क्षमता नुवाकोटसँग छ भने त्यो भन्दा सम्पनता अरु किन चाहियो । नुवाकोट नेपालकै सबैभन्दा सम्पन्न मानिस बस्ने ठाउँ बन्न सक्दछ । नुवाकोटका तादी र लिखु खोलाले सिंचित गर्ने फाँटहरु कृषि उत्पादनको लागि संरक्षण गर्ने र शहरीकरणको लागि प्रतिबन्ध लागाउन आवश्यक छ।
उत्पादन कमहुने टारहरु नुवाकोटमा प्रशस्त छन् । बट्टारदेखि खरानीटारसम्मका टारहरुलाई सहरीकरणको लागि छुट्याउने हो भने आज मूल्यहीन भएका टारहरुको मूल्य भोलिका दिनमा बढ्दै जानेछ। हिजो मोटरबाटोको असुविधाको कारण र सिमित फाँटहरुमा सिंचाई सुबिधाको कारण फाँटहरुमा बसाई सर्ने क्रम भएको थियो । आज सडक संजाल नपुगेका डाँडापाखा कहिँकतै बाँकी छैनन् । नुवाकोटका डाँडापाखामा सहरीकरण गर्ने हो भने ती डाँडापाखाका मूल्य पनि अकासिने छन् ।
आज रित्तिएका नुवाकोटका डाँडापाखामा पानी कम चाहिने अमीलो जातका फलफूलको उत्पादन गर्दै कृषि औद्योगिकीरकण गर्न सकियो भने नुवाकोटका डाँडापाखा पनि स्वीजरल्यान्डका डाँडापाखाझैँ हरित सहरमा रुपान्तरण हुन सक्दछ। तादी र लिखु नदीका फाँटहरुमा खाद्यान्न तथा आलु र तरकारी उत्पादन गर्ने, डाँडापाखामा अमीलो जातका फलफूलको औद्योगिक ग्रामसहितको सहरीकरण गर्ने हो भने नुवाकोटवासी जति सम्पन्न नेपालमा अर्को कुनै जिल्ला हुने छैन।
नुवाकोटको तादी र लिखु खोलाबाट किनारका फाँटहरूलाई सिचित गर्न सकिने हो भने नुवाकोटका फाँटहरु खाद्यान्न, आलु र तरकारी खेतीको हब बन्न सक्दछ । यो फाँटमा उत्पादन भएको खाद्यान्न, आलु र तरकारी काठमाडौं उपत्यकामा बेच्न सकिन्छ। यहीबाट प्रत्येक नुवाकोटवासी सम्पन्न बन्ने आधार बन्नेछ। नुवाकोटको डाँडापाखामा अमिलो जातका फलफूल उत्पादन गर्न सकिने प्रशस्त संभावना छ। आज मूल्य हिन भएर लडिरहेका डाँडापाखामा अमीलो जातका फलफूल उत्पादनको औधौगिकरण गर्दै जाने हो भने नुवाकोट औद्योगिक शहरमा रुपान्तरण हुनेछ। तादी र लिखु नदी किनारका फाँटभन्दा केही उठेका टारहरुमा खानेपानीको उपलब्धता हुनासाथ ब्यवस्थित शहरीकरण गर्न सकिन्छ ।
२०७८ सालको असार १ गते को बाढीले मेलम्ची सहरको विनासलिला देखिसकेपछि नदी किनारको शहरीकरण कति जोखिमयुक्त हुन्छ भन्ने घटनाबाट नुवाकोटको राजनीतिक नेतृत्व र सवै नुवाकोट जिल्लावासीले पाठ सिक्नुपर्ने देखिन्छ । आज नुवाकोट जिल्लावासी खुशीको साथै चिन्तित हुन जरुरी छ। टोखा छहरे सुरूङ मार्गले नुवाकोटको सम्पन्नकताको ढोका त पक्कै खोल्ने छ। तर काठमाडौँवासी र राजनीतिक नेतृत्वले झै गम्भीर गल्ति गर्न सक्दछन्।
(रामलाल श्रेष्ठ