

काठमाडौँ । काजु चोरीपैठारीका घटना यतिखेर एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । भारतबाट दाल आयात गर्ने, त्यसलाई कागजमा नेपाली उत्पादन घोषणा गर्ने र बंगलादेश निकासी गरेर नाफा कमाउने अनि निर्यातमा पाउने प्रोत्साहन रकम पनि सरकारबाट असुल्ने धन्दा डेढ दशकअघि फस्टाएको थियो।
त्यसपछि भारतले तेस्रो मुलुकबाट आयात प्रतिबन्ध गरेको सुपारी नेपालको घरेलु मागभन्दा कैयौँ गुणा बढी आयात गरेर भारततर्फ चोरी निकासी गर्ने धन्दाको रजगज चल्यो। सुपारीपछि उस्तै किसिमले मरिच, छोडा र पोस्तादानाको तस्करी पछिल्लो समयमा चर्चामा रह्यो। त्यही सिलसिलामा अहिले काजुको अवैध पैठारी तस्करीको दुनियामा नयाँ ‘प्रडक्ट’को रूपमा उदय भएको छ।
भदौ ७ गते एउटा नेपाली र अर्को भारतीय ट्रक प्लास्टिकको कच्चा पदार्थ ल्याएको घोषणा गरी भैरहवा भन्सार यार्डमा प्रवेश गरेका थिए। दुवै ट्रकमा खानतलासी गर्दा काजु र कपडा फेला पर्यो। ना ५ ख ३३६ र यूपी ५३ जीपी ०५७८ नम्बर भएका ती ट्रक भन्सार विभागले नियन्त्रणमा लियो। तिनमा घोषणा गरिएविपरीत कपडा र काजु फेला परेपछि भन्सार विभागका निर्देशक (उपसचिव) मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको विभागले जनाएको छ। भैरहवा भन्सार भएर राजस्व छलीका घटना दोहोरिएपछि भन्सार विभागले सोमबारदेखि छानबिन थालेको हो।
ट्रकमा करिब सवा दुई करोड रुपैयाँ बराबरको तयारी कपडा र काजु रहेको प्रारम्भिक प्रतिवेदन छ। भैरहवा नाकाबाट काजुसमेतका वस्तु तस्करीको विषयमा छानबिन गर्न भन्सार विभागले समिति बनाएकै दिन सोमबार नै वीरन्जमा भन्सार छलेर चोरी पैठारी गरिएको ८०० किलो काजु सशस्त्र प्रहरीले बरामद गर्यो।
सिमावर्ती भारतीय बजार रक्सौलबाट चोरीपैठारी गरी भित्र्याएर भण्डारण गरिएको अवस्थामा करिब सात लाख २० हजार रुपैयाँ बराबरको काजु बरामद भएको सशस्त्र प्रहरीको १३ नम्बर गणले जनाएको छ। विश्वासिलो सूचनाको आधारमा सशस्त्र प्रहरीले वीरगन्ज–१० बजरंगटोलका मगनी राउतको घरमा छापा मारी काजु बरामद गरेको हो।
भारतबाट चोरी पैैठारी गरी वीरगन्ज र भैरहवाजस्ता सिमावर्ती शहरमा भण्डारण गरिएका काजुलाई ससाना लटमा काठमाडौँ, पोखरा, नारायणगढजस्ता भित्री शहरहरूमा पठाउने गरिएको पाइएको छ। त्यहीक्रममा भदौ ३ गते हेटौँडा उपमहानगरपालिका–१५ मा पर्ने राजमार्गस्थित रातोमाटेबाट प्रहरी चौकीले सवारीका साधन जाँच गर्ने क्रममा अवैध पैठारी गरिएका विभिन्न प्रकारका वस्तुहरू बरामद गर्ने क्रममा ६२ किलो काजु फेला पारेको थियो।
वीरगन्जबाट काठमाडौँका लागि छुटेको बसको यात्रु बस्ने सिटमुनि काजु फेला परेको प्रहरीले जनायो। त्यस्तै जेठ २ गते कालीमाटी प्रहरी वृत्तको टोलीले थानकोबाट कलंकीतर्फ आइगरेको बा ५ ख ८३८६ नम्बरको ट्रकबाट भन्सार छलेर ल्याइएको २०० किलो काजु र अरू सामान फेला पारेको थियो। यसरी अवैध रूपमा भित्र्याइएको काजु बरामद हुने घटना निरन्तर दोहोरिइरहेका छन्।
किन भइरहेछ काजु तस्करी?
आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्मको भन्सार विभागको तथ्यांकले त्यति बेलासम्म नेपालमा काजुको माग वार्षिक एक हजार ३०० टनभन्दा बढी पुगेको भेटिन्छ। १३ महिना अगाडि २०७९/८० शुरू भएपछि काजु आयातमा लाग्ने कर बढ्यो। लगत्तै भन्सार भएर हुने काजुको आयात करिब ५४ प्रतिशतले घट्यो। उक्त ५४ प्रतिशत अर्थात् आधाभन्दा बढी काजुको माग तस्करीको माध्यमबाट आपूर्ति हुने गरेको सहजै बुझ्न सकिने यसका व्यापारी बताउँछन्।
“जुन वस्तुको आयातमा करको दर अधिक हुन्छ, त्यसमा राजस्व छली पनि व्यापक हुने प्रवृत्ति रहिआएको छ। काजु आयातमा लाग्ने कर वृद्धिपछि यसको तस्करी हुन थालेको हो। हामीले वैध रूपमा सरकारलाई ३९.३७ प्रतिशत राजस्व तिरेर आयात गर्ने काजुले राजस्व छलेर भित्रिएको काजुसँग बजारमा प्रतिस्पर्धा गर्नुपर्दा टिक्न गाह्रो भइरहेको छ,” करिब २५ वर्षदेखि मसला र ड्राइफ्रुट्सको कारोवार गर्दै आएका एक व्यवसायीले भने, “अहिलेसम्म पुराना ग्राहक जोगाउन हामीले थोरबहुत गरिरहेको आयात पनि अब छोड्नुपर्ने अवस्था आउन थालेको देख्छु।”