

काठमाडौँ । नेपालसँग विनायल रेकर्डको इतिहास पुरानो र महत्वपूर्ण मानिन्छ । यही इतिहाससँग साक्षात्कार गर्न मध्य काठमाडौँको झोँछेमा शनिवार एउटा कार्यक्रम आयोजना गरियो 'विनाइल डे आउट' नामको । विनायल रेकर्डका पारखी तथा उत्साहीहरूबीच राखिएको कार्यक्रमका आयोजक थिए एनलगका क्षेत्रमा उत्साहपूर्ण काम गरिरहेका उपेन्द्रलाल सिंह र अभिषेक शाह ।
झोँछेको पुरानाे सनमुन विस्ट्रोमा दिउँसो २ बजेबाट सुरू भएको विनायल रेकर्डसँग साक्षात्कार तथा गीत सुन्ने कार्यक्रम ५ बजेसम्म चलेको थियो । कार्यक्रममा नेपाली गीत सङ्गीत क्षेत्रका ज्ञाता समिक्षक प्रकाश सायमीले सेतुराम, मेलवादेवीदेखि नारायणगोपालसम्मका विनायल रेकर्डमा रेकर्ड भएका गीतहरूका बिभिन्न पक्षबारे जानकारी दिएका थिए । कार्यक्रम नेपाली जातिका पहिलो गायक सेतुराम प्रधानले गाएको राजमती कुमती गीतबाट सुरू भएर भारतीय फिल्म आराधनाको गीतमा टुङ्गिएको थियो ।
समिक्षक सायमीले सेतुराम मेलवादेवीदेखि उस्ताद साइँला, उस्ताद बद्रि, मानिकरत्न, अरूणा लामा, शिवशंकर, कुमार गन्धर्वलगायतका बिभिन्न गायकहरूका गायन यात्रा र उनीहरूको गीतबारे प्रकाश पार्दै नयाँपुस्तालाइ विनायल रेकर्डको बारे जानकारी दिनुपर्ने बताएका थिए । कार्यक्रमका आयोजक उपेन्द्र र अभिषेकले यस्तोखाले कार्यक्रम नियमितरूपमा गरिरहने बताएका छन् ।