Breaking news

#ट्याग:

बुनपा अर्थात् 'बुद्धि  नभएकाको नगरपालिका' !

२०८० साउन ३१ बुधबार

- आकाश शर्मा

 

बुढानीलकण्ठ नगरपालिकालाई छोटकरीमा बुनपा भन्नु सामान्य हो । तर बुनपालाई बुद्धि नभएकाको नगरपालिका भन्नु साँच्चै असमान्य हो । यो असमान्य कुरा किन भन्न थालियो ? यसो भन्न पर्ने कसले के गर्यो ? के यसो भन्नु ठीक हो त ? भन्ने विषयमा ममात्र हैन तपाइँहरू पनि घोत्लिँदा ठिकै होलाजस्तो लाग्छ । यसरी सुरू गरौँ ।

 

बुढानीलकण्ठ नगरपालिकावासीहरू आजकाल शर्मसारझैं भएका छन् । जनताले जिताएर पठाएको जनप्रतिनिधिहरूको शर्मनाक हर्कतबाट नगरवासीले अपमानबोध गरिरहेका छन् । पुरेर राखिएको खोला खोल्न डोजर आउँदा बाँदरझैँ व्यवहार देखाएका जनप्रतिनिधिप्रति जनताको रिसको ओइरो लागिरहेको बेला बुढानीलकण्ठमा ५ दशक बिताएका स्वामी चन्द्रेशको निधनमा वुनपाले देखाएको हेय दृष्टिले जनतालाई बुद्धि नभएकाहरूको नगरपालिकाका भन्न बाध्य बनाएको हुनसक्छ । 

 

एकहप्ताअघि महानगर र बुढानीलकण्ठको सिमानामा खोल खोल्न महानगरको पहलमा डोजर आउँदा बुढानीलकण्ठकी उपमेयर अनिता लामा 'बालेनको डोजर फिर्ता जा' ! भनेर नारा लगाउँदै थिइन् भने वडाध्यक्ष नवराज भट्टराई साँचो खोस्न डोजरमाथि चढेका दृष्य सामाजिक सन्जालभरी छन् । सयौँ नागरीकका अघिल्तिर जनताका प्रतिनिधिले त्यसो गरिरहँदा दुई दशकअघि कपन गाविसका तत्कालिन जनप्रतिनिधिले खोलामा ढल हालेर सडकको बनाएको सबैले झल्झली सम्झिए । 

 

त्यतिखेर अर्थात् २ दशकअघि बुद्धि भएका जनप्रतिनिधि भएका भए खोलामा ढल हाल्थेनन् । जनताले खोलाको जग्गा मिचेर घर बनाउन लाग्दा रोक्थे,  खोलासम्म जग्गा नापेर बेच्न खोज्नेहरुलाई रोक्थे । बुद्धि नभएका जनप्रतिनिधिका कारण त्यतिखेर भएका कुकृत्य अहिले २ दशकपछि पनि चलिरहेको छ । 

 

अहिले यतिखेर बुद्धि भएका जनप्रतिनिधि भएको भए खोलालाई कसरी आकाश देखाउने भनेर आफैले सोच्थे । खोलालाई आकाश देखाउनु पर्छ भनेर जनताका बीचमा जान्थे । खोलालाई सडक बनाएर आफूले उबेला गल्ती गरेको भनेर माफी माग्थे । 

 

ल यति गरेनन् । यो कुनै पनि कुरा गर्न बुद्धि आएन बुद्धि नभएकाको नगरपालिकाका जनप्रतिनिधिलाई । महानगरले जोस, जाँगर र आँट देखाएर खोला खोल्न आउँदा त थोरै बुद्धि देखाउन सकिन्थ्यो । बाँदरे शैलीमा 'बालेन डोजर फिर्ता लैजा'  भनेर उपमेयर नै नारा लाउन जान पथ्र्यो त !?  डोजरको साँचो खोस्न गए पनि खोलामा घर बनाउनेहरू खोस्न जान्थे हाेलान् वडाध्यक्ष नै डोजरको साँचो खोस्न जानु पथ्र्यो त !? 

 

यी सब भएपछि सामाजिक सन्जाल र मिडियामा बुनपालाई बुद्धि नभएकाको नगरपालिका भनेर आरोप लाग्नु स्वभाविक नै हो । जुन नगरपालिका आज पनि खोलामा ह्युम पाइप हालेर सडक बनाउँदै छ । आज पनि खोलामा ढल हाल्ने कामको पैरवी गर्दैछ । आज पनि खोला खोल्ने वातावरण बन्दा डोजरको साँचो खोस्न जान्छ । अनि यो नगरपालिकालाई बुद्धि नभएकाको नगरपालिका किन नभन्ने ?

 

यसै क्रममा पूर्वीय सभ्याताका एक धुरन्धर अध्यता तथा व्याख्याता स्वामी चन्द्रेशको निधन भयो । मानव शरीर जन्मेपछि मर्छ । स्वामी चन्द्रेशको निधन भयो । तर आफ्नो नगरपालिकामा स्वामी चन्द्रेश बस्छन् भन्ने सामान्य ज्ञान पनि नराख्ने मेयर देख्दा बुनपालाई बुद्धि नभएकाको नगरपालिका किन नभन्नु !? स्वामी चन्द्रेशको मृत्यूलाई नगरपालिकाका जनप्रतिनिधिले तृणसमान माने । उनीहरूलाइ यस्तो कुरा के मतलब ! कुन खोलामा ह्युम पाइप हालेर बाटो बनाउँदा प्लटिङवालासँग आनाको दरले रकम पाइन्छ भनेर सोच्दैमा जनप्रतिनिधिको फुर्सद छैन । उनीहरूलाई चन्द्रेश मरून् कि को मरून् के मतलब ! 

 

खोला खोल्न डोजर आउँदा डोजरबिरूद्ध नारा लगाउने, साँचो खोस्न जाने जनप्रतिनिधिबाट स्वामी चन्द्रेशको निधनमा समवेदना सन्देशको अपेक्षा गर्ने नगरवासी पनि बुद्धि भएकाचाहिँ हैनन् । सारमा, बुनपालाई बुद्धि नभएकाको नगरपालिका भन्दा त्यसले सही साँचो नै बोलेको प्रतीत हुन्छ । 



लोकप्रिय समाचार