नेपाल संवत् कछलाथ्व नवमीको दिनलाई ज्वार नवमी भनिन्छ । यस दिन विशेष गरी भोगटेको अमिलो खाने गरिन्छ । हुन त स्वन्ती नख: (तिहार) लगत्तैको नवमी भएकै कारण पनि यस दिन भोगटे मोलेर खाने गरिएको हो । भोगटेसँगै सुन्तला, बिमिरोको अमिलोमा दहीमा राखेर मोलेर खाने गरिन्छ ।
यस ज्वार नवमीको अर्को विशेषता भनेको जुवा खेल्नु हो । जुवा तास खेल्नु भनेको वैधानिकरूपमा गैरकानुनी कार्य हो । तर यस दिन जुवाअन्तर्गत कौडा खेल खेल्ने, तास खेल्ने गरिन्छ । मल्लकालतिर यस दिन जुवा खेल्न छुट रहेको छ भन्ने मान्यता रहेको छ अर्थात् जुवा खेले पनि कुनै कानुन लाग्दैन भन्ने गरिन्थ्यो । धनेशराज राजोपाध्यायका अनुसार “तिहारमा जुवा खेल्ने चलन छ । जुवा खेल्ने जुवाडेहरूले जुगामी नवमीलाई जुवा खेलको ‘चतुर्थी‘को रुपमा लिएर यो वर्ष( तिहार) को जुवा खेलाइको उद्यापनको रूपमा लिने गर्छन् र जुवा खेल्ने काम सकाउने चलन रहेको हो।‘
यस नवमीलाई किन ज्वार नवमी भनिएको भने प्रश्नमा ज्वारको अर्थ अधिक अम्लपन हो । अम्ललाई तेज अर्थात् तेजाव तत्व, ऊर्जाशील, ज्वलनशील तत्वको रूपमा लिइन्छ । अमिलो अधिक खाएमा हाम्रो शारीरिक अवस्थामा (रक्तप्रवाहमा) असन्तुलन भई ज्वार अर्थात् ज्वरो नै आउन सक्छ । अम्ल तत्व उम्लिने ऊर्जावान गुण र दृष्य भएका कारण समुद्रमा उठेर आउने पानीको छाललाई “ज्वारभाट” भनिन्छ।
त्यस्तै, दही जमाउनका लागि “ज्वरन” हालिन्छ यसमा भएको अम्लकै मात्राले दहीमा ज्वर आई जमाउने काम गर्छ । यस अर्थले अमिलो खाने नवमी भएका कारण यसलाई “ज्वार नवमी” भनिएको हो । त्यस्तै, धनेशराज राजोपाध्यायका अनुसार यस नवमीलाई युगादी नवमी भनिन्छ । युगादि नवमीलाई जुगादि नवमी भन्दै जनजिब्रोले जुगामी नवमी, ज्वार नवमी भनियो । बोलचालीमा युगलाई जुग पनि भनिन्छ । यो भाषिक कुरा भयो । जस्तै, यज्ञलाई जज्ञ, युग बित्योलाई जुग बित्यो आदि भन्ने गरिन्छ । कात्तिक शुक्ल नवमी तिथिलाई युगादि नवमी भनिन्छ । याे युग परिवर्तन भएकाे दिन अर्थात् युग परिवर्तनकाे नवमी भएकैले यसलाई युगादि नवमी भनिएको हो ।