

काठमाडौं । मंसिर ४ को निर्वाचनले देशभर चुनावको माहोल बनाइरहेको बेला वैदेशिक रोजगारीका लागि विदेश उड्नेहरु पनि कम छैनन् । चुनावको मुखैमा वैदेशिक रोजगारीमा जानेहरुको त्रिभुवन विमानस्थलमा दिनहुँ लर्को छ । उनीहरुलाई चुनावले पनि छेक्न सकेको छैन । तर, उनीहरु रहरले विदेश जान लागेका पनि होइनन् ।
राजनीतिक दल र उम्मेदवारले स्वदेशमै रोजगारी दिने बाचा घोषणापत्रमा गरे पनि यसअघिका बाचा पूरा गर्न सकेका छैनन् । बेरोजगारीको संख्या दिनानुदिन बढ्दै गैरहेको छ । त्यसैकारण पनि वैदेशिक रोजागरीमा जानेको संख्या वृद्धि भइरहेको हो । वैदेशिक रोजगार विभागका अनुसार गत असोज महिनामा मात्र वैदेशिक रोजगारीमा जानको लागि ६२ हजार ७०६ जनाले श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा बढीले मलेसिया जानको लागि असोज महिनामा श्रम स्वीकृति लिएका छन् । असोजमा मलेसिया जान २७ हजार ६२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । देशमै भनेजस्तो रोजगारी नभएका कारण आफूहरु विदेश जान बाध्य रहेको उनीहरु बताउँछन् ।