

तत्कालीन युवराज महेन्द्रकी रानी इन्द्रराज्यलक्ष्मीको गर्भमा बच्चा अडिनै सकेन । यस कुराले दरबार तनावमा थियो । एकै लगनमा दुई वटी रानी भित्र्याउने परम्परा राजा त्रिभुवनसम्म कायम थियो । महेन्द्रले पनि त्यो परम्परालाई निरन्तरता दिएको भए अर्की रानीबाट शाहज्यादा पैदा हुन पनि सक्थे– अनुमानको कुरा । ऊबेला नामुद कविराज थिए शिवनाथ रिमाल । शाही वैद्य । राजा त्रिभुवनले आफ्नी बुहारीको समस्या राजवैद्यका सामु राख्न चाहे । कविराजलाई बोलाएर त्रिभुवनले एकान्तमा फेहरिस्त अगाडि सारे– मेरी बुहारीको छोरीपछि बच्चा अडिन गाह्रो भयो । केही उपाय होला ?
इन्जिनियर शङ्करनाथ रिमालका बाजे थिए शिवनाथ । बाजेबाट सुनेका त्यो घटनाका बारेमा शङ्करनाथ स्मरण गर्नुहुन्छ, “बाजेले ‘सरकार, छिप्पिएर गन्ध आउने बोकालाई काटेर एउटा बडेमानको कराहीमा राख्ने र त्यसलाई घ्युमा बेसकन पकाएर सेवनपछि बच्चा नअडिने समस्या रहँदैन’ भन्नुभएछ ।” हर्लिक्सका थुप्रै सिसीमा भरेर दरबारले कविराजका घरमा घ्यु पठायो । कविराज शिवनाथले नै कराहीमा त्यो ओखती पकाए । त्यसको गन्ध निकै फैलियो, जसले गर्दा ओखती पकाइएको कोठामा धेरै दिनसम्म कोही पनि टिक्न सकेनन् । नातिहरूलाई पनि कविराजले पकाएको ओखती एक चम्चा चाख्न दिए । अहँ, कसैले पनि पूरै खान सकेनन् । घ्युका सिसी थुप्रै बचेका थिए । दरबारले ‘फिर्ता ल्याउनुपर्दैन’ भनेपछि कविराजका नातिनातिनाले त्यो घ्यु खाएर सके ।
उता इन्द्रराज्यलक्ष्मीले पनि कहाँ त्यो ओखती खान सक्थिन् र ? महेन्द्रले भातमा मुछेर खान सकिन्छ कि सकिँदैन भनेर जिज्ञाशा राखे । कविराजले सकिने जवाफ दिए । इन्द्रराज्यलक्ष्मीले भातमा मुछेर बल्लतल्ल ओखती खान सकिन् । “बल्ल त्यो औषधिको प्रभावले वीरेन्द्र गर्भमा रहे” शङ्करनाथले त्यो प्रसङ्ग स्मरण गर्नुभयो ।(सन्दर्भ सामग्रीः मदन पुरस्कार पुस्तकालय, गाेरखापत्र अनलाइन)