

काठमाडौं ।पछिल्ला दिन अर्थमन्त्री प्रकाशशरण महत चौतर्फि आलोचित भैरहेको छन् । उनको गलत अर्थ तथा कर नीतिले गर्दा देशको आर्थिक अबस्था जर्जर हुँदै गरेको भन्दै आलोचना भएको हो । अर्थमन्त्रीको गलत कर नीतिले आयात ठप्प हुँदै तस्करी बढ्न थालेपछि महत झनै आलोचित भएका छन् । पछिल्ला दिन ड्राइफ्रुट्सको व्यापक चोरी पैठारी भएका समाचार छाएसँगै भन्सार करमा अर्थमन्त्रीको नीतिको आलोचना भएको हो ।
सस्तोमा खरिद गरेर महँगो मूल्यांकन गराउँदै राजस्व तिर्न कुन व्यापारी तयार हाेलान्? ड्राई फ्रुट्स आयातमा सरकारले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार करका दर मिलान नगर्दा अवैध आयात बढेको छ। काजु‚ किसमिस, छोकडा, ओखर, कटुस, सुक्खा नरिवल, बदाम, सानो अलैंची, ल्वाङ, माखन, अंजिर लगायत दर्जनभन्दा बढी ड्राई फ्रुट्स छन्‚ जसको अत्यधिक माग चाडपर्वमा हुन्छ। बजार मागलाई ध्यानमा राखेर बितेका वर्ष विभिन्न मुलुकबाट ड्राई फ्रुट्स आयात हुन्थ्यो।
वीरगंजका भन्सार नाकाबाट भदौ, असोज, कात्तिकमा उल्लेख्य परिमाणमा भित्रिन्थ्यो। यसपटक वीरगंजका दुबै भन्सार नाकाबाट ड्राई फ्रुट्सको आयात ठप्प छ। तर‚ बजारमा अभाव छैन। कहाँबाट आउँदैछ ड्राई फ्रुट्स? वीरगंज-१० बजरंगटोलबाट प्रहरीले गत सोमबार ८०० किलो काजु बरामद गरेको घटनाले ड्राई फ्रुट्सको अवैध पैठारी भइरहेको पुष्टि गरेकाे छ। भन्सार नाकाबाट मालसामान ल्याउँदा राज्यलाई राजस्व फाइदा हुन्छ। तर अन्तर्राष्ट्रिय बजार भाउअनुसार राजस्वको दर सन्तुलित नबनाउँदा तस्करी बढेको छ।
वीरगंज, हेटौंडा, पोखरा, काठमाडौं लगायत शहरमा ड्राई फ्रुट्स सहजै किन्न पाइन्छ। तर बजारमा भन्सार नाका हुँदै नआइ तस्करी भएर भित्रिइरहेको छ। अवैध रूपमा भित्रिएको सामान सीमावर्ती क्षेत्रबाट विभिन्न शहरहरूमा पुगिरहेको छ। काजु प्रतिकिलो ६ सय भारतीय रुपैयाँभन्दा कममा मूल्यांकन नगर्ने भन्सारको सन्दर्भ मूल्यपुस्तिकामा उल्लेख छ। आयात गरेर भन्सार नाकाबाट भित्र्याउँदा खरिद मूल्यमा १५ प्रतिशत भन्सार महसुल, १५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूअकर गरी एक किलो काजुको १ हजार ४०० रुपैयाँ पर्छ।
एक व्यवसायीका अनुसार तस्करले रक्सौलबाट वीरगंजका व्यवसायीको गोदाममा पुर्याएको काजु प्रतिकिलो १ हजार १०० रुपैयाँ पर्छ। सर्वसाधारण नेपालीलाई भारतीय बजारमा पुगेर किनमेल गरेर फर्कँदा सय रुपैयाँको सामानमा पनि भन्सार शुल्क तिराइन्छ। तर तस्करले रातारात पारिबाट व्यापारीका गोदाममा सामान ओसारपसार गरिरहेका छन्।
स्रोतका अनुसार रक्सौलमा प्रतिकिलो ६०० भारतीय रुपैयाँमा खरिद गरिएको काजुमा प्रतिकिलो १०० भारतीय रुपैयाँ क्यारियर चार्ज दिएपछि वीरगंज गोदामसम्म पुग्ने गरेको छ। भन्सार नाकाभन्दा अवैधरूपमा भित्रिने काजु प्रतिकिलो ३०० रुपैयाँ कम पर्ने भएकाले तस्करी फस्टाएको छ।