

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले सरकार विस्तार गर्ने तयारी भएसँगै नेपाली कांग्रेसभित्र मन्त्री बन्नेको लर्को लागेको छ । अहिले कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेस सरकारमा जाने तयारीमा छ ।
१३ फागुनमा बनेको आठदलीय गठबन्धनभित्र नेकपा(एस) र नेपाली कांग्रेसले एक–एक वर्ष सरकारको नेतृत्व गर्दा बाँकी रहेको समय माओवादीले सरकारको नेतृत्व गर्ने सहमति गरेको थियो । उक्त सहमतिअनुसार प्रचण्ड नेतृत्वको सरकार ३ वर्ष सम्म चल्ने देखिन्छ । तीन वर्ष मन्त्री बन्न हालसम्म महामन्त्रीद्वयबाहेक अरू आकांक्षी छन् । अझ लामो समय संस्थापन र इतर भनेर गुटमा खुलेका नेताहरूको आंकाक्षा धेरैको छ ।
संस्थापन र इतर समूह दुबैतर्फ लागेका पूराना तथा नयाँ अनुहारहरू पनि आफूलाई मन्त्री बनाइदिन आग्रह गर्दै सभापति देउवा निवास र इतर समूहका नेता डा. शेखर कोइरालाको निवास धाइरहेका छन् । यस्तै भर्खरै निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको कोटाबाट भए पनि मन्त्री बन्ने आकांक्षा केही नेताहरूमा छ ।
सहमहामन्त्रीहरू जीवन परियार, बद्री पाण्डे, किशोरसिंह राठोर मन्त्री बन्ने दौडमा छन् । परियार र पाण्डे इतर समूह र राठौर संस्थापन समूहका हुन् । सहमहामन्त्री पाण्डेप्रति राष्ट्रपति पौडेलको समेत सद्भाव रहेको बताइन्छ । कांग्रेका प्रवक्ता समेत रहेका सांसद प्रकाशरण महत सहित सांसदहरू वीरबहादुर बलायर, एनपी साउद र रमेश लेखकमध्ये एक नेताले अवसर पाउने बुझाई संस्थापन पक्षमा छ ।
लेखक दलको प्रमुख सचेतक भए पनि मन्त्री बन्ने दौडमा रहेका छन् । प्रमुख सचेतक बस्न तयार नभएका लेखकलाई पार्टी प्रतिपक्षमा रहँदासम्म भनेर प्रमुख सचेतक बनाइएको चर्चा उनीनिकटहरूले गरिरहेका छन् । यस्तै, सांसद्हरू रामहरि खतिवडा, मोहन बस्नेत तथा शंकर भण्डारी पनि मन्त्री बन्ने दौडमा छन् । तराई–मधेश क्षेत्रबाट दिनेश यादव, राष्ट्रिय सभा सदस्य जितेन्द्र तथा देवप्रसाद तिम्सिना छन् ।
मन्त्री बन्ने दौडमा प्रधानमन्त्री पत्नी समेत रहेकी सांसद आरजु राणा देउवा पनि छन् । उनको रोजाइमा परराष्ट्र मन्त्रालय छ । संस्थापन पक्षका महिलामध्येबाट तेह्रथुमबाट प्रत्यक्ष निर्वाचन जितेकी एकमात्र महिला सांसद सिता गुरुङ पनि लविङमा लागेकी छन् । यस्तै सांसदहरू इश्वरी न्यौपाने, अम्बिका बस्नेतको पनि चर्चा छ ।
कांग्रेसमा इतर समूहबाट सरिता प्रसाईं, रामनाथ अधिकारी, सञ्जय गौतम, हृदयराम थानी तगा दिपक गिरी मन्त्री बन्ने दौडमा छन् । समूहबाट रामकृष्ण यादव, तेजुलाल चौधरी, डिगबहादुर लिम्बु ,प्रतिमा गौतम, लिला बोखिम आकांक्षी छन् । शेखर निकट नेता डा. सुनिल शर्मा समूहभित्र को मन्त्री बन्ने र कसलाई पठाउने भन्ने विषयमा सामान्य छलफल पनि प्रारम्भ नभएको बताउँछन् । उनी डा. शेखरले पनि मन्त्रिपरिषद्मा जानेबारे मनसाय नराखेको भन्दै आफूहरू छलफल नगरेको प्रस्ट पार्छन् ।
“यो विषयमा समूहभित्र छलफल भएको छैन र हाम्रा नेता शेखर कोइरालाले पनि केही भन्नुभएको छैन,” उनले भने, “साथीहरूको व्यक्तिगत आकांक्षाको बारेमा त म जान्दिन तर, समूहमा कुनै पनि छलफल भएको छैन ।” आकांक्षीको संख्या हिसाब गर्दा मन्त्रालयभन्दा तेब्बर बढी सांसदहरू मन्त्री बन्ने दौडमा छन् । सभापति देउवा निकट एक सांसद तथा केन्द्रीय सदस्य नेतृत्वको आकांक्षी व्यवस्थापन चुनौतीपूर्णनै भएको बताउँछन् । यस्तै, पार्टीमा शशांक कोइराला निकट मानिएका दिपक खड्का पनि मन्त्रीका आकांक्षी हुन् ।
“१० पुसमा गठबन्धन बन्न नदिने र आफ्नो नेतृत्वमा आएको सत्ता गुमाउन भुमिका खेल्ने प्रकाशरण महत, ज्ञानेन्द्रबहादुर कार्की लगायत नेता त मन्त्री बन्न मरिमेटेका छन् भने अब आफैँ सम्झनु न अरू कति लागेका होलान्,” उनले भने, “हामी जस्ता गठबन्धन बन्नुपर्छ भनेर लागेकाहरू त झन मन्त्री बन्न लाग्नै भयौं नि । आकांक्षी धेरै छन्, सबैलाई मन्त्री बन्नुपरेको छ । हेरौं कसरी मिल्छ ।”पार्टीका अर्का एक पदाधिकारी राजनीतिको अन्तिम उद्देश्यनै सत्ता र शक्ति भएकाले आकाक्षी देखिनु स्वभाविक ठान्छन् ।