काठमाडौं । ओखलढुंगाका कांग्रेस सांसद रामहरि खतिवडा बेलाबखत नराम्रा कुरामा चर्चामा आइराख्छन् । त्यसाे त गाउँतिर जस्ता बाेकेका फाेटाहरू सामाजिक सन्जालमा भाइरल गराएर राम्राे नेता हुन् भन्ने चर्चा पनि उनकाे बेलाबखत चल्छ । ०७९ काे चुनाव जितेका खतिवडा सबैलाइ थाहा नै छ देउवा ग्याङ्गका मेम्बर हुन् । यही मेसाेमा उनी प्रतिनिधि सभा राज्य व्यवस्था समितिकाे सभापति हुन पाएका छन् । भाउजुकाे प्रिय देवर भनेर ट्याग लगाइएका रामहरि खतिवडा भाउजुलाइ खुशी बनाउँदा नाङ्गिएकाे विषय सार्वजनिक भएकाे छ ।
प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले हालै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीको जन्म मिति विवाद ब्युँताउने निर्णय गरेर नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका नेताहरूलाई राहत दिन काम गरेको छ ।
पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि आत्तिएकी आरजु देउवाले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउन पटक पटक दबाब दिएकी थिइन । त्यो कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नमानेपछि गृहमन्त्री श्रेष्ठ गोरखा गएको मौका छोपेर एआईजी श्याम ज्ञवाली लगायतका प्रहरी अधिकृतहरूको सरुवा गरेका थिए ।
नक्कली भुटानी शरणार्थीको दोस्रो चरणको अनुसन्धान सुरु गरेका एआइजी रानीपोखरीबाट नहटेको भए अहिलेसम्म आरजु देउवा, राजेश बज्राचार्य, अजयक्रान्ति शाक्य लगायत शक्तिशाली व्यक्तिहरू जेल पुगिसकेका हुन्थे ।
किनभने, नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवाको पनि संलग्नता देखिएको थियो । त्यही प्रतिशोध साँध्न आरजुकै निर्देशनमा ज्ञवालीलाई प्रहरी सेवाबाटै हटाउने षडयन्त्र सुरु भएको पछिल्लो घटनाले संकेत गरेको छ ।
रामहरि खतिवडा पछिल्लो समय नेतृत्वकारी सांसदको भूमिकामा देखिदै गर्दा एआइजी ज्ञवालीको जन्ममिति विवाद छानबिन गर्ने भनेर उदांगिएका छन् । दुई पटक सांसद भइसकेका उनी पार्टी सभापति शेरबहादुर देउवा रिझाउँदै राज्य व्यवस्था समिति जस्तो प्रभावशाली संसदीय समितिको सभापति हुन सफल भएका उनले देउवापत्नी आरजुलाई थप रिझाउन एआइजी ज्ञवालीको विवादलाई समितिमा ल्याएका हुन् ।
राज्य व्यवस्था समितिमा उनको विशेष चासो शुरु देखिकै भएपनि देउवाकै बलमा त्यहाँ पुुगेपछि प्रहरीमाथि मनोवैज्ञानिक त्रास सिर्जना गरेका छन् । कांग्रेसभित्र दुई पात्र प्रहरी जवानदेखि आइजिपीसम्म सम्बन्ध विस्तारमा बढी नै रुचि राख्ने पात्रका रूपमा परिचित पहिलो मञ्जु खाण र खतिवडा नै भएकाले यसपटक खतिवडा सतहमा आएका हुन् । खाणका श्रीमान तत्कालीन गृहमन्त्री बालकृष्ण खाण भने यतिबेला केन्द्रीय कारागारमा छन् । बालकृष्ण गृहमन्त्री हुँदा जुनसुकै तहका प्रहरीको सरुवा÷बढुवामा मञ्जु र खतिवडाको रुचि हुन्थ्यो ।
उनीहरूको सरुवा वा बढुवाको आग्रहको फोन नआएको उच्चतहका प्रहरी अधिकारी बिरलै छन् । नक्कली शरणार्थी प्रकरणमा आरजु देउवा र मञ्जुु खाण दुवै विवादमा आएका थिए । दोस्रो चरणमा उनीमाथि अनुसन्धान हुने दाबी सार्वजनिक भएको थियो । तर, अनुसन्धान हुुन सकेको छैन ।
उनीहरुकै गुटमा रहेका खतिवडा भने राज्य व्यवस्थाको सभापति हुँदै सुरक्षा संयन्त्रको संसदीय अनुगमन गर्ने संसदीय निकायको प्रमुख भएर एआइजी ज्ञवालीमाथि प्रतिशोधपूर्ण व्यवहार गरिरहेका छन् । उनले समितिको शक्तिको कतिसम्म आफू अनुकूल दुरुपयोग गर्न सक्छन् भन्ने गतिलो उदाहरण यही एउटा निर्णय पनि हो ।
प्रहरी महानिरीक्षकको प्रतिस्पर्धाको समयमा प्रतिस्पर्धीमध्ये केहीको जन्म मिति विवादमा आयो । अशोक सिंह, श्याम ज्ञवाली, भीम ढकाल लगायत जन्म मिति विवादमा तानिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्यो । अख्तियार छानबिनमै रहँदा नै सिंहले राजीनामा दिए । ज्ञवालीसँगै दीपक थापा, वसन्त कुँवर, किरण बज्राचार्य आइजिपीको प्रतिस्पर्धामा थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्ञवालीको पक्षमा थिए । गंगा दाहाल र श्रीमान जीवन आचार्यमार्फत सहजीकरण गराउन ज्ञवाली लागिपरेका थिए । ज्ञवाली र कुँवरमध्ये एक आइजिपी हुने पक्का देखेपछि अन्य भने बाहिर रहे ।
यो बिचमा नक्कली शरणार्थी प्रकरण सार्वजनिक भयो । एसएसपी डा. मनोज केसी, दानबहादुर कार्कीसहितको अनुसन्धानबाट नक्कली शरणार्थी प्रकरणको अनुसन्धान एक हदसम्म सफल भयो । त्यसको पुरस्कार स्वरूप तीनै जनाको सरुवा भयो । तर, खतिवडासहित आरजु देउवामा ज्ञवालीप्रति प्रतिशोध देखियो ।
शुक्रबार उनीमाथि छानबिन पत्रचार गरियो । ज्ञवालीसहित उनका ब्याचीहरू २०५० मंसिरमा प्रहरी निरीक्षकका लागि आह्वान गरेको दरखास्तअनुसार भर्ना भएका थिए । प्रहरी नियमावली २०७१ मा उल्लेख भएको प्रहरी निरीक्षकमा भर्ना हुने उमेर योग्यताअनुसार ज्ञवाली अयोग्य ठहरिन्छन । २०५० मंसिरमा दरखास्त खुल्दा ज्ञवाली २५ वर्ष ३ महिनाका भइसकेका थिए । यसरी प्रहरी नियमावली २०७१ लाई आधार मानेर उमेर गणना हुँदा ज्ञवालीको भर्ना प्रहरी नै अयोग्य ठहरिन्छ । तर, ज्ञवाली प्रहरी निरीक्षकमा भर्ना हुँदा भने प्रहरी नियमावली २०४९ कार्यान्वयनमा थियो ।
प्रहरी नियमावली २०४९ अनुसार भने उनको भर्ना प्रक्रिया योग्य ठहरिन्छ । प्रहरी नियमावली २०४९ को दफा १३ मा प्रहरी निरीक्षकमा भर्ना हुन चाहिने योग्यताका बारेमा उल्लेख गरिएको छ । दफा १३ (क) मा उमेरबारे लेखिएको छ, ‘छनौट हुने सालको वैशाख १ गते २० वर्ष उमेर पुगेको र २५ वर्ष उमेर ननाघेको ।’ २०४९ को नियमावलीअनुसार उमेरको हिसाब गर्दा भर्ना हुने सालको वैशाखको १ गतेलाई आधार मान्नुपर्ने हुन्छ ।
अर्थात्, ज्ञवालीले २०५० मंसिरमा प्रहरी निरीक्षकमा दरखास्त दिए पनि उमेरको हिसाब भने २०५० वैशाख १ गते २५ वर्ष ननाघेको हुनुपर्ने हुन्छ । उक्त नियमावलीअनुसार उमेरको हिसाब गर्दा ज्ञवालीको जन्म मिति २०२५ भदौ २६ गतेबाट २०५० वैशाख १ गते २५ वर्ष ननाघेको भनेर हिसाब गर्नुपर्ने हुन्छ । जसअनुसार उमेरको हिसाब गर्दा ज्ञवालीको उमेर (भर्ना भएको वर्षको वैशाख १ गते) २४ वर्ष ५ महिना हुन्छ ।
२०४९ को प्रहरी नियमावलीअनुसार उनको भर्ना प्रक्रियामा त्रुटि देखिँदैन । यही व्यवस्थालाई आधार मान्दै अख्तियारले समेत उक्त उजुरी तामेलीमा राखेको थियो । यही विषय गृहका तत्कालीन सचिव विनोदप्रकाश सिंहसहित महान्यायाधीवक्तासहितको टोलीले अध्ययन गरेर जन्म मितिमा कुनै त्रुटी नरहेको भन्दै अख्तियारलाई जवाफ पठाएको थियो ।
जन्म मितिबारेको विवादलाई नै लिएर सर्वोच्च अदालतमा परेको रिट समेत न्यायाधीश प्रकाशमानसिंह राउत र नहकुल सुवेदीको इजलासले खारेज गरेको थियो । यस्तो अवस्थामा खतिवडाले आरजु र मञ्जुको निर्देशनमा ज्ञवालीमाथि छानबिन गर्न पत्रचार गरेर खतिवडाले नांगिने काम गरेका छन् ।
-दृष्टि