Breaking news

#ट्याग:

नेपालको बैंकिङ इतिहासमै सबैभन्दा धेरै कर तिर्‍यो चन्द्र ढकालको ग्लोबल आईएमई बैंकले

२०८० भदौ १ शुक्रबार

ग्लोबल आईएमई बैंक लिमिटेड नेपालको ठूलो बैंकका रुपमा दर्ज छ। पछिल्लो समय बैंकहरु एक आफसमा गाभिएर ठूला भएका छन्। गत वर्ष त वाणिज्य बैंकहरुको मर्जर वर्ष नै रह्यो। जसले धेरै बैंकको आकार बढायो।  बैंकको संख्या २६ वटाबाट एकै वर्ष २० मा झर्‍यो। 

 

पुँजीको हिसाबले ग्लोबल आईएमई सबैभन्दा ठूलो छ।  गत वर्ष मर्ज हुने बैंक तथा वित्तीय संस्थाहरुमा ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डु पनि थिए। त्यसको केही अघि मात्र ग्लोबल आईएमईले मात्रै अर्को वाणिज्य बैंक जनता बैंक लिमिटेडसँग मर्ज गरेको थियो। 

 

चुक्ता पुँजीको हिसाबमा माथि रहेको ग्लोबल आईएमईले बैंक अफ काठमाण्डुलाई पनि मर्ज गरेपछि धेरै मर्जर र प्राप्तिहरु मा सफलता हासिल गर्ने बैंक बनेको हो ग्लोबल आईएमई। बैंकमा मर्जर पछिको ‘ल्यान्डिङ’मा पनि समस्या छैन। मर्जरबाट आफ्नो बिजनेस र आकारमा ठूलो बन्दै गएको यस बैंक यो पटक इतिहास रच्न समेत सफल भएको छ। नेपालको बैंकिङ इतिहासमै सबैभन्दा धेरै कर तिर्न सफल बनेको छ ग्लोबल आईएमई।

 

नेपाल सरकारको भरपर्दो आयस्रोत हुन् बैंक तथा वित्तीय संस्था। सबै वाणिज्य बैंकहरु ठूला करदाता कार्यालयमा दर्ता छन्। यो वर्ष नेपालको सबैभन्दा ठूला १० करदातामा ४ वटा त बैंकहरु नै छन्। यस हिसाबले सरकारको प्रमुख आयस्रोत बैंकहरु नै बन्दै गएको देखिन्छ। पछिल्ला वर्षहरुमा अन्य क्षेत्रको कर खस्किँदा पनि बैंक तथा वित्तीय संस्थाहरुबाट संकलन हुने कर भने वृद्धि भइरहेको छ। त्यसमा पनि यो वर्ष ग्लोबल आईएमई बैंकले त छलाङ हानेर सबैभन्दा धेरै कर तिर्ने बैंक बनेको छ।

 

यसअघि सबैभन्दा धेरै कर तिर्ने बैंकमा एनआईसी एसिया बैंक थियो। जसले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को कारोबारबाट ३ अर्ब ४१ करोड रुपैयाँ कर बुझाएको थियो। यो नै बैंकहरुले तिरेको सबैभन्दा ठूलो कर रकम थियो। तर गत आर्थिक वर्ष २०७९/८० मा ग्लोबल आईएमईले तिरेको करले त्यसलाई पनि उछिनेको छ। नेपालको बैंकिङ इतिहासमै सबैभन्दा धेरै कर तिर्ने बैंक बनेर गत वर्ष ग्लोबल आईएमईले इतिहास रचेको छ।

 

बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ५ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ कर तिरेको छ। विगतको रेकर्डभन्दा यो २ अर्ब भन्दा बढी हो।  बैंक एकआपसमा गाभिएर अघि बढ्नु धेरै कठिन काम हो। बिजनेसको व्यवस्थापन र कर्मचारीको व्यवस्थापन गर्न गाह्रो छ। तर ग्लोबल आईएमई भने त्यसमा सफलता हासिल गरिरहेको छ।  बैंकका डेपुटी सीईओ सुरेन्द्रराज रेग्मी पनि यो बैंकको संयुक्त पहलबाट नै सफलता हात लागेको बताउँछन्।

 

‘बैंकको सञ्चालक समिति तथा व्यवस्थापनको संयुक्त पहलमा नै बैंकको सूचकदेखि कारोबारमा समेत सबल नतिजाहरु देखिएको हो,’ उनी भन्छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्रप्रसाद ढकाल यस बैंकको सञ्चालक समिति अध्यक्ष हुन्। 



लोकप्रिय समाचार