

काठमाडौं : नेपाल र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास भारतको उत्तराखण्डस्थित पिथौरागढमा सुरू भएको छ। सैन्य अभ्यासमा नेपाली सेनाका ३३४ जना र भारतीय सेनाका ३५४ जना सहभागी छन्।नेपाली सेनाको नेतृत्व प्रमुख सेनानी सुवास केसीले गरिरहेका छन् भने भारतीय सेनाको कुमाओन रेजिमेन्टका एक बटालियनले गरिरहेको भारतको रक्षा मन्त्रालयले जानकारी दिएको छ।
मंसिर २१ सम्म चल्ने संयुक्त सैन्य अभ्यास प्रति विद्रोह, प्रति आतंकवाद युद्धकला, र विपद् व्यवस्थापनमा केन्द्रित हुनेछ। १७औं संस्करणको यो संयुक्त अभ्यासलाई ‘सूर्य किरण‘ नाम दिइएको छ। गतवर्ष नेपाल र भारतीय सेनाबीच १६औं संस्करणको संयुक्त अभ्यास रुपन्देहीस्थित सालझण्डीमा भएको थियो।
दुई देशका सेनाबीच हुने अभ्यासले वर्षौं पुरानो पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउने र दुई देशका सेनाहरूबीच आपसी समझदारीमा अभिवृद्धि हुने नेपाली सेनाले जनाएको छ।