Breaking news

#ट्याग:

'पालेमा बाख्रा–पाठो, पर्दैन हिँड्न लामो बाटो’ !

२०८० साउन १८ बिहिबार

घरगाउँमा सिकर्मी र डकर्मी काममा कहलिएका व्यक्ति हुनुहुन्छ लमजुङकाे सुन्दरबजार नगरपालिका–६ ऐशेलुचौरका रेशमबहादुर मगर । उनले जीवनको लामो समय ‘हातमा भएको सीप र मनमा भएको ऊर्जा’ सिकर्मी र डकर्मी काममै खर्चिए । घरगाउँमा कामका लागि रोजाइँमा पर्ने भएकाले पनि उहाँलाई काम र दामको कुनै कमी थिएन ।

 

ज्याला मजदुरीबाटै उनको गर्जो सजिलै टरेको थियो । तर विस्तारै घरगाउँमा काठपात र ढुङ्गामाटोको काम कम हुन थाल्यो । काम नपाएपछि कमाइ भएन । जीवन चलाउन सकसै भयो । 

 

पछिल्लो समय घरगाउँमा पनि पक्की घर बन्न थालेसँगै कामका लागि आफूहरूको माग हुन छाडेको रेशम बताउछन् । ‘अहिले गाउँमै इँटा, सिमेन्टका घर बन्न थाले । काठपातको कामका साथै ढुङ्गा माटोको गारो लगाउने काम हुनै छाड्यो । घर बनाउने काममा पनि अन्यत्रबाट कम ज्यालामै काम गर्न मजदुरहरू आउन थाले । हामीहरूको माग हुनै छाड्यो । काम पाउनै गाह्रो भो’, उनले भने ।

 

मजदुरी छोडेर उद्यम

 

ढल्कँदो उमेर । तर परिवारप्रतिको जिम्मेवारी बढ्दो थियो । काम र कमाइ नभएपछि परिवारको गुजारा चलाउन रेशमले घरगाउँमै आफ्नै केही उद्यम गर्ने योजना बनाए । विगतमा घरगाउँमै निर्वाहमुखी ढङ्गले गर्दै आएको बाख्रापालनलाई उनले व्यावसायिकरूपमा हाँक्ने सोच बनाए । लगत्तै उनी व्यवसायिक बाख्रापालनमा लागे ।

 

पाँच वटा स्थानीय खरी जातको बाख्राबाट उनले व्यवसाय शुरु गरे । चार वर्षअघि ‘अञ्जन बाख्रा तथा बंगुर फार्म’ दर्ता गरी उहाँले व्यवसाय अघि बढाए । अहिले उहाँको फार्ममा २० वटा माउ बाख्रा, पाँच वटा बोका र पाँच वटा पठ्याङ्ग्री छन् । बीचको केही समयमा उहाँको फार्ममा ७० वटासम्म बाख्रा थिए ।

 

‘काम पनि पाइन छाड्यो । उमेर घर्किँदे गयो । स्वास्थ्यमा पनि समस्या हुँदै गएपछि काठपात, ढुङ्गामाटोको काम गर्न गाह्रो भयो । त्यसैले बाख्रापालनमा लागेँ’, उनले भने । 

 

कमाइ राम्रो : घरखर्च चलाउन सजिलो

 

बाख्रापालन व्यवसाय उनलाई फापेको छ । यसै व्यवसायबाट राम्रो कमाइ भएको छ । घरखर्च चलाउन सजिलो भएको छ । ‘पहिले पनि राम्रै कमाइ हुन्थ्यो । अहिले तुलनात्मकरूपमा दुःख कम छ । कमाइ राम्रै छ । चुलाे बाल्न सजिलै भएको छ’, रेशमले भने ।

 

फार्ममा उत्पादित खसीबोका, पाठापाठी घरबाटै बिक्री हुने गरेको छ । उत्पादन स्थानीय सुन्दरबजारमै खपत हुने गरेको छ ।‘खसीबोका, पाठापाठी खरिदका लागि ‘गाहकी’ (ग्राहक) घरमै आउँछन् । बजारको कुनै समस्या छैन’, उनले भने ।

 

उनले खसीबोका प्रतिकेजी छ सय रुपैयाँ, पठ्याङ्ग्री प्रतिकेजी चार सय रुपैयाँमा बिक्री गर्दै आएका थिए  । फार्ममा वार्षिक तीन लाख रुपैयाँकाे हाराहारीमा आर्थिक कारोबार हुँदै आएको छ । ‘महिनाको २५/३० हजार रुपैयाँ कहीँ जादैँन । बाख्राको आहारामा पनि पैसा खर्च हुन्छ’, बाख्रा चराउनका लागि डाठीखोरी भीरमा जाँदै गर्दा बाटैमा भेटिनुभएका रेशमले भने ।

 

‘विदेश नजाऔँ, श्रम–पसिना देशमै बगाऔँ’

 

घरमै बाख्रपालनमा रमेका रेशमको दिनचर्या बाख्राकै कुँडोपानी, घाँसपात र हेरचाहमा बित्ने गर्छ । यसमा उनलाई श्रीमती देवी र दुई छोरा मनोज र अञ्जनले पनि सघाउँछन्  । परिवारको साथमा बसेर कृषि उद्यम गर्न पाउँदा उनी खुशी छन् । यस व्यवसायलाई थप विस्तार गर्दै लैजाउने उनको लक्ष्य छ ।

 

‘लोकल खरी’ जातको बाख्राका लागि यहाँको हावापानी उपयुक्त रहनुका साथै झरीमा समेत चर्न सक्ने भएकाले याे जातकाे बाख्राको सङ्ख्या बढाउँदै लैजाने उनको भनाइ छ । ‘आजससम्म राज्यबाट सहयोग पाएको छैन । राज्यबाट साथ, सहयोग मिलेमा यस व्यवसायलाई विस्तार गर्ने, लोकल खरी जातकै बाख्राको सङ्ख्या थप्दै लैजाने सोच छ’, उनले भने ।

 

चरनको व्यवस्था, घाँसपातको उचित व्यवस्थापन, व्यवस्थित खोरका साथै उन्नत जातका बाख्रा पाल्न सकेमा घरगाउँमै बसीबसी बाख्रा पालेरै सजिलै जीवन धान्न सकिने सम्भावना सुनाउनुहुन्छ उनी  ‘कि लामो बाटो कि बाख्रा पाठो’ बुढापाकाको उखान स्मरण गर्दै रेशम विदेशिएका र विदेशिन खोज्ने युवाहरूलाई भन्छन्, ‘सकेसम्म विदेश नजाऔँ । श्रम–पसिना देशकै माटोमा बगाऔँ । पालेमा बाख्रा पाठो, पर्दैन हिँड्न लामो बाटो ।’ -उज्यालाे



लोकप्रिय समाचार