Breaking news

#ट्याग:

अझै ५ वर्षमुनीका २५ प्रतिशत नेपाली बालबालिकामा खानपान र कुपोषणका कारण 'पुड्कोपन’ को समस्या

२०८० भदौ १२ मंगलबार

काठमाडौं । नेपालमा पाँच वर्षमुनिका प्रत्येक चारजनामध्ये एक बालबालिकामा पुड्कोपना हुने गरेको अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक १०० जना बालबालिकामध्ये २५ जनामा पुड्कोपना देखिने गरेको हो ।विज्ञहरूका अनुसार बालबालिकाको खानपानमा कमी र उमेरअनुसार पोषणको अभाव भयो भने पुड्कोपना देखिन्छ ।

 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखा प्रमुख लिलाविक्रम थापाले नेपाल स्वास्थ्य जनसांख्यिक सर्भे सन् २०२२ को तथ्यांकअनुसार नेपालमा प्रत्येक चारजनामध्ये एकजनामा पुड्कोपना रहेको र पछिल्लो वर्षयता पुड्कोपनामा सुधार भएको बताए ।

 

नेपाल स्वास्थ्य जनसांख्यिक सर्भे सन् २०१६ अनुसार प्रत्येक १०० जनामध्ये ३६ जना बालबालिकामा पुड्कोपना रहेको थियो । थापाले पुड्कोपनाको प्रमुख कारण पोषणको अभाव रहेको भन्दै घर परिवार सचेत हुँदा पुड्कोपनामा सुधार आउने बताए । "सन् २०१६ को नेपाल स्वास्थ्य जनसांख्यिक सर्भेको तुलनामा अहिले सन् २०२२ मा पुड्कोपनामा सुधार भएको देखिन्छ । सन् २०१६ मा ३६ प्रतिशत थियो भने अहिले घटेर २५ प्रतिशतमा आएको छ ।

 

पाँच वर्षमुनिका प्रत्येक १०० जना बालबालिका मध्ये अहिले २५ जनामा अर्थात प्रत्येक चार जनामध्ये एकजना बालबालिकामा पुड्कोपना छ," उनले भने, "तथ्यांकले पुड्कोपनामा सुधार भएको देखाउँछ । पुड्कोपना, ख्याउटेपना, कम तौल भनेर भन्छौँ त्यो चाहीँ पोषणमा सुधार भयो । पोषण भन्दा बित्तिकै बहुआयामिक विषय हो । खानपान, सरसफाई, खाद्यान्नको उपलब्धतामा सुधार हुने विषय भित्र पर्छ । घर परिवार सचेत हुँदापनि पोषणमा सुधार आउँछ ।"

 

उनले पुड्कोपना दीर्घकालीन कुपोषणको संकेत रहेको भन्दै यसलाई कम गर्न खानपानमा  सुधार ल्याउनुपर्ने बताए । थापाले आमाले गर्भमा हुँदा खानपान र सुत्केरी भइसकेपछि बच्चालाई जति सक्दो छिटो स्तनपान, ६ महिनासम्म पूर्ण र दुई वर्षसम्म स्तनपान गराउने कुरामा विशेष जोड दिनुुपर्ने बताए ।

 

पुड्कोपना हुन नदिन ७५३ स्थानीय तहमै सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको स्वास्थ्य सेवा विभागले जनाएको । विभागका अनुसार आमा स्वास्थ्य चौकीमा जाँदा बच्चाको तौल, उचाई, आमाको स्वास्थ्य अवस्था, पोषण लगायतबारे जानकारी लिने गरिन्छ । थापाले स्थानीय स्तरमा नै उत्पादन भएका खानेकुराबारे उचित किसिमको परामर्श दिने गरेको बताए ।



लोकप्रिय समाचार