

खोकनाकाे नामसँग धेरै कुरा जाेडिएकाे छ । याे प्राचीन बस्तीसँग जाेडिएका कतिपय कुरा रमाइलाे लाग्ने खालकाे छ । खासगरी खाेकना तोरीको तेलको लागि प्रख्यात छ । तर अहिले तेल खोज्न पनि मुस्किल पर्छ । यहाँ चालु हालतको तेल मिल अब केही मात्र बाँकी छन् । खाेकनाका खेतहरुमा तोरीका पहेँला बारीहरु हुन्थे अहिले कंक्रिटका घरहरु छन् । तेलको लागि तोरी भने युक्रेन देखि आउने गर्दछ । खोकनामै फलेकाे ताेरीकाे शुद्ध तेल खासै धेरै पाइँदैन ।
खोकना नेपालको इतिहासमा जोडिएको अर्को कथा यहाँ बालिएको बिजुली बत्ती हो । राणा प्रधानमन्त्री चन्द्रशम्शेरले यहि नजिकैको फर्पिङबाट बिजुली उत्पादन भए पछि पहिलो पटक यसै ठाँउका बासिन्दा सिद्धिलाल महर्जनको घरमा बालिएको थियो । शुरुमा बिजुलीले मान्छे च्याप्प समाएर खान्छ भनेपछि सिद्धिलालले घरभित्र गुलुप हाल्न दिएनन् । जसले गर्दा पिढीमा बालिएको त्यो बत्ती निभाउने स्विच नभएको हुँदा तीनवर्षसम्म बल्यो । घरछिमेकको लागी उज्यालो दिइरह्यो ।
खोकना अर्को एक महत्वपूर्ण इतिहाससंग गाँसिएको पनि छ । यहाँ दशै मान्ने गरिदैन । देशैभर दशैको धुमधाम पर्व मनाइरहदा यहाँ सिकाली जात्रा मनाइन्छ । खोकना नजिकै रहेको कुदेशमा रहेको सिकाली देवी वास्तवमा महामारीको देवता हुन् । देशमा महामारी फैलियो भने सिकाली देवीलाई बिशेष किसिमले क्षमा पूजा गरेर रोकथाम हुने विश्वास गरिन्थ्यो । तर अचेल सिकाली जात्रा भने कायम नै छ । महामारी भने खासै फैलिएको छैन । अन्तिम पटक १८औ शताव्दीको मध्यतिर उपत्यका भर बिफरको महामारी फैलिएको थियो । राजा रणबहादुर शाहले राज्यभरका बालबालिकालाई सैनिक लगाएर निष्काशन गरेका थिए । जसले गर्दा साना बालबालिकालाई काखी च्यापेर उपत्यकाबाट नेवारःहरु बिभिन्न शहरहरु पुगेका थिए ।
यसरी इतिहासको बिभिन्न समयको साक्षी रहेको खोकना अहिले फास्ट ट्रेकको चपेटामा पारिएको छ । फास्ट ट्रेकको बिकल्पहरु हुँदा हुदै पनि ऐतिहासिक शहर खोकनामाथी नै आँखा गाडिएको छ । यसतर्फ राजनैतिक दलहरुले एकपटक सोच्नै पर्ने हो ।तस्विरमा यहि ऐतिहासिक शहर खोकनाको ५० वर्ष अगाडीको अवस्थालाई देख्न सकिन्छ ।