

पूर्वीय नाट्य–मान्यतासम्बन्धी कुरा गर्दा विशेषरूपमा नाट्यशास्त्री भरतमुनिको नाम पहिल्यै लिएको कारण उनकै “नाट्यशास्त्र” कै आधारमा पूर्वीय नाट्य–विधा तयार भएको देखिन्छ । त्यसो त धनञ्जय, विश्वनाथ, रामचन्द्र–गुणचन्द्र आदि नाट्यशास्त्रीहरू पनि पूर्वीय नाट्य–मान्यताका चिन्तकहरू हुन् । पूर्वीय नाट्य–मान्यताका आदि श्रोत नै भरतमुनिको ‘नाट्यशास्त्र’ देखिन्छ र पूर्वीय नाट्यशास्त्रीहरूले कुनै कुनै कुराहरू आफ्नो लगाए तापनि प्रायः जस्ता सिद्धान्त र आधारहरू भरतमुनिको ‘नाट्यशास्त्र’ बाट लिएका देखिन्छन् ।
पूर्वीय नाट्यशास्त्री तथा नाट्य–चिन्तकहरू धेरैले नाटक विषय आफ्ना आफ्ना मन्तव्य र विचारहरू व्यक्त गरेर परिभाषित गरेका छन् । पृथ्वीमा नाटकको चलन नभएको समयमा भरतमुनिले नाट्यको सृष्टिबारे आफ्नो कृतिनाट्यशास्त्रमा लेखेका छन् । ऋग्वेदबाट पाठ्यभाग, सामवेदबाट गीत, यजुर्वेदबाट अभिनय र अथर्ववेदबाट रसभाग लिएर ब्रह्मामले पाँचौँ वेद सृष्टि गरेका कुरा नाट्यशास्त्रमा लेखिएको छ । यसै पाँचौँ वेदलाई नाट्यवेद भनिएको छ ।
भरतले स्वयम् ब्रह्माबाट नाट्यवेद सिकेपछि आफ्ना छोरालाई पनि सिकाए भन्ने कुरो भेटिन्छ । त्यसपछि भरत भुनिले कैशिकी, भारती, सात्वती र आरभटी वृत्तिको आश्रय लिएर नाट्यवेद आरम्भ गरेको कुरो अवगत गराए । भरतले ब्रह्मासित श्रृङ्गार रस र स्त्रीपात्र पनि चाहिने कुरा गरेपछि ब्रह्माले आफ्नो मनबाट अप्सराको सृष्टि गरी मञ्जुकेशी, सुकेही, सुलोचना, केरला आदि चौधवटी अप्सरा भरतमुनिलाई जिम्मा दिएको चर्चा पाइन्छ ।
दृश्यकाव्यलाई संस्कृत नाट्यपरम्परामा नाट्य भनिए तापनि विशेषरूपले रूपककै प्रमुख भेदका रूपमा यसको महत्व देखाइएको छ । यस दृश्यकाव्यलाई कला, नाट्य तथा रूपकका विषयमा पूर्वीय र पश्चिमी दुवैतर्फका नाट्यशास्त्रीहरूले आफ्ना–आफ्ना तरिकाले परिभाषित गरेका छन् । नाट्याचार्य भरतमुनिले नाटक सम्बन्धी परिभाषित गर्दै प्रसिद्ध इतिवृत्त, प्रसिद्ध र उदात्त नायकभएको, राजर्षिको वंशको चरित्र भएको वा दिव्य आश्रययुक्त, नाना विभूति (धर्म, अर्थ, काम, मोक्ष फलरूप विचित्रता) युक्त, ऋद्धि, विलास आदि गुण सम्पन्न, अङ्क र प्रवेशक आदि संयुक्त भएकालाई नाटक भनेका छन् ।