ग्रह, दशा, रोग, भयबाट मुक्त पार्ने, धनधान्य कार्यसिद्धि आदि वर दिने देवताका रूपमा मानिने यो मन्दिर/ विहार आनन्ददायी लोकेश्वर, लोकनाथ, चोभाद्यः आदि नामले पुजिँदै आएको चोभारको यस मन्दिरलाई आदिनाथ मन्दिरको रूपमा चर्चित रहेको छ।हिन्दू धर्मावलम्बीले शिवशक्तिकारुपमा र बौद्धधर्मावलम्बीले आर्य अवलोकितेश्वरको रुपमा आदिनाथको पूजा गर्ने गर्दछन्। यस प्राचीन मन्दिरमा हरेक वर्ष आश्विन शुक्ल पूर्णिमा र चैते दशैँमा गरी दुईपटक मेला लाग्ने गर्छ।
काठमाडौं उपत्यकामा रहेको प्रसिद्ध चारवटा लोकेश्वरमा सेतो मच्छिन्द्रनाथ (जनबाहाः द्यः)पाटनको रातो मच्छिन्द्रनाथ (बुंगद्यः), बनेपाको सृष्टिकान्त लोकेश्वर र चोभारको रातो मुहार भएको लोकेश्वर (च्वबाहाःद्यः) आदिनाथको मन्दिर हो । करुणाका प्रतीक आदिनाथको दर्शन गरेमा कुष्ट रोगव्याधीबाट मुक्ति मिल्ने र पारिवारिक सुख र समृद्धि प्राप्त हुने जनविश्वास रहिआएकोले यहाँनेर चैतेदशैँ र आश्विन शुक्लपूर्णिमामा भव्य रूपमा मेला लाग्ने गर्छ, यो मेला कोजाग्रत पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म एक महिना लामो मेला लाग्ने गर्छ। त्यतिबेला यो मन्दिरमा हिन्दु र बौद्ध दुवै समुदायका खासगरी विवाहिता महिलाहरू मन्दिरमा आएर पाँचौँ दिनसम्म कठोर निर्जला ब्रत बस्ने परम्परा रहिआएको छ ।
शैव र बज्रयान बौद्ध परम्परा एकापसमा जोडिएको हुनाले भगवान् आदिनाथ(मूलनाथ) नैभगवान्शिवहुन्।नाथपरम्परामामत्स्येन्द्रनाथरगोरखनाथलाईशक्तिरसिद्धदुवैरूपमालिएकोपाइन्छभनेयताबज्रयानबौद्धमामत्स्येन्द्रनाथलाईकरुणामयलोकेश्वररगोरखनाथलाईअदंगबज्रयोगीकोरूपमालिइन्छ।
बज्रयान परम्पराभित्र चौरासी सिद्ध योगीहरूमध्ये एकजना मात्रै नारी भिक्षुणी कमला तिब्बतीमा गेलोङमा पाल्मो पनि एक हुन्, उनलाई सिद्धी प्राप्त गरेको बोधिसत्वको रूपमा लिइन्छ । उनले अवलोकितेश्वरको कठोर व्रत बसेर माघ शुक्ल पूर्णिमाको दिन सिद्धी प्राप्त गरेको हुनाले हिमाली भेगका बौद्ध समुदायहरू पनि माघ शुक्ल पूर्णिमाको पुण्य तिथिमा व्रत बस्ने परम्परा रहिआएको छ । यसै प्रसंगमा यही चोभारको आदिनाथ मन्दिरमा भिक्षुणी कमला(गेलोङमा पाल्मो) ले कुष्टरोगले ग्रसित अवस्थामा मन्दिरको पछिल्तिर आएर व्रत बसेकी थिइन्।
एकदिन ऊनी उठेर मन्दिरको मूल ढोकाबाट आदिनाथ लोकेश्वरको दर्शन गर्न नसकेर बसिरहेको बेला मन्दिर नै फनक्क घुमेर भिक्षुणी कमलालाई दर्शन दिएको थियो भन्ने किवदन्तीको कारण यहाँनेर तिब्बती लामा भिक्षु भिक्षुणीहरु दर्शन गर्न जाने गर्छन् । उपत्यकावासी हिन्दु बौद्ध समुदायमा निर्जला व्रत बस्ने परम्परा रहेता पनि यहाँ मन्दिरमा आएर बस्ने व्रत अलिकति भिन्न प्रकारको परम्परा रहिआएको छ । एउटा किबदन्तीअनुसार परापूर्वकालमा एक जना पिंगला नामकी महारानी थिइन् । उनी लामो समयदेखि श्रीमान्सँग छुटेकी हुन्छिन्। कामको शिलशिलामा बाहिर गएका श्रीमान् वर्षौँसम्म फर्किएनन्। उनले श्रीमान्को नाममा कैयौँ धर्मकर्म गरिन्, पूजापाठ गरिन्। श्रीमान् अझै फर्केर आएनन् ।
एकदिन उनले कतै सुनिछन्– अवलोकेश्वरको उपोशद व्रत (निर्जला व्रत) बसेपछि मनले चिताएको कामना पूरा हुन्छ भन्ने कुरा सुनिन्। त्यसपछि उनी श्रीमान् फर्केर आउन् भनी कामना गर्दै यही आदिनाथ मन्दिरमा आएर श्रीमानको नाउँमा निर्जला कठिन व्रत बसिन् नभन्दै व्रतको अन्तिम दिन (फूल चढाउने दिन) श्रीमान् टुप्लुक्क मन्दिरमा आइपुगे। त्यसरी मनोकामना पूरा भएकाले यहाँ मन्दिरमा आएर व्रत बस्ने परम्परा आरम्भ भयो भन्ने किवदन्ती रहेको छ । अहिले मन्दिरमा विशेषगरी विवाहिता महिलाहरू निर्जला कठिन व्रत बस्ने गर्छन्। व्रतको अन्तिम दिनमा घरमा श्रीमान् हुनेले श्रीमान् हातमा फुल लिएर आएर दिएपछि व्रत समाप्त भएर घरमा फर्किन्छ, श्रीमान् नहुनेको हकमा माइतीघर बाट माइती आएर लिएर जाने चलन छ।
पहिलापहिला विभिन्न कारणले श्रीमानसँग मनमुटाव भएर लामो समयसम्म माइतीघर आएर बस्नेहरूले अन्तिम अल्टिमेटम जस्तो (वार–पार) हुने हिसाबले श्रीमानलाई जानकारी दिएर मन्दिरमा आएर व्रत बस्ने उक्त अवधिमा श्रीमान् फुल दिएर मन्दिरमा लिन आए घरमा जाने, पाँचौ दिनसम्म पनि लिन आएन भने त्यसपछि वैवाहित सम्बन्ध विधिवत् रूपमा तोडिएको मान्य चलन चलन थियो। तत्कालीन समयमा आजको जस्तो अड्डा अदालत नभएको बेला सम्बन्धविच्छेदको सामाजिकरूपमा स्वीकृत हुने परम्परा रहेको देखिन्छ ।