

काठमाडौं । पत्थरीको अप्रेसन गर्न ग्राण्डी अस्पताल पुगेका बिरामीको घाँटीमा प्वाल पारेर लापरवाही गरेको आरोप लागेको छ । वीरगञ्जका ६१ वर्षीय गणेशकुमार जलान आइतबार पित्तथैलीमा रहेको पत्थरीको अप्रेशनका लागि भर्ना भएका थिए । तर, चिकित्सकको लापरबाहीका कारण जलानको घाँटीमा प्वाल पारिएको उनका छोरा अंकितले आरोप लगाएका छन् ।
अप्रेसन गर्नुअघि अप्रेसनको अवस्था हेरेर सोही अनुसार बेहोस गराउनु पर्ने भएपनि चिकित्सकहरुले बिरामीको अवस्था नै नहेरी बेहोसीको औषधि चढाएको आरोप उनले लगाएका छन् । सामान्य अवस्थामा अप्रेसन सकेर डिस्चार्ज गर्नुपर्ने बिरामीको घाँटीमा प्वाल पारेर अवस्था झनै जटिल बनाइएको आरोप अंकितको छ ।
आइतबार भर्ना गर्ने र सोमबार पत्थरी निकालेर अस्पतालबाट डिस्चार्ज गर्ने तयारी थियो । तर, चिकित्सकले सामान्य अप्रेशन गरेर लेजर प्रविधिबाट समाधान हुने बिषयमा पनि बिरामीलाई गम्भीर अवस्थामा पुर्याएको उनको आरोप छ ।
ग्राण्डी अस्पतालमा यसअघि पनि यस्ता समस्याहरु आइरहने गरेका थिए । धेरै बिल चढाउनको लागि अनावश्यक उपचार गराउने गरिएको आरोप लाग्दै आएको सो अस्पतालले पत्थरीको उपचार गर्न गएका बिरामीको घाँटीमा प्वाल पारेको आरोप पछिल्लो पटक लागेको हो ।