Breaking news

#ट्याग:

नेवार समुदायले किन मनाउँदैनन् तीज ? 

२०८० भदौ ३१ आइतबार

हिन्दू नारीहरूको विशेष पर्वका रूपमा रहेको हरितालिका (तीज) भाद्र तृतीयदेखि पञ्चमीसम्म देशभर मनाउने गरिन्छ । तीजमा निराहार व्रत बसेर महिलाहरूले आफ्नो श्रीमान्को दीर्घायुको कामना र अविवाहिताले सर्वगुण सम्पन्न वर प्राप्तिका लागि व्रत बस्ने गर्दछन् । तीजमा भगवान्शिवको पूजाआराधना गरिनुका साथै महिलाहरूले नाचगान गरेर मनोरञ्जनसमेत गर्ने गर्दछन् । तीज पर्व देशका विभिन्न भूभागमा जस्तै डोटी जिल्लामा पनि महिलाहरूले विशेष हर्सोल्लासका साथ मनाउने गर्दछन् । 

 

सत्ययुगमा हिमालय पुत्री पार्वतीले आफ्नो श्रीमान्का रूपमा शिवजीलाई प्राप्त गर्न गौरीघाटमा तपस्या बसिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिएर निराहार व्रत बस्न बसिन्। यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भइ ‘चिताएको कुरा पुगोस्’ भनी बर दिएपछि शिव–पार्वतीको विवाह भएको हिन्दू धर्मका धार्मिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । यसै सम्झनामा नारीहरूले असल वरको प्राप्ति र श्रीमान्को दीर्घायुका लागि तीजमा शुद्ध भएर उपवास बस्ने गर्दछन् । 

 

तीज शुरु हुने अघिल्लो दिन महिलाहरू सफासुग्घर भइ मीठा–मीठा परिकार बनाइ दर खाने प्रचलन रहेको छ । तीजको दोस्रो दिन पानी पनि नखाइ उपवास बस्ने र मुछेको गिलो माटोले शिव–पार्वतीको मूर्ति बनाइ पूजा गर्ने चलन रहिआएको छ । यो पर्वमा महिलाहरू रातभरि जाग्राम बसेर भजनकिर्तन गर्नुका साथै नाचगान गरेर रमाइलोसमेत गर्दछन् ।

 

नेपालका विभिन्न जातजातिले धुमधामका साथ मनाउने यो पर्व नेवारी समुदायले भने मनाउने गर्दैनन् यसको छुट्टै कारण रहेको छ । नेवार समुदायमा केटी अर्थात् बालिकाको विवाह तीन पटक हुन्छ । पहिलो ‘इहिं मचा’ जसमा बेलसँग बिबाह गरिन्छ । यो विवाह रजश्वला हुनु अगावै गरिन्छ।  बेल विवाह गर्ने बालिका दिनभर व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजाआजा गर्छन् । विधिवत रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न हुने गर्छ । नेवार जातिमा बेलजस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास छ ।

 

नेवारी कन्या सनातन हिन्दू धर्म मान्ने नै भए पनि नेवार समुदायका महिलाहरूले तीजको समयमा अन्य ब्रतालुले जसरी तीजको व्रत बस्नुपर्दैन अथवा व्रत बस्ने परम्परा छैन । हिन्दु धर्मावलम्बी भए पनि नेवार समुदायका सनातनी कन्याहरूको बाल्य अवस्थामा नै भगवान् सुवर्ण कुमार हिरण्य गर्भसँग वैदिक तन्त्र निर्देशनअनुसार इही अर्थात् इहीपा, विवाह संस्कार सम्पन्न भई कहिले पनि विधवा नहुने शास्त्रीय मान्यता प्राप्त गरिसकेका हुन्छन् । 

 

यस्तो अवस्थामा तीजको व्रत लिई नेवार महिलाहरूले पुनस् सौभाग्यका लागि व्रत बसी कामना गर्नुपर्ने आवश्यक्ता धर्मशास्त्रले देखाएको छैन । यसै कारणले गर्दा सनातन हिन्दू नै भए पनि नेवार महिलाले तीजको व्रत लिँदैनन् । गाउँ समाजमा कुनै एक जातिको बाहुल्यता नहुने भएकाले अल्पसंख्यकको आधारमा आजकाल केही नेवार महिलाहरूले पनि अरू जातिको देखासिखी गर्दै रहरले तीजको व्रत बसेको देख्न सकिन्छ । यसरी तीज ब्रत बस्नेहरूले आफ्नो संस्कृति र परम्परा नबुझेको हुन सक्छ । 



लोकप्रिय समाचार