राजा प्रताप मल्लका पालामा स्थापना भएको सिंहदरबार बैद्यखाना अहिले समस्याग्रस्त रुपमा अगाडि बढेको छ । सुरुका दिनमा दरबारका मानिसलाई मात्र आयुर्वेद औषधिको व्यवस्था गर्दै आएको सिंहदरबार बैद्यखानाले विस २००८ देखि सर्वसाधरणलाई समेत औषधी विक्रिवितरण गर्दै आइरहेको छ ।
सुरुमा आयुर्वेद विभागअन्तर्गतको आयुर्वेद औषधि निर्माण गर्ने सिंहदरबार बैद्यखानाको नामले परिचित उक्त संस्था विसं २०५१ को गठन आदेशअनुसार विसं २०५२ साउनदेखि सिंहदरबार बैद्यखाना विकास समितिको नामबाट सञ्चालित हुँदै आएको छ । कुनै समय वैद्यखानाले देशमा उपलब्ध रहेको प्राकृतिक जडीबुटीको प्रयोग गरेर लगभग एक सय ८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गर्ने गरेकामा अहिले च्यवनप्रास बाहेकका उत्पादन हुन सकेको छैन ।
विसं २०५२ देखि प्रा डा सापकोटाले केही वर्ष सिंहदरबार बैद्यखाना विकास समितिको प्रबन्ध निर्देशकका रुपमा काम गरेका थिए । वैद्यखानाको आहिलेको भौतिक संरचनामा उनकै हात छ । उनी त्यहाँ रहँदा नेपालमा पहिलो पटक तुलसी चियाको उत्पादन सुरु भएको थियो र नेपालमा सो चियाको निकै राम्रो बजार पनि थियो । तर सो लोकप्रिय उत्पादनलाई उनीपछि आउने नेतृत्वले निरन्तरता दिन सकेन ।
त्यत्रो ठूलो भौतिक संरचना तयार भएको र विगतमा सयौँ थरि औषधि उत्पादन गरेर आफ्नो क्षमता प्रदर्शन गरेको वैद्यखाना अहिले एकाध औषधिमा सीमित छ । व्यवस्थापन अस्तव्यस्त छ, अब त कर्मचारीले तलब खान पनि नपाउने अवस्थामा पुगेको छ । सापकोटा सिंहदरबार बैद्यखानाको बेथिती गराउने दुई कारण भएको बताउँछन् ।
वैद्यखाना विकास समितिमा विषय विज्ञ भएको नेतृत्व नहुनु र सिंहदरबार बैद्यखानालाई सरकारले चासो नदिनुले उक्त समिति धरासयी बनेको उनको भनाइ छ । त्यसबाहेक अनावश्यक रुपमा कर्मचारी भर्ना गर्नुसमेत रहेको छ । उनका अनुसार यस विषयका विज्ञ तथा संस्था सञ्चालनका लागि अवाश्यक व्यवस्थापकीय क्षमता भएका व्यक्तिलाई जिम्मेजारी नदिइ राजनीतिक भर्ती केन्द्र बनाउने काममा सरकारका स्वास्थ्य मन्त्रीहरु लागेकाले यति पुरानो संस्थाको यो हालत हुन पुगेको हो । सिंहदरबार बैद्यखानाको नेतृत्व गरेर जाने व्यक्ति सक्षम हुनुपर्ने र उसले आफू संस्थाको विकास गर्न आएको हुँ की अन्य काम गर्न भन्ने बुझ्नुपर्ने उनको धारणा छ ।