

सामान्य स्वास्थ्य अवस्थामा रहेका उनलाई असारको पहिलो साता एक्कासि ज्वरो आयो । उनले ज्वरोलाई सामान्य रूपमा लिए । अनि, दिनभर घरमै सुते । भोलिपल्ट सहनै नसक्ने गरी जिउ दुख्यो । अनि बल्ल अस्पताल गए कास्कीका अमित विक । बिहान त पूरै ज्यान दुखेर हैरान भए,’ उनले भने, ‘अनि हस्पिटल गए । चेक अप गर्दा डेंगी देखियो ।’
अस्पतालमा ३ दिन बसे विक । त्यसपछि घर फर्के । उनलाई आठौँ दिनमा ठीक भयो । ‘त्यो पछि पनि २/३ दिनपछि बल्ल बाहिर हिँड्न थालेँ,’ उनले भने । डेंगी हुँदा शरीर पूरै दुख्ने, ज्वरो आउने भएको संक्रमित अमितले बताए । डाक्टरको सल्लाह अनुसार औषधी खाएमा निको हुने भएकाले डराइहाल्नुपर्ने अवस्था नरहेको उनले अनुभव सुनाए । एक हप्तासम्म आफूलाई निकै अप्ठेरो भएकाले डेंगीबाट बच्न उनको सुझाव छ ।
‘निकै गाह्रो भयो त्यो समय बिताउन,’ उनी भन्छन्, ‘यो संक्रमण शत्रुलाई पनि नलागोस् ।’ उनले शरीर आलस्य हुने, दुख्ने र खानेकुरा खान मन नलाग्ने अनुभव सुनाए । पछिल्लो समय देशभर फैलिएको डेंगीबाट संक्रमण भएका विक एक उदाहरण मात्रै हुन् । आयातित रोगका रूपमा सन् २००४ मा पहिलोपटक नेपालमा देखिएको डेंगी संक्रमणले अहिले प्रकोपको रुप लिएको छ ।
सुरुमा छिटपुट देखिएको संक्रमण सन् २०११ सम्म आइपुग्दा १५ जिल्लामा फैलिएको थियो । त्यतिबेला सबैभन्दा धेरै संक्रमण चितवनमा भेटिएको थियो । हालसम्म ७४ जिल्लामा डेंगीका संक्रमित देखा परेका छन् । चालु आवमा देशभरमा गरी आठ जनाको मृत्यु भइसकेको छ । यसले थप भयावह लिनसक्ने स्वास्थ्यका अधिकारीहरू बताउँछन् ।
डेंगी संक्रमण सन् २०२२ मा ५४, ७८४ जनामा देखा परेको थियो । त्यो वर्ष ८८ जनाको ज्यान गएको थियो । वाग्मती प्रदेशमा सबैभन्दा धेरै देखिएको डेंगी पोहोर साल बागमतीमा देखिएका झन्डै साढे ४२ हजार संक्रमणमध्ये ७० प्रतिशतभन्दा बढी काठमाण्डू, ललितपुर र भक्तपुरमा अभिलेख गरिएको थियो ।
यो वर्ष झन्–झन् बढ्दैछ । स्वास्थ्य मन्त्रालयले यो वर्ष डेंगी संक्रमण व्यापक रूपमा फैलन सक्ने सम्भावना रहेकाले सावधानी अपनाइनुपर्ने बताएको छ । यो वर्ष सबै जिल्लामा यो संक्रमण फैलन सक्ने जोखिम रहेको मन्त्रालयले जनाएको छ ।अघिल्लो वर्ष ६६ जिल्लामा डेंगी संक्रमण फैलिएको थियो । यो वर्षको अगस्ट र सेप्टेम्बरमा संक्रमण अझै उच्च विन्दुमा पुग्ने र त्यसपछि बिस्तारै कम हुँदै जाने आँकलन मन्त्रालयको छ । चार वटा सम्बन्धित भाइरसहरूका कारण लाग्ने डेंगी एउटै मानिसलाई आफ्नो जीवनकालमा एकभन्दा धेरै पटक पनि लाग्नसक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
कोशी प्रदेशमा डेंगी संक्रमणको अवस्था भयावह बनेको छ । कोशी प्रदेशको सोलुखुम्बुबाहेक १३ जिल्लामा डेंगी फैलिएको छ । सुनसरीमा संक्रमितको कुल संख्याभन्दा धेरै बिरामी छन् । डेंगी ‘हटस्पट’ धरान बनेको छ । कोशी प्रदेश भरी ६ हजार बढी मानिसहरू डेंगीबाट संक्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । सुनसरीमा हालसम्म ८ जनाको मृत्यु भइसकेको निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।
सुनसरीमा सबैभन्दा धेरै संक्रमित रहेका छन् । करिब पाँच हजारको हाराहारीमा यहाँ संक्रमित छन् । सुनसरीपछि दोस्रो धेरै संक्रमित भएको जिल्ला मोरङ रहेको छ । साताअघिसम्म सातवटा जिल्लामा मात्रै देखिएको डेंगी अहिले १३ जिल्लामा फैलिएको छ । सोलुखुम्बुमा हालसम्म संक्रमण नदेखिएको निर्देशनालयले जनाएको छ । बाँकी जिल्लामा भने संक्रमितको संख्या एक सय भन्दा तल रहे पनि संक्रमण बिस्तारै बढ्दै गएको जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयत अन्तरगतको इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार देशभरका डेंगी बढी प्रभावित १० जिल्लाहरू मध्ये कोशी प्रदेशका मात्रै चारवटा जिल्लाहरू सुनसरी, मोरङ, झापा र धनकुटा रहेका छन् । सरकारले डेंगी रोग फैलिन नदिन ठोस योजना बनाएर अघि नबढ्न नसक्दा संक्रमण रोकिने अवस्था छैन । डेंगी संक्रमण न्यूनीकरणका लागि भन्दै अहिले धेरै स्थानीय तहले सामुदायिक संस्था र विद्यालयहरू मार्फत सचेतनामूलक अभियानहरू संचालित छन् ।
डेंगी रोग ‘टाइगर मस्क्यूटो’ को नामले चिनिने एसिड एजिप्टाई/एलबोपिक्टर्स जातको संक्रमित लामखुट्टको टोकाईबाट मात्रै एक व्यक्तिबाट अर्कोमा सर्ने कीटजन्य रोग हो । घर वरिपरी पानी जम्ने खाल्डाखुल्डी लगायतका फोहोर स्थान हटाएर यो लामखुट्टेको लार्भा नष्ट गर्न सकिने र संक्रमण पनि घटाउन मद्दत पुग्ने भन्दै स्थानीय तहरूले ‘सर्च एन्ड डिस्ट्रोई’ अभियान अघि बढाउँदै लगेको धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले जानकारी दिए ।
उनले हालसम्म धरानका २० वटै वडामा डेंगी देखिएको बताए । परीक्षणका लागि आएका मध्ये ७८ प्रतिशतमा डेंगी पुष्टि भएको मेहताले बताए । धरानमा जनस्वास्थ्यविदहरूले सचेत गराएको दुई महिनापछि मात्रै ‘सर्च एण्ड डिस्ट्रोई’ अभियान सुरु गरेको जनाइएको छ ।
धरानमा देखिएको उच्च संक्रमण र बिरामीहरूको उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संचालित ३० बेडको डेंगी वार्डमा बिरामी अटेका छैनन् । संक्रमितको संख्या वृद्धि हुँदा प्रतिष्ठानमा चाप थेग्न मुस्किल बनेको प्रतिष्ठानका सह–प्रवक्ता डा.चुरामणि पोखरेलले बताए ।
प्रतिष्ठानको इमर्जेन्सी वार्ड र डेंगी वार्डमा बिरामी भरिएपछि धरान उपमहानगरपालिकाले छाताचोकस्थित अस्पताल र धरान सभागृहमा समेत डेंगी परीक्षणको सेवा विस्तार गरेको जनाइएको छ । वडास्थित स्वास्थ्य संस्थाहरूले समेत आफैंले वेडहरू व्यवस्था गरेर संक्रमितहरूको उपचारको सेवा सुरु गरेको उपमहानगरपालिकाका प्रवक्ता मनोज भट्टराईले जानकारी दिए । उनले हालसम्म धरानमा मात्रै डेंगी संक्रमित भएका ८ जनाको मृत्यु भइसकेकोले सरकारले परीक्षण र उपचारमा थप आपतकालिन सहयोग गर्नुपर्नेमा उनले बताए ।
उपमहानगरपालिकाले बिहीबार साँझसम्मको तथ्यांक अनुसार धरानमा ४ हजार ९०० को परीक्षण हुँदा दुई हजार ९९४ को रिपोर्ट पोजेटिभ आएको थियो । प्रवक्ता भट्टराईले बीपी प्रतिष्ठानसहित उपमहानगरपालिकाभित्रका अरु अस्पतालमा समेत डेंगीका बिरामीको चाप बढिरहेको जानकारी दिए ।