काठमाडौं । रास्वपा(राष्ट्रिय स्वतन्त्र पार्टी) को जन्म नै पुराना दलहरूले सकेनन्, अब हामी गर्छौ भन्ने आक्रोशपूर्ण नारा र अभियानबाट भएको हो । हामी कसरी फरक छौं भन्ने घोषणा गर्दै रास्वापले सभापति मात्रै होइन, पार्टीका उम्मेदवारसमेत निर्वाचनबाट तय गर्ने र प्रतिस्पर्धाबाट पदाधिकारी चयन गर्ने भनेको छ । रास्वपाले हामी के गर्दैनौं भन्ने वाचामा ‘प्रतिस्पर्धा, योग्यता र क्षमतालाई नजरअन्दाज गरी ‘टीका’ लगाउने काम गर्दैनौं पनि भनेको छ ।
राजनीतिका लागि ‘लाजनीति’ गर्दैनौं’सम्म भनेको छ । तर महोत्तरीमा सभापति रवि लामिछानेले अप्रत्याशित रूपमा पदाधिकारी थपको प्रस्ताव गरेका थिए । राजनीतिक प्रतिवेदन पेस गरेपछि सभापतिले पदाधिकारी र केन्द्रीय सदस्य थपेको जानकारी गराएका थिए । आफू निकटबाहेकसँग उनले पदाधिकारी बन्ने र थप हुने पदका विषयमा कुनै परामर्श नगरेको नेताहरू बताउँछन । यद्यपि अपर्झट आएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।
पार्टीलाई नीतिगतरूपमा प्रस्ट बनाउने भन्दै रास्वपा मधेश पसेको थियो । तर, नीतिगत बहसका बीच लामिछानेले अप्रत्याशित रूपमा निर्वाचन नगरी टीका लगाएर पदाधिकारी बनाउने र विधानभन्दा उल्लंघन गरी संख्या थप्ने घोषणा गरेपछि सदस्यहरू छक्क परेका थिए ।
उपसभापति डोलप्रसाद अर्याल पार्टी विस्तारित हुँदै र बढ्दै जाँदा छिटोछरितो काम गर्न धेरै पदाधिकारी बनाउनुपरेको र विधानभन्दा फरक गर्नुपरेको बताउँछन । ‘विधान संशोधनका लागि कार्यदल बनाएर हामीले काम अगाडि बढाइसकेका छौं । अहिले जिम्मेवारी पाए पनि उहाँहरूले विधान संशोधन भएपछि काम थाल्नुहुन्छ । यसैले निर्णय पनि गरिहालौं र प्रक्रिया पनि पूरा गर्दै जाऊँ भन्नेमा हामी छौं,’ उनले भने, ‘पार्टी निरन्तर ठूलो हुँदै गएको छ, त्यसैले छिटो काम गर्नुपर्ने बाध्यताले पनि हामी यो निर्णयमा पुगेका हौं ।’
आफूहरू पुराना दलहरूको काम गराइबाट आजित भएकाले विकल्पमा आएको भन्दै उनले त्यस्तै शैली र ढर्रा नपछ्याउने दाबी पनि गरे । ‘हामी समग्र प्रणाली नै सुधार्छाैं भनेर विकल्पमा आएका हौं । त्यसैले हामीलाई बिग्रने छुट छैन । पार्टी विधानले भनेको समयमा हामी काम गर्छौं,’ उनले भने, ‘निर्वाचन आयोगले निर्वाचन सम्पन्न भएको प्रतिवेदन २९ मंसिरमा दिएको हो । यसैले हामी यो अगावै कम्तीमा महाधिवेशनको प्रक्रिया शुरूआत गर्छौं ।’
नागरिकसँग गरेका वाचा पूरा गर्ने उनी बताउँछन । ‘हामी सकेसम्म गल्ती र जनताको अहित हुने काम गर्दैनौं । सकेसम्म गल्ती गर्ने ठाउँमा पुग्दैनौं, पुगे पनि सच्याउँछौं,’ उनले भने, ‘हामीलाई काम गरेरै परम्परागत दलभन्दा कसरी अलग छौं भनेर देखाउन चाहन्छौं । कामले नै यसको पुष्टि गर्छौं ।’
रास्वपाका केन्द्रीय सदस्य गणेश कार्की अरू दललाई औंला उठाउने दल पाइलैपिच्छे सचेत नभए सकारात्मक सन्देश दिन नसकिने बताउँछन ।
‘हाम्रो जन्म नै अरूले गरेनन्, अब हामी गर्छौं भनेर भएको हो । यसैले सबै कुरा विधि र प्रक्रिया बेगर गर्ने छूट हामीलाई छैन,’ उनी भन्छन्, ‘हामी नयाँ पार्टी भएकाले विधानको धारा ९५ को संक्रमणकालीन धारामा टेकेर अहिले पदाधिकारी थपिएको छ । नागरिक तहमा यो आलोचना हुनु स्वाभाविक हो, किनकि हामीसँग जनताको धेरै अपेक्षा छ । पुराना दलको पनि सबै कुरा गलत होइनन्, तर तुलना गरेर सचेत गराउन खोज्नु हाम्रा लागि राम्रो हो । अपेक्षा बढी गरिने दलसँग उठेका प्रश्नलाई हामी सकारात्मक रूपमा लिँदैनौं ।’