अहिलेको काठमाडौं सहरलाई ‘कान्तिपुर’अघि ‘पूर्णवती’, ‘गांगुलापत्तन’, ‘सुवर्ण प्रणाली नगर’ आदि नामले पुकारिन्थ्यो । तथापि मध्यकालमा सबैभन्दा धेरै प्रचलित नाम ‘कान्तिपुर’ थियो । भाषा वंशावलीअनुसार, ‘कान्तिपुर’ नाम ‘कान्तीश्वर महादेव’बाट आएको हो ।
ऐतिहासिक कान्तीश्वर महादेव भएकै एक चोक हो– इन्द्रचोक । इन्द्रचोकको स्थापना कसले र कहिले गर्या होला ? भन्ने विषयमा अनेकानेक तर्क सुन्न पाइन्छ । तर भाषा वंशावलीले भने यसको स्थापना शिवदेव प्रथम गरेका हुन् भन्ने उल्लेख गरेको छ । श्री राजा शंकरदेवले १२ वर्ष राज्य गरेपछि राजधानी शहर बनाउने इच्छा गरी जग्गा विचार गरी हेर्दा वाग्मतीका उत्तर विष्णुमतिका पूर्व भागमा जग्गा ठहराई सहर बनाउने सबै सर्जाम तयार गरी विधिपूर्वक वास्तुक्रम देवताको पूजा गरी एउटा नगर बसाए ।
श्री शाके ५२७ फागुन सुदी २ उत्तर भाद्र नक्षत्र सिद्धियोग वृष लग्न वर्गाेत्तमांस द्वितीय त्यसकारण यस दिन पूर्णावती नामको पुरी बनाउन आरम्भ गरी जग खनी बनाउन लगाउँदा वर्ष ३ भित्र ५००० घर सिद्ध गराएको उल्लेख वंशावलीमा छ । त्यो समय इन्द्रचोक भनेर टेकु दोभानलाई चिन्ने गरिन्थ्यो । थोरै वर्षपछि संग्रम छाडी एक वाणसम्म पुँढोसरी जाँदा बेलामा न्हो.गलमा इन्द्रचोक भनी देश बसाए । पीठ श्मशान मेटीकन सहर बसाई बौद्ध मागका बौद्धाचार्यका सम्मतले ललितपत्तनका श्री मत्स्येन्द्रनाथको यात्राको गतिले पूर्णवती शहरमा श्वेतरुप लोकेश्वर विधिपूर्वक स्थापना गरीकन स्वयम्भू काली पूर्णकाली कामनादायक गणेशकन प्रतिष्ठा गरे ।
अघिदेखि चोभारका आन्दादि लोकेवरको यात्राका निमित्त रथको आकार बनाई देवपत्तन शहरमा यात्रा गरी फर्काइ लैजान्थ्यो । यिनै आनन्दादि लोकेश्वर र पूर्णवतीपुरको श्वेतरुप लोकेश्वर दुवै साथै रथ आकार रथ बनाई चैत्र शुक्ल अष्टमीको दिन असनटोलमा राखी तीन दिनसम्म यात्रा गर्दथ्यो भन्ने वंशावलीमा उल्लेख छ ।
त्यसो त कतिपय वंशावलीले विसं ७८१ मा राजा गुणकामदेवले कान्तिपुर नगर बसाएको भन्ने उल्लेख पनि गरेका छन् । यो तथ्यमा समयकाल र राजाको नाम नमिलेको भन्ने पनि इतिहासकारहरूको कथन छ। तैपनि धेरैको सहमति छ– कान्तिपुर नगर बनाउँदा सहरको सुरक्षार्थ आठ दिशामा आठवटै मातृका ‘अष्टमातृका‘ खडा गरी तिनै मातृकाले बोक्ने खड्ग आकारमा यो नगर निर्माण गरिएको थियो।
आठ कोणवाला त्यो खड्गाकार सहरबीचमा रहेको भूभाग इन्द्रचोक हो। त्यसैले इन्द्रचोकलाई मध्यकालीन कान्तिपुर सहरको ‘केन्द्र’ मान्ने गरिन्थ्यो । यो चोकको नाम हिन्दू पौराणिक कथाको स्वर्गका राजा इन्द्रको नामबाट राखिएको हो। पछिल्लो समय इन्द्रचोक जात्रा पर्वको लागि एक औपचारिक स्थलको रूपमा रहेको छ । प्रमुख उत्सवमा रथयात्रा चोकको मध्य भागबाट पार हुन्छन् । इन्द्रजात्रा समयमा कुमारी, गणेश र भैरवको रथहरू यहाँ हुदैँ तानिन्छन्। सेतो मच्छिन्द्रनाथको रथयात्रा, जना बह दाहा जत्राको रथ यात्रा पनि इन्द्रचोकको बीचबाट जान्छन् ।