-
आकाश सर्मा
बुढानीलकण्ठ नगरपालिकाले आफ्नो १० औँ स्थापना दिवस मनाएको छ । नगरपालिका कार्यालयमा फोटो खिचाएर अनि चिया खुवाएर मनाइएको स्थापना दिवसमा जनप्रतिनिधिले नगरपालिकालाई समुन्नत बनाउने कामहरू, योजनाहरू, लक्ष्यहरू वा संकल्पहरू केही बताएनन । एउटा कर्मकाण्डझैँ गरेर स्थापना दिवस मनाइयो ।
०७० सालमा स्थापना भएको यस नगरपालिका गाउँबाट नगर बनेको एक दशक भयो । साविकका ६ वटा गाविस मिलेर बनेको बुढानीलकण्ठ रूपमा नगरपालिका देखिए पनि सारमा साविक गाउँपालिकाभन्दा केित पनि फरक छैन । यद्यपि यो कथा बुढानीलकण्ठसहित धेरै अन्य पालिकाको पनि हुनसक्छ । तर बुढानीलकण्ठ लक्ष्य, योजना, सोच र संकल्पका आधारमा मात्र नभै जनप्रतिनिधि चयनमा समेत पश्चगामी देखिएको छ । गाविस कालमै कमजोर देखिएका गाविस अध्यक्षलाई नगरपालिकाको मेयर बनाएर बुढानीलकण्ठले उल्टो बाटो हिेिडरहेको छ ।
बुढानीलकण्ठले ७० सालमा नगरपालिका बनेपछिको ४ वर्षपछि जनप्रतिनिधि पायो । ०७४ सालमा बुढानीलकण्ठ नगरपालिकाको प्रथम मेयरका रूपमा उद्धव खरेल पायो । जनताले नेपाली काँग्रेसका उम्मेदवार राजु श्रेष्ठलाई भन्दा चपली भद्रकाली गाविसका पूर्व गाविस अध्यक्ष खरेललाई चुने । खरेलको सरल र सामान्य जीवनशैली एवम उनका निकटतम प्रतिद्वन्द्वि श्रेष्ठको राजसी र अन्य बिभिन्न खाले छविका बीच जनताले खरेललाई रोजे । जनताले मतदानमार्फत खरेल रोजिरहँदा जनताले सूर्य र रूखबाहेक व्यक्तित्वलाई ध्यान दिएको देखिन्थ्यो । तर मतदाताले उम्मेदवारको सोच, संकल्प, योजना र लक्ष्यका बारेमा भने भेउ नै पाएनन ।
मेयरमा सबैभन्दा चाहिने विषय भनेको उसले नगरलाई बनाउन खोजेको के हो भन्ने सपना बुझ्नु पर्ने थियो त्यतातिर जनताले ध्यान दिएनन । पहिलो चुनाव भएकाले जनताले यो विषयलाई ध्यान दिनु पर्ने थाहा पनि पाएनन् । थाहा पाएका भए र खोजखाज गरेको भए पनि त्यो विषयमा सम्भवतः खरेलले नै बाजी मार्न सक्थे ।
नगरप्रमुखका रूपमा उद्धव खरेलले पाँचवर्ष दुईतिहाई बहुमतका साथ बिताए । उनको कार्यकालको सक्षम पक्ष भनेको विपक्ष दलले कुनै पनि दिन नगरपालिका घेराउ गरेन । त्यो बाहेक कुनै काम उनले गरेको भन्ने सक्ने अबस्था पनि थिएन । स्वयम खरेलले पनि ‘मैले यो गरेँ’ भनेर भन्न सकेनन । यद्यपि उनले दुरगामी असर पार्ने कामहरू गरेनन् र आर्थिक अनियमिततादेखि भ्रष्टाचारमा मुछिएनन् भनेर उनका प्रशंसकले भन्ने गर्छन् । के सफल मेयरको कसी यही हो ? यहीनेर भने खरेल पूर्णतः चुके ।
पाँचवर्ष के गर्ने ? के नगर्ने ? पत्तो नभैकन गाविस अध्यक्षजस्तै बनेर मेयर हाँकेका खरेल दोस्रोपटक मेयर बन्न चाहन्थे । उनले पहिलो पाँचवर्षमा आफूले के गर्ने ? के नगर्ने ? बारेमा बुझेको र अबको पाँचवर्ष काम गरेर देखाउने भनेका थिए । तर उनकै पार्टी उनीमाथि बैरी भयो । अघिल्लो दिनसम्म टिकट पक्का भैसकेका खरेलमाथि साविक कपन गाविसका अध्यक्ष मिठाराम अधिकारी हावी भए । जीवनशैली सामान्य र घरदैलो पुग्ने नेताका रूपमा चिनिएका अधिकारी कपनका खोलाहरूमा ढल हालेर कपन डुबान गराउने व्यक्ति भनेर आलोचित थिए । त्यतिमात्र नभै अधिकारीको प्रवेशिका परीक्षासमेत पास नगरेको कमजोर पृष्ठभूमिसमेत पार्टीका कारण खरेलमाथि हावी भयो ।
०७९ को चुनावमा मतदातामा गाविस अध्यक्ष रोज्ने कि नयाँ व्यक्ति रोज्ने भन्ने अर्काे परीक्षा देखियो । बुढानीलकण्ठलाई असली नगरपालिकाका रूपमा अनुभूत गर्ने कि गाविसकै हाराहारीमा राख्नेबारेमा मतदाता फेरि चुके । ०७९ को चुनावमा पनि मतदाताले गाविस अध्यक्षलाई नै रोजे । जो पूर्व मेयर खरेलजति पनि काबिल थिएनन ! खरेलभन्दा बदनाम थिए ! खरेलजति शिक्षित थिएनन् !
नगरपालिकाको मेयर कम्तिमा शिक्षित हुनुपर्छ भन्ने आवाजहरुकाबीच एमालेको शक्ति संघर्षमा अधिकारीले बाजी मारे । जनताले उनैलाई लालमोहर लगाई दिए । अधिकारी बिजयी हुनुमा कांग्रेसले नै कांग्रेस उम्मेदवार हराउन लागेको पक्ष पनि केही हदमा हावी हुनसक्छ । जे, जसो होस्, बुढानीलकण्ठले गाविस अध्यक्षलाई नै नगरप्रमुख पायो । त्यतिमात्र नभै जनताले ०७९ सालको स्थानीय चुनावमा बुढानीलकण्ठका १३ वटा वडामध्ये ७ वटा वडाका वडाध्यक्ष पनि प्रवेशिका परीक्षा पास नगरेका व्यक्तिहरूलाई चुने ।
बोल्ने भंगिमा नमिलाउने भएकाले चुनावका बेलामा मिठाराम अधिकारीलाई पार्टीले बोल्न रोक लगाएको थियो । त्यसैले उनले आफ्ना कल्पना सपनाका कुरा गर्ने कुरै भएन । बोल्न पाएकै भए पनि उनले त्यो भन्न सक्ने कुरै थिएन । मेयर भएको दुइवर्ष पुग्न लाग्दा पनि अझै मेयर अधिकारी कुरैकुरामा कपनका जनता भनेर बुढानीलकण्ठलाई कपनमै समेट्ने गरेका छन । उनी कपनभन्दा उठ्न सकेका देखिदैनन । अधिकारी मेयर भएर आएपछि न उनले कुनै सपना परिकल्पना सार्वजनिक गरे न दीर्घकालीन लक्ष्य । कर्मचारीले नगरपालिका चलाएकोझैँ उनको कार्यकाल बितिरहेको छ । अधिकारी दैनिक अफिस आउँछन् । केही थान मानिससँग भेट्छन्, केही थान फाइलमा तोक लगाउँछन्, केही थान फाइल सदर गर्छन अनि घर जान्छन् । अधिकारीको दैनिकी वा मेयर कार्यकाल यसैगरी बितिरहेको छ ।
अधिकारीसँग स्वयम उपमेयर अनिता लामा तथा कतिपय वडाध्यक्ष खुशी छैनन् । एकाध वडाध्यक्षसँग बोलचाल नै बन्द भएकोसम्म कुरा सार्वजनिक भएका छन् । १२ फुटे बाटोमा ढलान गरिएको कुरानै अधिकारीलाई विकासको उत्कर्ष लाग्ने गर्छ । उनका लक्ष्यका सीमाहरू यिनै १२ फुटे ढलानेबाटोभन्दा माथि छैनन । ०५४ सालमा गाविस अध्यक्ष जितेपछि कपनका खहरेहरूमा ढल हालेर सडक बनाएपछि कपनलाई जापान बनाएँ भन्दै हिँडेका अधिकारीले कुनै दिन बुढानीलकण्ठलाई कुनै सम्पन्न देशसँग तुलाना गरेको बुढानीलकण्ठवासीले सुन्न पाउनेछन् !
यो आलेखको आसय बुढानीलकण्ठले सच्चा र सपना भएको मेयर पाएन भनेर चिन्ता हो । कुनै पार्टीबाट बिजय भएका अमुक पात्रलाई गाली गर्ने विषयभन्दा पनि पार्टीहरूले सपना भएका, पढेलेखेका, आँट साहस र सामर्थ राख्ने व्येितहरूलाई टिकट नदिएकाप्रतिको गुनासो किन भएन भन्ने प्रश्न हो । पार्टीको नाममा यो वा उ जे भए पनि बुढानीलकण्ठ नगरपालिकाकै मेयर हुने भएकाले दलहरूले सही र योग्य व्येितलाई उम्मेदवार बनायो भने यस्ता गुनासा उठ्दैन थिए । सम्भवतः बुढानीलकण्ठले विकासको मुलभुत गति लिन्थ्यो ।
अझै तीनवर्ष मिठाराम अधिकारीलाइ बुढानीलकण्ठले भोग्न बाँकी छ । त्यसपछिको चुनावमा राम्रो व्यक्ति मेयर बनेर आइहाले भने पनि के उसले नगरपालिकालाई राम्रो बनाउने ठाउँ भेट्ला ? पछिल्ला १ दशकमा योजनाहीन खुद्रे कंक्रिट विकासले असरल्ल भैसकेको नगरपालिका ०८४ को चुनावपछि आउने नेतृत्वले सम्हाल्न सक्ने अबस्थामा होला त ?