

काठमाडौं । अर्थसचिव तोयम रायाले असारसम्म कर्मचारीको तलबमा समस्या नरहेको भएपनि त्यसपछिको अवस्थाबारे अहिले टिप्पणी नगर्ने बताएका छन् । ‘मंगलवार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको ‘आगामी आर्थिक वर्षको बजेट तर्जुमा’ विषयक छलफलमा उनले सरकारको अनिवार्य दायित्व बढ्दै गएको र आम्दानीमा आएको ह्रासले अर्थतन्त्रमा समस्या बढ्दै गएको बताए ।
‘अर्काे वर्ष पनि सहज हुने देखिँदैन । किनभने आयात गर्नैपर्छ, बढाउनैपर्छ भन्ने पक्षमा हामी छैनौं,’ अर्थसचिव रायाले भने, ‘अन्तरराष्ट्रियस्तरमा ब्याजदर निकै बढेको छ । यसले धेरैजसो गतिविधिमा असर पर्छ । राजस्वमा असर परेपछि बाँकी विकल्प आन्तरिक र वैदेशिक ऋण हो । तर वैदेशिक ऋणको पनि आफ्नै सीमा छ । हामीले चाहे पनि कतिपय अवस्थामा वैदेशिक ऋण पनि नपाइने अवस्था छ ।’