

काठमाडौं उपत्यकाको वायु अत्यन्त अस्वस्थकर बनेको छ । वायु प्रदूषण सूचकांक (एक्यूआई)ले देखाएको अपडेटअनुसार काठमाडौंका मुख्य चहलपहल हुने स्थानको वायुमा प्रदूषणको मात्रा १५० यूएस एक्यूआईभन्दा बढी देखिएको छ ।
आईक्यू एयरका अनुसार शुक्रबार मध्याह्न १२ः४५ बजे काठमाडौंको महाराजगञ्ज क्षेत्रको वायु प्रदूषणको मात्रा १७६ यूएस एक्यूआई छ । त्यस्तै, अमेरिकन एम्बेसी अगाडिको मापनयन्त्रले १६१ यूएस आईक्यू देखाएको छ भने कालीमाटी, कीर्तिपुर, बालकोटलगायतको क्षेत्रको प्रदूषणको मात्रा १५० भन्दा बढी देखिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार एक्यूआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जान्छ । एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । एक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।
एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ भने १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । यो एक्यूआई जति बढ्दै गयो त्यति घातक हुने डब्लूएचओले जनाएको छ ।