राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो राजनीतिक दर्शन/सिद्धान्त तय गरेको छ । रास्वपाले आफूलाई ‘सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी’को रूपमा आफ्नो सिद्धान्त तय गरेको हो ।
महोत्तरीको जलेश्वरमा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले महासचिव डा. मुकुल ढकालको राजनीतिक प्रतिवेदन पारित गर्दै बहुलवादी लोकतान्त्रिक पार्टीको रूपमा आफूलाई उभ्याएको हो ।
२०७९ सालमा स्थापना भएको रास्वपाले आफ्नो सिद्धान्त र दर्शन तय गरेको थिएन । रास्वपाले ‘वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहितापूर्ण असल शासनमार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु’ पार्टीको ध्येय भएको प्रस्ट पारेको छ ।
रास्वपा प्रतिनिधि सभामा चौथो ठूलो दलको रूपमा स्थापित छ । रास्वपाले ‘लोककल्यणाणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत साधनको दिगो परिचालन गर्दै उद्यममैत्री, लगानी अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयन’का लागि पार्टी प्रतिबद्ध रहेको आफ्नो अवधारणामा उल्लेख गरेको छ ।
यसअघि पार्टीको सिद्धान्तबारे सोध्दा सभापति रवि लामिछाने लगायतका नेताहरूले लोककल्याणकारी दल भएको बताउँदै आएका थिए । रास्वपा केन्द्रीय समिति बैठकले प्रतिनिधि सभाका सबै सांसदलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ ।
सोमवार शुरू केन्द्रीय समिति र संसदीय दलको बैठक विभिन्न निर्णय गर्दै बुधवार समापन गर्ने तयारी छ । बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीप्रति देशभर उभार आएकाले संगठनलाई बलियो बनाउनुपर्ने राय पेस गरेका थिए ।