काठमाडौंको टंगालबाट बालुवाटारर्फ जाँदा आउने भाटभटेनी पर्दछ । भाटभटेनीको बारेमा त धेरैलाई जानकारी छ । तर त्यहाँ रहेकी भाटभटेनी देवीको महिमाको बारेमा धेरै कमलाई जानकारी हुन सक्छ । यस देवीलाई नाम लिन नहुने देवीको रुपमा पनि चिनिन्छ । यस देवीलाई टाढा रहनु भएको देवीको नाममा पनि चिनिन्छ । आकाशमा उडिरहेकी यस देवीलाई झुण्ड्याइएर राखिन्छ भने कहिल्यै जमिनमा छुवाउन नहुने मान्यता पनि रहेको पाइन्छ ।
नेपाली शैलीमा बनेको दुई तल्ले प्यागोडा शैलीको मन्दिरभित्र “अजिमा”, उनका श्रीमान् र बच्चा गरि तीन जना देवताहरु रहेका छन् । यहाँ झुण्ड्याइएको मूर्तिको बारेमा छुट्टै किंवदन्ती रहेको छ । यो एउटा अनौठो मन्दिर हो, जहाँ रहेका देवताहरुको मूर्ति पश्चिम दिशातर्फ फर्काएर जमिनबाट १, १ र २ को उचाइमा झुण्डिएको अवस्थामा रहेको छ ।
त्यसैले यो मन्दिरलाई धेरै पहिला कसैकसैले झुण्डिएको देवता भनेर पनि भन्ने गरेको जनश्रुति रहेको छ । त्यस्तै, मन्दिरको माथिल्लो र तल्लो भागमा घर धन्दामा प्रयोग गरिने भाँडाकुडा किला ठोकेर वा अड्काएर राखिएको छ । यसो गर्नाको कारण के हो भने लोग्नेको मृत्युमा पत्नीले सती गएपछि पत्नीको जिम्मामा रहेको भाँडाकुँडा देवतालाई चढाउने परम्परा रहेको थियो ।
अनेक रहस्यका बीच यहाँ माडवार देशकी रानी पिंगलाले पतिले बेवास्ता गरेपछि यहाँ आएर देवीको आराधना गरेको र आफ्नो पतिको मन फर्काएको भन्ने कथा पनि भाषा वंशावलीमा भेट्न सकिन्छ । वंशावलीमा भनिए अनुसार भाटभटेनी माता, पिता, भ्राता देवतासहित भई आकाशमा उडिरहेको शैलीमा विशालनगरकै छेउमा अर्काे नगर बसाए भन्ने उल्लेख छ । पछि एक ऋषिपुत्रलाई स्वयम् ब्रत नाम राखी राज्याभिषेक दिई नगरको रक्षा गराएका थिए । त्यसपछि केही कालपछि मारवाड देशका राजा सुदत्तकी रानी पिंगला यो ठाउँमा आएकी थिइन् भन्ने कथा पनि पाइन्छ च।
आफ्ना स्वामीले अपमान गरी माया त्याग गरी राख्दा पिंगला रानी मनमा बहुतै दुःख मानी स्वामीको कृपा दृष्टि हवस् भनी ईश्वरी पुकारिरहँदा नेपालपुरीमा रहेकी भाटभटेनीलाई सपनामा देखिन् भन्ने उल्लेख गरिएको छ । श्री देवीको शरणमा जानुपर्यो भनी नेपालपुरीमा आई यी देवीको स्थानमा स्वप्न प्रमाण ठहराई निराहार गरी तपस्या गरिरहिन् र ईश्वरी प्रसन्न भई हे रानी तेरो मनोरथ पूर्ण हुनेछ भनी बरदान दिइन् । त्यहाँपछि ती रानीले मञ्जुविहार नामक विहार गृह बनाई चारधारा जलसाधन गरी जलाकृति बनाई त्यसै घरमा बसी नित्य देवदेवीका स्थानमा गई सेवा गरी मोहनी लाई सेवा गरिरहँदा समय लोहवान देवहरुले प्रहार गरी खेल्याका शिला भई गएको लोहशिला नामक कुमारी गण अतिभयंकर भयो र पिंगला रानीले गुह्येश्वरीमा बिन्ती गरी श्वेतविनायक जगाइन् भन्ने किंवदन्ती रहेको छ । ती गणेश बौद्धप्रिय भए ।
केही वर्षपछि रानीको धर्म व्रतको प्रभावले आफ्ना स्वामी सुदत्त राजाको चित्त चञ्चल भई रानीको खोज गरी नेपालपुरीमा आई यी देवीको स्थानसन्धी पुग्दा पिंगला रानीका देवताहरुले दिव्य सुन्दरीदेखि भ्रान्तिमै रहँदा राजा सुदत्त त्यस ठाउँमा आइपुगे । देवताहरुले रानीकन छेकी समात्न तयार हुँदा पिंगला रानीले भयले ईश्वरीको नाम पुकारी मलाई रक्षा गर म पिंगला रानी हुँ भनी पुकारिन् । राजा सुदत्तले मेरी रानी पिंगला त यत्ति सुन्दरी थिइनन् भनी दोमन भईपछिबाट मेरी रानी हो भनी नजिक जाँदा रानीले राजा सुदत्त चिनी प्रणाम गरिन् । उनीहरुबीच मेलमिलाप भयो र पछि उनीहरु दुवै देवीको निकटमा गई पूजाआजा गरी आफ्नै राज्यमा फर्किए भन्ने एउटा किंवदन्ती रहेको छ ।
त्यस्तै, अर्काे एक प्रचलित किंवदन्तीअनुसार कुनै समय, विशालनगरमा सुदेव र सुदेवी नाम गरेका ब्राह्मण जोडी बस्ने गर्दथे। उनीहरु मिहेनत गरी खुसी भइ बस्दथे र नारायणको धेरै भक्तिभाव गर्ने गर्दथे। उनीहरुको आस्था र भक्तिबाट अति प्रसन्न भइ एकदिन नारायणले दर्शन दिई वरदान माग भनी भने। उनीहरुको सन्तान नभएकोले हामीलाई हजुरको सबै गुण भएको एउटा सन्तान वर दिनुस् भनी मागे। यसपछि नारायणले यसको लागि यो जन्ममा तिमीहरुको उमेर पाको भइसक्यो, तर अर्को जन्ममा तिमीहरुको फेरि मिलन हुनेछ र यो इच्छा पूरा हुनेछ भनी वरदान दिए। समयसँगै उनीहरुको मृत्यु भयो र फेरि अर्को जन्ममा उनीहरु विशालनगरमै जन्मिए र पछि विवाह पनि भयो ।
साह्रै नै दुखी र गरिब भए पनि उनीहरुको इमानदारिता, कर्म र सहयोगी कामले गरेर उनीहरुलाई सबैले चिन्दथे। यसै क्रममा एकदिन शुद्धदेव नाम गरेका एक बुढो ब्राह्मण उनीहरुको घरमा बास बस्न आइपुगे। भोलिपल्ट बिहान जानुअघि शुद्धदेवले एउटा लठ्ठी त्यहिँ दिएर म १२ वर्षपछि लिन आउनेछु भनेर गए। आफ्नो काम गर्दै जीवन चलाइरहेको यस जोडीको एउटा छोरा जन्मियो र उनीहरुले नारायणको कृपा मानी विल्ला भनी नामाकरण गरे। एकदिन उनीहरुले ब्राह्मणले छोडेर गएको लठ्ठी कुहिँदै गएको देखे र अब ब्राह्मण लिन आउँदैन होला भनी त्यस लठ्ठीलाई भाँच्न खोज्दा त्यहाँबाट बहुमूल्य हिरा रत्नहरु निस्कियो। उनीहरुले त्यसलाई भगवानको सहयोग मानी त्यसलाई बेचेर आफ्नो जीविका सरल बनाए।
समय बित्दै गयो र एकदिन उनीहरू घाममा बसेर आफ्नो बच्चालाई तेल लगाइदिँदै थिइन्, सोही बेला शुद्धदेव ब्राह्मण त्यहाँ आइपुगे र आफ्नो लठ्ठी मागे। एक्कासी लठ्ठी माग्न आएको देखेर अल्मलिएको सो जोडीले लठ्ठी धमिरा र किराले खाएर बिग्रेको बताए। केही समयको लागि विश्वास गरेका ब्राह्मणले उनीहरु माथि चिल घुमिरहेको देखे। यो देख्न साथ उनले रिसमा, यदि तिमीहरूले झूट बोलेका रहेछौ भने, तिम्रो यो बच्चालाई पनि त्यो चिलले लिएर जाओस् र तिमीहरूले धर्तीमा कहिल्यै टेक्न नपरोस् भनी श्राप दिए। केही समयमा नै चील तल आएर उनीहरुको बच्चालाई लिएर गयो र आफ्नो बच्चालाई लिएर गएको देखी दुवैले विष्णुलाई प्रार्थना गरी बच्चालाई समाउन उफ्रिए।
यसरी जमिनबाट उठेका उनीहरुले आफ्नो बच्चालाई समात्न सफल भए, तर सोही समयमा बच्चाले आफ्नो असली स्वरूप देखायो। ४ हात भएका श्री गरुड विष्णु उनीहरुको सामु प्रकट भए र ब्राह्मणले श्राप दिए पनि, तिमीहरु मप्रति सधैँ इमानदार, भक्ति र आस्थावान् रहेकाले आकाशमा उडिरहेको देवीको रूपमा मानिसहरुले तिमीहरूलाई पुज्नेछन् । उनीहरुको कल्याण गर्नू भनी आशीर्वाद दिए। सोही दिनदेखि सुदेव र सुदेवी भाटभटेनी देवीको रूपमा पुजिन थाले । सोही किंवदन्तीको आधारमा अहिले पनि त्यहाँ जमिनभन्दा केही माथि उँडेको तस्वीर देखाउने गरिन्छ ।