

काठमाडौँ । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले आज सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् ।
भोलि चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले जानकारी दिए । उनले सङ्घ ऋणको ब्याजदर घटाउनमा केन्द्रित भएको बताए । हाल बैंकहरुले कर्जामा आधारदरमा छ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब एक प्रतिशत घटेपछि आधारदरमा पाँच प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् ।
यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम छ प्रतिशतदेखि अधिकतम आठ प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि साधारण बचतमा न्यूनतम छ दशमलब ४२ प्रतिशतदेखि अधिकतम आठ दशमलब ४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो । मुद्दति निक्षेपको ब्याजदर भने स्थिर राखिएको छ । हाल बैंकहरुले मुद्दति निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् ।