Breaking news

#ट्याग:

नेपालमा प्रत्येक चार वयस्कमा एकजनालाई 'उच्च रक्तचाप'काे राेग

२०७९ चैत १ बुधबार

उच्च रक्तचापको लक्षण लिएर स्वास्थ्य संस्था पुग्नेमध्ये ९५ प्रतिशतमा कारण थाहा नहुने समस्या देखिएको छ । स्वास्थ्य सेवा विभाग एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको तथ्यांकअनुसार पछिल्ला वर्ष उच्च रक्तचापको लक्षण लिएर अस्पताल पुग्ने बिरामी तीव्र रूपमा बढिरहेका छन् । 

 


गत वर्ष ०७८-७९ मा सात लाख ९५ हजार ८७ बिरामी उच्च रक्तचापको लक्षणसहित अस्पताल पुगेका थिए, जुन पाँच वर्षअघिको तुलनामा दोब्बर हो । त्यस्तै, ०७७-७८ मा ६ लाख ५७ हजार एक सय ६३ र ०७६-७७ मा सात लाख ४१ हजार पाँच सय ८२ बिरामी अस्पताल पुगेका थिए । ०७५-७६ मा चार लाख ९९ हजार चार सय ८२ र ०७४-७५ मा चार लाख तीन हजार नौ सय ४५ व्यक्ति उच्च रक्तचापको समस्या लिएर अस्पताल पुगेको तथ्यांक छ । 

 


उक्त रक्तचापका बिरामी बढिरहँदा नेपाल हेल्थ रिसर्च काउन्सिलको तथ्यांकले प्रत्येक चार वयस्क (२० देखि ५५ वर्ष उमेर समूह)मा एकजनामा यो समस्या रहेको देखाएको छ । काउन्सिलका अनुसार नेपाली वयस्कमा उच्च रक्तचापको समस्या बढेर २४.५ प्रतिशत पुगेको हो । देशभरका ३२ लाखलाई उच्च रक्तचापको समस्या भएर पनि स्वयं आफैँलाई थाहा नभएको अनुमान छ । त्यस्तै, समस्या थाहा पाएर पनि उपचारबाट वञ्चित रहने ३१ लाख र उपचार गर्दागर्दै रक्तचाप नियन्त्रणमा ल्याउन नसकेका ३५ लाख ८० हजार रहेको तथ्यांक छ । 

 


समुदायस्तरमा यो समस्या धेरैलाई भए पनि चेतनाको अभावले नियमित जाँच गराउन नजाँदा जटिलता निम्तिने गरेको छ । जटिल अवस्थामा पुगेकालाई गाउँ–गाउँमा स्क्रिनिङ र उपचारको सहज पहुँच नहुँदा समस्या बढ्दै गएको चिकित्सकहरू बताउँछन् । उच्च रक्तचापबाट प्रभावित ४० प्रतिशतभन्दा कम मात्रै स्वास्थ्य अवस्थाबारे जानकार रहेको मुटुरोग विशेषज्ञ डा. अभिनव वैद्य बताउँछन् । ‘उच्च रक्तचाप अहिले मुटुसम्बन्धी रोग, मिर्गौलामा समस्याका साथै स्ट्रोकको समेत मुख्य कारक हो । तर, नेपालमा प्रभावितमध्ये २० प्रतिशत मात्रै उपचारको दायराभित्र रहेको पाइन्छ भने एक प्रतिशतले मात्रै उपचारको माध्यमबाट रक्तचाप नियन्त्रणमा ल्याएको पाइएको छ,’ उनले भने । 

 


प्रत्येक वर्ष नेपालमा ५० हजारभन्दा बढीको मुत्यु मुटुसम्बन्धी रोगका कारण हुने गरेको तथ्यांक छ । यसको मुख्य कारक पनि उच्च रक्तचाप नै रहेको डा. वैद्यले बताए । उनी भन्छन्, ‘हाइपरटेन्सनका कारण जटिल समस्या निम्तिएपछि मात्र अस्पताल पुग्ने र चिकित्सक तथा फिजिसियनमा मात्र उपचार निर्भर रहेका कारण रोग नियन्त्रणबाहिर छ । समुदायस्तरमा रक्तचाप नियन्त्रणका लागि अन्य व्यक्तिलाई पनि जनचेतना दिने र उपचारमा सहयोग पुर्याउन स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई समेत संलग्न गर्न सकिन्छ ।’ 


समस्या भएकामध्ये २० प्रतिशतले मात्रै रक्तचाप परीक्षण गर्ने गरेको पनि अध्ययनले देखाएका छन् । सामान्यतया उच्च रक्तचापबाट प्रभावितमध्ये आधालाई आफूमा भइरहेको समस्या नै थाहा नहुने र उपचारको पहुँचमा पुग्नु नै मुख्य समस्या भएको बताउँछन् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण मास्के । ‘देशभरको अस्पतालको तथ्यांक हेर्दा वयस्कमा २० देखि २५ प्रतिशत जनसंख्या उच्च रक्तचापबाट पीडित भएको पाइएको छ । तर, बिरामीहरू औषधि खानसमेत मान्दैनन्,’ उनले भने, ‘रक्तचाप नियन्त्रण गरेर जोखिमबाट बच्नका लागि औषधि सेवन गर्नुपर्छ । तर, प्रभावितमध्ये पनि एकतिहाइले औषधि नै खाँदैनन् । औषधि खाइरहेकामध्ये पनि एकतिहाइमा उच्च रक्तचाप नियन्त्रणमा आउँदैन ।’ नयाँ पत्रिका



लोकप्रिय समाचार