अरुको दुख, समस्यामा सहयोग गर्नु र समाजमा भएका समस्याको समाधान गर्नुलाई समाज सेवा भनिन्छ । समाज सेवा भनेको समाजमा रहेर मानवको सेवा गर्नु हो । यसको मतलब समस्यामा परेका मानिसहरूलाई मद्दत गर्नु हो । समाजको सामाजिक अवस्था सुधार गर्न व्यक्ति वा संस्थाले गर्ने सेवालाई ‘समाजसेवा’ भनिन्छ । यो काम गर्नेहरुको संख्या निकै कम छ । तर समाजसेवा गरेँ भनेर ‘समाजसेवी हुँ’ भन्दै धाकधक्कु लगाउनेहरूचाहिँ तपाइँ हाम्रा गाउँ छरछिमेकमा बग्रेल्ती भेटिन्छन् ।
आज हामी साँचो समाजसेवीको कुरा गर्दैछौँ । साँचो समाजसेवीको भीडमा अग्रणी एक नाम हो डेण्डी शेर्पा । उनले गरेको काम प्रचारप्रसारको अभावमा कुँजिएको देखिए पनि देशभर डेण्डी शेर्पाले आफ्नो संस्थामार्फत बाँडेका ह्विलचियरले उनको कामको व्याख्या र परिभाषा दिइरहेको छ ।
नेपाल देशभरी कतै पनि तपाइँले रातो रंगको ह्विलचियर देख्नु भयो भने त्यो डेण्डी शेर्पाले बिबिध तरिकाले जोहो गरेर अपाङ्गतासम्म पुर्याएको टेवा हो । डेण्डी भन्छन्, “म नसक्ने र असहायबीच टेवा भन्ने प्रयास गरिरहेको छु । टेवा भन्नाले सहारा बन्ने प्रयत्न हो मेरो ।” देशभरी उनले २ हजारभन्दा धेरै ह्विलचियर बाँडिसकेका छन् ।
बिभिन्न विदेशी संस्थाहरूसँग मागजोग गरेर निकै प्रयत्नका साथ आउने ह्विलचियरमात्र बाँड्ने काम डेण्डी तथा उनको संस्थाको हैन । उनको सिडिसिए(बाल अपाङ्ग टेवा संस्था) ले १८ वर्षदेखि असहाय अपाङ्ग बालबालिकालाइ सेल्टर दिएर पाल्दै, पढाउँदै तथा सिकाउँदै आएको छ । देशभरीका कयौँ अपाङ्ग सानासाना नानीहरूको डेण्डी धर्मबुबा बनेका छन् ।
यी दिनमा पनि काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं ११ कपन टारमा रहेको सिडिसिएको अफिस तथा कार्यस्थलमा २० जना अपाङ्ग बालबालिका बस्ने, पढ्ने र सिक्ने काम गरिरहेका छन् । सिडिसिएले बुढानीलकण्ठलगायत कतिपय ठाउँका अपाङ्ग बालबालिकालाइ पढाउन सहयोग पनि गरिरहेका छन् ।
सिडिसिएको कपनस्थित कार्यालय ४ रोपनी क्षेत्रफलमा रहेको छ । यो जमिन डेण्डीले भाडामा लिएका हुन् । आफ्नो सम्पत्ति सबै सकेर हाल उनी यही भाडाको जमिनमा अफिस, पढ्ने सिकाउने ठाउँ, ह्विलचियर बनाउने नेपालको एकमात्र वर्कशपदेखि आयश्रोतका लागि सानो गार्मेन्ट अनि उनको परिवार पनि यहिँ बस्छ ।
खानेपानीको ठूलो समस्याका बीच यो ठाउँमा उनीहरूले ८ वर्ष बिताइसकेका छन् । बिजुलीको पैसा कम गर्नका लागि ३ किलोवाटको सोलार प्यानल जोडिएको छ भने भुकम्प प्रतिरोधी भुइँतले टहरोमा अफिस, घर, होस्टल, भान्सा, वर्कशप, गार्मेन्ट रहेको छ । तरकारी आफैले फलाउन ग्रिन हाउसको व्यवस्था गरिएको छ ।
आफूले स्कूलसमेत नदेखेका डेण्डी पेशाले टुरिज्म एक्पिडिसन क्षेत्रमा संलग्न छन् । दुर्गम गाउँ डुल्दा अपाङ्गता भएका नानीहरुको बिजोग जिन्दगी देखेपछि उनले संस्था खोलेर ती नानीहरूलाइ सहयोग गर्ने सोच बनाएका हुन् । तर यसरी काम गर्न सरकारी तथा प्रशासनिक झण्झटकाबीच अगाडि बढ्न सजिलो भने थिएन । सरकारी तथा प्रशासनिक झण्झटले दिक्क भएको उनको गुनासो पनि छ । सामाजिक क्षेत्रमा काम गर्नेहरुलाइ सरकारी निकायले एउटै बास्केटमा राखेर नराम्रो भावनाका साथ गर्ने व्यवहारप्रति उनी दुखेको पोख्छन् ।
सर्वसाधरण पनि संघसंस्थाको काम वा सामाजिक कामलाइ लुट्ने काम गरेको जस्तो सोच्ने गरेको उनको अनुभूति छ । काम गरेर लुट्ने केही व्यक्ति तथा संस्थाका कारण सबैलाइ एउटै नजरले हेर्ने गरिएकाले राम्रा काम गर्नेहरू छायाँमा परेको उनी बताउँछन् ।
डेण्डी शेर्पा तथा उनको सिडिसिए संस्थाले यो वर्ष पनि ३ सय ह्विलचियर बाँड्दैछन् । हरेक वर्ष ३०० को हाराहारी ह्विलचियर सिडिसिएले बाँडिरहेका छ । ह्विलचियर लिनका लागि व्यक्तिले आफ्नो वडाको सिफारिस पत्रसहित आउन सक्छन् भने प्रायः स्थानीय तहकै समन्वयमा उनले बाँड्ने गरेका छन् । देशका प्रायः सबै जिल्लामा उनले बाँडेको ह्विलचियर पुगेको छ । “अपाङ्गता भएका मानिसबीच केही टेवा पुर्याउने पाएको छु यसैमा खुशी छु, यो ह्विलचियर यहाँसम्म ल्याइपुर्याउँदा लाग्ने मेहनत र झण्झटका बीच असहायको मुखमा देखिने खुशीमा म खुशी छु” उनले भने ।