

काठमाडौं । नेपालले डाँफे र मुनाल नामका थप दुई भूउपग्रह प्रक्षेपणको तयारी थालेको छ । पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ वैशाख ४ गते प्रक्षेपण गरेको थियो । सो नानो भूउपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको थियो । नयाँ प्रक्षेपणको तयारीमा रहेका ‘वान यू’ एक किलोग्राम र ‘थ्री यू’ करिब तीन किलोग्राम वजनका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्रवक्ता डा. रवीन्द्रप्रसाद ढकालका अनुसार डाँफे र मुनाल दुईतीन महिनाको फरकमा आगामी चैत र वैशाखमा प्रक्षेपण हुनेछन् । नेपालमा नास्ट र अन्तरिक्ष प्रतिष्ठानको सहकार्य र समन्वय रहेको छ । यी दुईवटा स्याटेलाइट निर्माण र उडानको नेतृत्व नास्टका डा. ढकाल र अन्तरिक्ष प्रतिष्ठानबाट आभास मास्केले गरेका थिए । थाइल्यान्डको इन्टरनेसनल इन्स्टिच्युट अफ स्पेस टेक्नोलोजी फर इकोनोमिक डेभलपमेन्टसँगको सहकार्यमा तयार भइरहेको डाँफे मिसनका लागि नास्टले एक करोड रुपियाँ बजेट छुट्याएको छ ।
प्रवक्ता डा. ढकालका अनुसार प्रक्षेपणको तयारीमा रहेका दुवैको क्षमता पहिलो स्याटेलाइटको जस्तै रहनेछ । “डाँफे नास्टले नेतृत्व गर्ने मिसन हो, मुनाल विद्यार्थीले बनाएको मिसन हो । यीमध्ये पहिला डाँफे उड्छ” उनले भने । यसमा थाइल्यान्ड वा अन्य कुनै देशको पनि सहकार्य रहने बताए । यस मिसनका मुख्य उद्देश्य स्याटेलाइट मिसनका लागि चाहिने योग्य जनशक्ति निर्माण गर्नु, स्पेस मिसन र परियोजनासँग सम्बन्धित संरचनाको विकास र अन्तर्राष्ट्रिय संस्थाबीच साझेदारी गर्नुपर्नेछ । पहिले उडाएको स्याटेलाइटबाट नेपालले धेरै कुरा सिक्ने मौका मिलेको बताएका छन् ।