

“चार प्रश्न मेयरसँग“ कार्यक्रमको पहिलो अङ्कमा हामीले कागेश्वरी मनहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीसँग सम्वाद गरेका छौँ । मेयर भएको १ वर्षमै केही महत्वपूर्ण काम गरेर आफूलाइ अब्बल प्रमाणित गरेका कार्कीसँग हामीले चारप्रश्नअन्तर्गत विशेषगरेर प्रकृति संरक्षण, सम्पदा संरक्षण तथा बस्ती विकासलाई मुख्य मुद्धा बनाएका छौँ । हाम्रा चार प्रश्नमा मेयर कार्की कार्कीको उत्तर यस्तो छः
मेयर साब्, कागेश्वरी मनहरा नगरपालिकाले नयाँ नीति तथा कार्यक्रममा विशेष ध्यान दिएर उल्लेख गरेर कार्यान्वयन गर्न चाहेको विषयहरू के के होलान् ?
कागेश्वरी मनहरा नगरपालिका भौतिक पूर्वाधारको हिसाबले धेरै काम गर्न बाँकी रहेको नगरपालिका हो । त्यस्तै शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष फोकस भएर काम गर्न पर्ने भएकाले भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य तीनवटै क्षेत्रलाइ प्राथमिकताका साथ ध्यान दिएर काम गरिरहेका छौँ । नगरगौरबको आयोजनाका रूपमा हामीले तीनवटा कामलाई अगाडि सारेका छौँ । पहिलो, खेलकुद सहर(स्पोर्ट सिटी) बनाउने योजना तयार गरेर हिँडेका छौँ । दोस्रो, हरेक घरघरमा हाम्रो कार्याबधिभित्र सुद्ध खानेपानी पुर्याउने योजनामा हामी छौँ । र तेस्रो, अव्यवस्थित सहरीकरणलाई व्यस्थित सहर कसरी बनाउने बारे भनेर पनि हामीले तयारी गरेका छौँ । यसका लागि गोकर्णेश्वर, कागेश्वरी मनहरा र संखरापुर नगरपालिकासँग सहकार्यमा व्यवस्थित सहरको अवधारणा बन्दैछ ।
योबाहेक हामीले संस्कारसहितको गुणस्तरीय शिक्षाको अवधारणामा शिक्षा क्षेत्रमा आमूल परिवर्तनको स्वरूपमा काम गर्दैछौँ । यसका लागि हामी शिक्षा क्षेत्रमा लगानी बढाउने काम गरेका छौँ । नगरभित्र रहेको एउटा नगर अस्पताल र हरेक वडामा रहेका बर्थिङ सेन्टरलाई सहरी स्वास्थ्य केन्द्रकारूपमा स्तरबृद्धि गरेर विशेषज्ञ स्वास्थ्य सेवालाई टोलटोलामा पुर्याउने सक्ने गरी कार्ययोजना बनाएका छौँ । त्यसैगरी, उद्यमशिलता, कृषि पशुपालन, शान्ति सुरक्षाका क्षेत्रमा हाम्रो ध्यान केन्द्रित छ ।
मेयरसाबले भनेजस्तै अब्यवस्थित बस्ती विकासले काठमाडौँ कुरूप हुँदैछ । यो नगरपालिका पनि कुरूप बस्तीविकासबाट अछुतो छैन । बस्ती विकासलाई व्यवस्थित गर्नेबारे केहि सोच्नु भएको छ र नीति कार्यक्रमै चाहिँ के के कुरा समावेश गर्न भएको छ ?
हामीले बस्ती विकासका लागि अघि भनेजस्तै तीनवटा नगरपालिकासँग मिलेर ठूला ठूला आयोजनामार्फत पनि बस्ती विकासलाई व्यवस्थित र सुन्दर बनाउन प्रयास गरिरहेका छौँ । त्यसैगरी केन्द्र सरकारले स्मार्ट सिटी बनाउने भनेर हाम्रोलगायत ६ वटा नगरपालिकाको १ लाख रोपनी जग्गा रोक्का गरिरहेकाे छ । तर ७ वर्ष भैसक्यो रोक्का मात्र भयो काम केही अगाडि बढेको छैन । यसरी एउटा कुरा के टुंगोमा पुग्न सकिन्छ भने ठूला योजनाहरू कार्यान्वयनमा जटिलता आउने रहेछ । यहि अनुभवका आधारमा हामीले यही वर्षदेखि एक वडा एक नमुना बस्ती बनाउने नीति तथा कार्यक्रम तय गरेर बजेटमार्फत सम्बोधन गरेका छौँ । जुन वडामा खाली जमिन छ त्यो वडामा निजी क्षेत्रलाई पनि समावेश गरेर पब्लिक प्राइभेट पार्टनरशिपमा नमूना बस्तीहरु विकास गर्ने तयारीमा पुगेका छौँ । यस अघि विकास भएको बस्तीमा बाटो, ढल, खानेपानीको चरम अभाव देखिन्छ । बनिसकेका टोलहरूमा पूर्वाधार विकास गर्न यति धेरै लगानी लाग्ने रहेछ कि त्यो नगरपालिकाको क्षमताभन्दा बाहिरको कुरा हुँदो रहेछ । यसैले हामीले अहिले नै पछिका सम्भावित समस्यालाइ मध्यनजर दिएर बस्ती विकासमा फोकस हुनुको विकल्प छैन ।
रीतिरिवाज, संस्कृति र सम्पदाअन्तर्गत स्थानीय जात्रामात्रा, पुराना मन्दिर देवालयले नै हो हाम्रो काठमाडौँलाइ जीवित बनाएको छ । यो विषयलाइ कसरी लिनु भएको छ तथा के कस्ता कामहरू गर्दै हुनुहुन्छ ?
हामी पूर्वीय सभ्यताको धनी मुलकका बासिन्दा हौँ । रितीरिवाज, सम्पदाहरू, कल्चरल हेरिटेजका कुरामा हामी अत्यन्त धनी छौँ । यो विषय हाम्रो पहिचानसँग जोडिएकोमात्र हैन हाम्रो ज्ञानसँग जोडिएको विषय पनि हो । यसको संरक्षण र सम्बर्धन अत्यन्त आवश्यक छ । कागेश्वरी मनहरा नगरपालिकाको कुरा गर्ने हो हामी शिवपुरी जलाधार क्षेत्र र राष्ट्रिय निकुन्जको क्षेत्र पनि रहेको एउटा नगरपालिका हो । उपत्यकाको सभ्यतासँग जोडिएको वाग्मती र मनहरा नदी हामीसँग छ । यी नदीसँग प्राचीन धार्मिक र ऐतिहासिक महत्व जोडिएको छ । कागेश्वरी धाम जुन पौराणिक र अत्यन्त प्रख्यात धार्मिक स्थल हो । अरू पनि पुरातात्विक महत्वका थुप्रै मठमन्दिर यहाँ रहेका छन् । चाहे त्यो आलापोटको गणेश मन्दिर होस् वा डाँछीको चन्द्रविनायक मन्दिर होस् ती सबैको संरक्षणमा हामी दत्तचित्त लागेको छौँ । नयाँ मन्दिरहरू स्थापना भएका छन् । जस्तै नवतनधामजस्ता प्रख्यात मन्दिर बनेका छन् यिनीहरू सबैको संरक्षण र सम्बर्धनमा नगरपालिकाले महत्वका साथ योजना बनाएर अगाडि बढेको छ ।
यहाँ कला संस्कृति तथा कतिपय जात्राहरू छन् जसलाइ संरक्षण गर्न आवश्यक बोध भएर हामीले 'नगर प्रज्ञा परिषद्' गठन गरेर अगाडि बढ्ने भनेर नगरसभामार्फत पास गरिसकेका छौँ । यस परिषद्अन्तर्गत रहेर हामीले संरक्षण र सम्बर्धनको महाअभियान चलाउने छौँ । यस परिषदमा स्थानीयको सहभागिताका साथमा यस विषयका विज्ञ एवम् अनुभविहरूलाई राखिनेछ । हामीले धार्मिकस्वरूप तथा स्थानीयतालाई ध्यानमा राखेर कागेष्टमी र अक्षय तृतीयालाई स्थानीय पर्वकारूपमा मनाउन सुरू गरेका छाैँ । स्थानीय पाठ्यपुस्तकमा स्थानीय सम्पदा, जात्रमात्रासहित ऐतिहासिक विषयबस्तुलाइ समेट्ने काम भएको छ ।
पुराना खोला, कुला, राजकुला, पोखरीदेखि इनाइ, कुवाहरू संरक्षण हुन नसकेको कुरा सार्वजनिक भैरहेका छन् । विशेषगरी कुला राजकुला मासेर सडक बनाउन नगरपालिका र वडा नै सक्रिय हुँदा बस्ती कुरूपमात्र नभै सम्पदा दोहन पनि हुने गरेको छ । यो बारेमा तपाइँको धारणा के कस्तो हो र यसका लागि के कस्ता काम गरिरहनु भएको छ र गर्ने तयारीमा हुनुहुन्छ ?
यो नगरपालिकाको सम्बन्ध वागमती, मनहरा र शालीनदीको सभ्यतासँग छ । एकीकृत वाग्मती सभ्यतामार्फत पनि सम्पदा बचाउने केही कामहरू भएका छन् । नदी संरक्षण र सम्बर्धनका लागि वाग्मती र मनहरामा तटबन्ध र करिडोरको काम भैरहेको छ । विशेषगरी मनहरा नदीको क्षेत्रमा धेरै काम गर्न बाँकी छ । यी नदीहरूसँग जोडिएको बिभिन्न राजकुला, कुला जुन हाम्रो कृषि प्रणालीसँग साइनो गास्छ बस्ती विकासको क्रमसँगै धेरै ठाउँमा मासिइसकेका छन् । राजकुलो कै बारेमाचाहिँ यदि वडा तहबाटै यो राजकुला काम छैन भनेर निर्णय भएर आयो भने त्यस्तो बेला आवश्यक्ताको आधारमा बाटो बनाउन सकिने एउटा नीति पनि छ । तर अहिले समस्या के भयो भने परापूर्वकालदेखिका साना साना खोल्साहरू नै भटाभट खन्ने पुर्ने र बाटो बनाउने भयो । जसले वर्षामा बस्ती डुबाउने पनि गरेको छ । यसैले हामी राजकुला, नदी तथा खहरेहरूलाई जसरी पनि संरक्षणकै बाटोमा लैजान पर्छ भन्ने टुंगोमा छौँ । सबैखाले पानीसँग सम्बन्धित विषय संरक्षणमा लाग्ने भनेर निर्णय गरेका छौँ । हाम्रा कामहरू यहाँहरूले आगामी दिनहरुमा राम्ररी देख्न पाउनुहुनेछ ।
(काठमाडौँ खबरका सुधिर लोहनीसँगको कुराकानीमा आधारित)