Breaking news

#ट्याग:

स्मृतिमा गुरुदेव स्वामी चन्द्रेश

२०८० भदौ ८ शुक्रबार

कहाँबाट लेखन सुरु गरौं, दुविधामा छु। एक अल्पज्ञानीले अध्यात्म, दर्शन, कला, योग, साहित्य र संगीतका ज्ञाताबारे के लेखौं ? अगाडि उहाँद्वारा लिखित पुस्तकहरू छन्- ‘ओसियन इन अ ड्रप’, ‘शिक्षा र समाज’, ‘इनर लाइट’, ‘रिलिज’, ‘अध्यात्मप्रसाद, ईशावास्योपनिषदको अन्वय, अर्थ र व्याख्या आदि। स्मृतिमा बाह्रवर्ष अगाडि देखिका दृश्यहरू नाच्छन् । कहिले बुढानीलकण्ठ आश्रमभित्रका, कहिले हात्तीवन‌मा उहाँलाई स्वागत गर्दाका त, कहिले बुढानीलकण्ठस्थित एक प्रतिष्ठित होटलमा भएको कार्यक्रममा प्रमुख वक्ताका रूपमा उहाँलाई आमन्त्रण गर्दाका दृश्यहरू, केही वैयक्तिक अनुभूति पनि छन् भन्न-लेख्न मिल्ने, केही नितान्त गोप्य मन्त्र छन् सार्वजनिक गर्न नमिल्ने। उहाँको समाधिमा सरिक भएर फर्केपछि लेख्न बस्दैछु।

 

गुरुदेव स्वामी चन्द्रेशलाई पहिलोपटक भेट्‌दा धेरैलाई अनुभव हुन्छ, उहाँ कडा मिजासको, झनक्क रिसाउने प्रवृत्तिको, विविध ज्ञान भएको तर अभिमानको अंश बढी भएजस्तो लाग्ने। प्रारम्भमा मलाई पनि त्यस्तै लाग्थ्यो। जब उहाँको सत्संगको प्रभाव पर्न गयो, उहाँको वास्तविक व्यक्तित्व फरक भएको अनुभव भयो। देख्दा सुन्दा दुर्वासा जस्तो भएपनि अनुभूत गर्दा अत्यन्त कोमल हृदयको दानी आध्यात्मिक महात्मा हुनुहुँदो रहेछ।

 

एकजना भक्तले सुनाएअनुसार उहाँ समयमा केही काम कसैले गरेन भने रौद्र रूप देखाउनु हुन्थ्यो। बिहानको नास्ता समयमा तयार नगरी केही विलम्ब हुँदा अंग्रेजी नेपाली भाषा मिसाएर अनुप्राससहित गर्जनु हुन्थ्यो। सेवकप्रति- ‘ह्वेन ‘भोला’ मिट्स ‘कोला’, अब के के होला!’ एकै छिन‌मा गलल्ल हाँस्नु हुन्थ्यो। पछिपछि त मलाई पनि के लाग्यो भने उहाँ रिसाएको अभिनय जीवन्त गर्न सक्ने कलाकार पो हुनुहुँदो रहेछ।

 

सुरुसुरुका दिनहरूको याद छ, उहाँको आश्रममा नेता, व्यापारी, आध्यात्मिक अनुरागी, पुराणवाचक, प्राध्यापक, पत्रकारदेखि विद्यार्थीहरुसम्म देखिन्थे। कहिलेकाहीं विदेशीहरू पनि वरिपरि बसेर उहाँको प्रवचन सुन्थे। उहाँले पूर्वीय साहित्य र पश्चिमी साहित्यको तुलनात्मक विश्लेषण गर्नु हुन्थ्यो, त्यो सुनेर प्रभावित भएको छु। वेदान्तको गहिरो अध्ययन त हुने नै भयो, एस्ट्रो फिजिक्स र जियो साइन्सबारे पनि त्यत्तिकै ज्ञान उहाँमा थियो।

 

यतिसम्म साक्षी छु – भौतिकशास्त्रमा उत्तर विद्यावारिधि गरेका एक विद्वान प्राध्यापक उहाँको तर्कबाट पराजित नै हुनु भयो त नभनौं, प्रभावितचाहिं पक्कै हुनु भएको थियो। अर्को एक प्रवचनमा बेलायतबाट व्यवस्थापनमा विद्यावारिधि गरेका एक परिचित विद्वान‌को प्रस्तुतिपछि स्वामीजीको आलोचनात्मक विश्लेषण पनि धेरै वर्ष अगाडि सुनेको थिएँ। अझ भन्नु पर्दा आयोजकमध्येको सदस्य म पनि थिएँ। उहाँको अभिव्यक्ति आधुनिक शिक्षाका कमजोरीप्रति लक्षित थियो।

 

आधुनिक शिक्षाको सुरुवात सन् १८३५, फेब्रुअरी २ तारिखमा बेलायत‌को संसदमा लर्ड माकाले (Lord Macaule) ले भाषण गरेपछि लागू गरिएको मानिन्छ, भारतवर्षमा। उनले भारत भ्रमण गरी त्यहाँको प्राचीन शिक्षा, आध्यात्मिकता, धर्म र संस्कृतिको विश्लेषणपछि त्यो अभिव्यक्ति दिएको विश्वास गरिन्छ। उनले भनेका थिए, ‘मैले भारतवर्षको पूर्व पश्चिम व्यापक भ्रमण गरें तर मैले कुनै भिखारी अथवा चोर भेटिनँ। यस्तो सम्पत्ति मैले यस देशमा पाएँ, यो देशका जनतामा मैले यस्तो उच्च नैतिक बल र धर्म प्रतिभा भेटें कि मलाई लाग्दैन हामी यो जातिको दिल कदापि जित्न सक्छौं, जबसम्म हामीले उनीहरूको सांस्कृतिक र आध्यात्मिक परम्पराको मजबूत ढाडलाई भाँचिदिन सक्षम हुँदैनौं।

 

यसकारण म प्रस्ताव राख्छु कि भारत वर्षको प्राचीन परम्परागत यो शिक्षा र संस्कृतिलाई हामी विस्थापित गरिदिऊँ किनभने भविष्यका पिँढी भारतीयहरू जब यस्तो सोच्न थाल्छन्- विदेशी र अंग्रेजी कुराहरू उनीहरूको आफ्नोभन्दा महान हो, त्यतिबेला उनको आत्मविश्वास नष्ट हुन्छ, उनको धर्म संस्कृति पनि लुप्त हुन्छ र उनीहरू हामीले खोजे बमोजिम एउटा गुलामी जातिमा परिवर्तित हुनेछन्।’ (शिक्षा र समाज, पृ. ६६-६७)

 

त्यसकारण गुरुदेवमा पूर्ण विश्वास थियो कि अंग्रेज सरकारले योजनावद्ध रूपमा हिन्दूको आध्यात्मिक शिक्षामा आक्रमण गरे र ती सफल पनि भए। गुरुदेवले त्यसैले त्रिनीति शिक्षामा जोड दिनुभयो। त्रिनीति अथवा त्रिभुजीय शिक्षा भनेको आध्यात्मिक शिक्षा, कर्ममूलक व्यावहारिक शिक्षा र जानकारीमूलक शिक्षाको सही समन्वय हो। त्यसमा समाज र परिवारको शिक्षाकेन्द्र (शिक्षालय) को ऱ सरकारको पूर्ण समर्थन चाहिन्छ भन्ने उहाँको तर्क हो।

 

उहाँ पूर्वीय मान्यता अन्तर्गतका १६ कला (नृत्य, गायन, वादन, अभिनय, चित्राङ्‌कन, मूर्ति, क्रीडा, शस्त्र सञ्चालन, पाचन, द्वन्द्वयुद्ध, प्रवचन, सुश्रुषा, व्यायाम, लेखन, कृषि र यज्ञ) र परा-अपरा अन्तर्गतका ६४ विधाहरू प्राचीन वैदिक आश्रमहरूमा सिकाइन्थ्यो भन्ने गर्नुहुन्थ्यो।

 

उहाँले प्रतिपादन गर्नु भएको महत्त्वपूर्ण योगदान जन्मदिन मनाउने मौलिक तरिका हो। जन्मदिन मनाउँदा बत्ती निभाएर हैन, बत्ती बालेर, मान्यजन‌बाट टीका-आशीर्वचन ग्रहण गरी जन्मदिनको अवसरको विशेष गीत गाइकन सामर्थ्यअनुसार सात्विक भोजन वा फलफूल ग्रहण र वितरण गरी मनाउनु पर्छ, त्यसमा हाम्रो मौलिकता झल्किन्छ भनेर विभिन्न स्कूल, कलेजमा पनि उहाँले सांगीतिक प्रशिक्षण सहित जन्मदिन मनाउने तरिका सिकाउनुहुन्थ्यो। महाअवतार बाबाजी, रामकृष्ण परमहंस, परमहंस योगानन्द, विवेकानन्द, स्वामी अभेदानन्द, त्रैलङ्ग स्वामी, श्री अरबिन्दो, रविन्द्रनाथ टैगोर आदिबाट प्रभावित हुनुहुन्थ्यो स्वामीजी।

 

योग र कर्ममा विशेष जोड दिनु हुन्थ्यो उहाँ। उहाँ गीताको कर्मयोगबाट अत्यन्त प्रभावित हुनुहुन्नथ्यो। २२ वर्षको अनवरत साधनापछि समाज सेवामा पुन: फर्कनु भयो र बुढानीलकण्ठमा आश्रम र आश्रम स्कुल स्थापना गर्नुभयो। त्यसै क्रम‌मा उहाँले असंख्य पेन्टिङ पनि गर्नुभयो। उहाँका अद्वितीय मूर्त एवं अपूर्व पेन्टिङहरू आश्रमस्थित आर्ट ग्यालरीमा सर्वसाधारणका अवलोकनका लागि सुरक्षित छन्। ती पेन्टिङहरूको सूक्ष्म अध्ययन गर्ने हो भने यहाँ दर्शन, अध्यात्म, साहस, धर्म, सत्कर्म, ब्रम्हाण्ड, मानिस र अन्य जीवात्माहरूको सह- अस्तित्व, प्रकृति र वातावरणका विविध आयामहरू भेटिन्छन्।

 

भक्त एवं शिष्यहरूलाई महर्षि पतञ्जलिको अष्टांगिक योगमार्गबारे बताइरहनुहुन्थ्यो। यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि नै अष्टांगिक योग मार्ग हुन्। पाश्चात्य विद्वानहरू म्याक्स मुलर, सोफेनआवर, पल ब्रान्टन, पल ड्युसन आदिबाट समेत प्रभावित स्वामीजी इंग्ल्याण्ड, अमेरिका, स्वीजरल्याण्ड, स्वीडेन, फ्रान्स, अस्ट्रेलिया, जर्मनी, रसिया, भारत आदि देशबाट आएका शिक्षाविदहरूसँग शिक्षा र धर्ममा वार्तालाप गर्नु हुन्थ्यो भन्ने उहाँबाट लिखित पुस्तकमा समेत उल्लिखित छन्।

 

उहाँले दरभ‍ंगाको लाहेरियासराइ भन्ने ठाउँको विद्यालय, भागलपुरको बाँकेपुरमा स्थित विद्यालय, कोलकात्ताको न्यु थारेकपुर भन्ने ठाउँको अंग्रेजी विद्यालय, पूर्वी नेपालको भद्‌पुरस्थित विद्यालयमा अध्यापन गर्नु भएको थियो बुढानीलकण्ठ आउनुअघि।

 

हरेक व्यक्ति‌मा असीमित तागत र सामर्थ्य हुन्छ। आफूभित्रको त्यो सामर्थ्यतालाई चिनेर कर्मद्वारा आफूलाई रूपान्तरण गर्न सक्ने हो भने एउटै व्यक्ति कवि, साहित्यकार, कलाकार, संगीतकार, विद्वान मात्र होइन, एक सिद्ध पुरुष समेत बन्न सकिने रहेछ भन्ने कुराको प्रमाण गुरुदेव स्वयंको जीवन हो। उहाँको व्यक्तित्व र कृतित्व युगौं युगसम्म अनुकरणीय हुँदै नयाँ पिढीका लागि मार्गदर्शन मिलेरै जाओस, सत्कर्मतर्फ केन्द्रित हुन हामी सबैमा गुरु कृपा मिलोस्, यही कामना! ॐ गुरुभ्यो नमः! (देशसञ्चार)



लोकप्रिय समाचार