

३० वैशाख २०७९ को स्थानीय तह चुनावमा नयाँ नेतृत्व आएसँगै १२ साउनमा काठमाडौं महानगरले टुकुचा खोलाबारे सूचना निकालेर भन्यो, ‘काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तरतर्फ) देखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउनू ।’ सूचनामा घरधनी आफैंले नहटाएमा महानगरले ती संरचना आफैंले हटाउने चेतावनी दिएको थियो ।
त्यसपछि टुकुचाको विवाद सुरु भयो । महानगरपालिकाले टुकुचा भत्काउन डोजर लिएर गयो । अदालतले त्यसलाई तत्काल रोक्नू भन्ने आदेश दियो । फेरि पछि अदालतले टुकुचा खोला नै हो भन्ने आदेश दिएपछि यहाँको भत्काउने काम सुरु भएको थियो । तर यहाँ यो निर्माण भएको १०० वर्ष पूरा भइसकेकोले यो पुरातात्विक संरचना हो भन्ने विषय पनि बाहिर आयो । तर अहिले टुकुचाको बारेमा एउटा लालमोहर भेटिएको छ । जसमा कसले बनाएको भन्ने उल्लेख भेटिएको छ । जसलाई मनोजमनुजले संग्रह गरेको लालमोहरलाई उनले सामाजिक सञ्जालमा जारी गरेका छन् ।
टुकुचा सुरुङ राणाकालको इन्जिनियरिङ उत्कृष्ट कृति हो । यो ५०० मिटर लामो संरचनाले धेरै बाढी र आधुनिक भारी भवनहरूको सामना गरेको छ। सम्भवतः यो श्री ३ वीर शमशेरका प्रमुख वास्तुकार जोगबीर स्थापितले डिजाइन र निर्माण गरेका थिए ।
विसं १९४९ मा देव शमशेरले श्री ३ वीर शमशेरको नाममा जारी गरेको यो दुई छपे छापमा दरबारको अगाडिको चोक बनाउन टुकुचा छोप्ने उल्लेख छ । हत्तिसार दरबार भनेर चिनिने यो दरबार चिनियाँ दूतावास रहेको जय नेपाल हलको ठीक छेउमा रहेको उल्लेख छ ।