वाग्मती किनारमा रहेको सप्तर्षिघाट र उत्तरवाहिनी तीर्थको बीचमा पिङ्गला योगिनी नामक एउटा देवीको शक्तिपीठ रहेको छ । मंगला, पिंगला, धान्य, भ्रामरी, भद्रिका, उल्का, सिद्धा र शंकटा आदि अष्ट योगिनीहरूमध्ये पिंगला दोस्रो योगिनी हुन् । यो स्थल पहिले एकान्त एउटा पोखरीको रूपमा रहेको थियो ।
एउटा महत्वपूर्ण शक्तिपीठका रूपमा रहेको यो पिङ्गला योगिनी क्षेत्र आसपास हाल बालीनाली लगाइएको देखिन्छ । योठाउँलाई पिङ्गलास्थान या पिङ्गलथान पनि भनिन्छ ।
गोकर्ण क्षेत्रमै भगवान् महादेवले आफ्नी पत्नी सतीदेवी दक्षप्रजापतिले गरेको यज्ञकुण्डमा होमी प्राण त्याग गरेपछि शोक विह््वल भई सतीको निर्जीव देह बोकेर घुम्दा अङ्गपतन हुने क्रममा सतीदेवीको बायाँ कान पतन हुन गई गोकर्ण पीठ, भैरवीदेवीका साथै सोही स्थानमा श्री जागेश्वर महादेवको ज्योर्तिलिङ्ग उत्पन्न भएको र पीठको रूपमा श्री पिङ्गलादेवी (एक जंगा योगिनी) उत्पन्न भई शिव शक्ति स्वरूपले रहेको भन्ने कुरा श्री बृहदस्वस्थानी–व्रतकथा माघ– महात्म्यको सातौँ अध्यायमा उल्लेख छ ।
कुनै मन्दिर विना एउटा खुला स्थानका रूपमा रहेको यस क्षेत्रमा हाल प्रस्तरका भग्नावशेष, एउटा त्रिशूल झुण्ड्याइएको देखिन्छ । यो शक्तिपीठ सँगसँगै एउटा सिमेन्ट, इँटा, जस्ता आदिको प्रयोगद्वारा निर्मित पाटी छ । नेपालीहरूको सबैभन्दा ठूलो एवम् महान चार्ड बडादशै या दुर्गापूजालाई नवरात्रीको रूपमा नौ दिन सम्म विभिन्न तीर्थस्थलहरूमा गई स्नान गर्ने परम्परा छ । यो दिन श्रदालुहरू वाग्मती स्नान गरी गोकर्णेश्वरको दर्शन पश्चात गोकर्ण देश (गाउँ) को ट्वाचाटोलस्थित कुवाको जल घडामा लिएर पिङ्गला स्थानमा गएर यो शक्तिपीठको पूजाआजा गरी भोज खाई घर फर्कने परम्परा पहिल्यै देखि अद्यापि कायमै रहेको छ ।
यहाँ नौरथाको तृतीयाका दिन या घटस्थापनाको तृतीयाका दिन वर्षको एक पटक विशेष मेला लाग्छ । यस दिन यहाँ गोकर्ण गाउँका साथ काठमाडांै उपत्यकाका तीन वटै सहरहरूबाट भक्तहरू आई रात्रीमा पूजा उपासना गर्ने परम्परा रहेको छ । यहाँ दशैको नवरात्रीको बेला गाउँलगायत सहरबाट बाजागाजा सहित चार÷पाँच वटा बस रिर्जव गरी तीर्थालु भक्तहरू वर्षेनि आउने गर्दछन् । सहरबाट यहाँ आउने भक्तहरूले राँगोको टाउको चढाउने गरेको पाइन्छ । पहिले–पहिले गुठीको पाटी रहेकाले यो दिन भोज खानेचलन पनि थियो । नवरात्रीमा काठमाडांैका नेवार ज्यापूहरू बेण्डबाजा घण्ट, शंख, ढोलक बजाउँदै क्षमापूजा गर्दथे । सोही क्रममा असनमा एक पटक हैजाले धेरै दुःख दिएकाले सो हटाउने त्यहाँका ज्यापूहरूले यहाँ आई क्षमापूजा गरेका थिए ।
त्यसैगरी चैत्र महिनामा पर्ने घोडेजात्राको चतुर्दशीका दिन पनि यहाँ मेला लाग्ने गर्दछ । यो दिन यहाँ नेवार परम्पराअनुसार वाग्मती नदीमा सात पटक स्नान गरी नदी पार गर्दै पिङ्गला स्थानमा गई गुठियारद्वारा सात प्रकारको जाँड र सातै पटक भोजन पनि गर्ने परम्परा रही आएको छ । यस दिन यहाँ थुमाको वली दिने चलन रहेको छ । पाटी समेत सँगसँगै रहेको यो पिङ्गला योगिनी स्थलसँग सम्बन्धित माथि उल्लेखित पर्वहरू मनाउनका लागि गुठीको पनि प्रबन्ध गरिएको छ । गुठीका रूपमा पाँच–सात रोपनी जग्गा रहेको र सोही जग्गाको आयस्थाबाट नै विभिन्न पर्वोत्सव मनाउँदै आएको बुझिन्छ । यो शक्तिपीठको ठीक उत्तरतर्फ वाग्मती नदीको बीचमा अवस्थित एउटा ठूलो प्रस्तरलाई ‘बुधराधेश्वर’का रूपमा मानेर पूजा आजा गर्ने चलन पनि छ ।