

काठमाडौं । पछिल्लो समय बैंक मर्जरको लहर सुरु भएको छ । जस अनुसार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि आजबाट एकीकृत कारोबार सुरु भएसँगै यो सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । कूल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठूलो बैंक भएको हो ।
अब छिट्टै थप ४ बैंक मर्ज भएर मुलुकभर बैंकको कुल संख्या २१ मा सीमित हुँदैछ । तर बैंकको मर्जरसँगै दुवै बैंकमा खाता भएका खातावालहरुले कुन खाताबाट कारोबार गर्ने ? यो भने धेरैलाई चासोको विषय बनेको छ । ग्लोबल आईएमई बैकका एक अधिकारीका अनुसार मर्जरपछि दुवै बैंकमा खाता रहेका खातावालहरुले केही दिनसम्मको लागि दुवै बैंकको खाता चलाउन सक्नेछन् । तर केही समयपछि भने बैंकले एकीकृत गरेर एउटा छुट्टै नम्बर प्रदान गर्ने छ । जुन हरेक खातावालको मोबाइलमा आउने छ ।
त्यसैले अहिले तत्कालको लागि प्रयोगकर्ताले जुन बैंकको कारोबार गरे पनि पूर्ववत् रुपमा कारोबार गर्न सक्नेछन् ।