

छाडा चाैपाया देशकै समस्याकाे रूपमा रहेकाे छ । चाैपायालाई छाडा छाड्नेदेखि चाैपाया व्यवस्थापन गर्ने निकायकाे निस्क्रियतासम्मले देशभर याे समस्या दिनदिनै बढ्दै छ । याे समाचार सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरकाे हाे । यहाँ पनि छाडा चौपाया व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको छ । यतिसम्म कि आहारा अभाव हुँदा छाडा चौपाया रुखका बोक्रा खाएर बाँचेका छन् ।
छाडा छोडिएका चौपाया व्यवस्थापनका लागि दुवै जिल्लाका स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेका छन् । खर्च गर्ने क्रम बर्सेनी बढ्दै गएको छ । तर छाडा चौपायको समस्या भने उस्तै छ । कतिपय स्थानीय तहले छाडा चौपाया व्यवस्थापनका लागि गरेको लगानी हिनामिना भएको पाइएको छ । यसरी हिनामिना गर्ने व्यक्ति तथा सम्बन्धित निकायलाई कारवाही हुन सकेको छैन ।
छाडा चौपायाबाट सबैभन्दा बढी चिन्तित किसान स्वयम छन् । उनीहरुले लगाएको अन्न बाली छाडा चौपायाले सखाप पार्ने गरेका छन् । स्थानीय तह निर्वाचनमा छाडा चौपाया व्यवस्थापन मुख्य मुद्दाका रुपमा मतदाताले उठाएका थिए । व्यवस्थापन गरिएको भनिएका चौपायाको अवस्था पनि दयनीय छ ।