

काठमाडौं । सेयर बजार ओरालो लाग्दै जाँदा हितग्राही खाता (डिम्याट खाता) खोल्नेको संख्यामा पनि कमी आएको छ । गत वर्षको असोजको तुलनामा यो वर्ष डिम्याट खाता खोल्नेको संख्या ७ गुणाले घटेको देखिएको हो । गत वर्षको असोजमा १ लाख ६५ हजार ९ सय १९ जनाले डिम्याट खाता खोलेका थिए । चालू आर्थिक वर्षको असोज महिनामा २३ हजार ५५० जनाले मात्र डिम्याट खाता खोलेका छन् । जुन गत वर्षको तुलनामा सात गुणा कम हो । सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार हाल डिम्याट खाताको संख्या ५४ लाख ३२ हजार ९ सय ३२ छ ।
त्यस्तै मेरो सेयरको संख्या ४५ लाख २४ नाघेको छ। अघिल्लो दुई आर्थिक वर्षमा डिम्याट र मेरो सेयरको संख्या उल्लेख्य मात्रामा बढे पनि आर्थिक वर्ष सुरु भएसँगै डिम्याट खोल्नेको संख्या घट्दै गइरहेको छ । पछिल्लो एक वर्षमा बजार घट्दै गएसँगै डिम्याट खोल्नेको संख्या घटेको हो । कोरोना महामारीको समयमा समग्र क्षेत्र ठप्प भई वित्तीय क्षेत्रमा पर्याप्त तरलता र लगानीको क्षेत्र नहुँदा सेयरबजार सर्वसाधारण लगानीकर्ताको आकर्षण देखिँदा डिम्याट खाता खोल्ने उल्लेख्य बढेको नेपाल स्टक एक्सचेञ्ज .(नेप्से) का सूचना अधिकारी मुराहरि पराजुली बताउँछन् ।
२०७७ सम्ममा डिम्याट खाता खोल्नेको संख्या १६ लाख ९२ हजार थियो । सिडिएससीका अनुसार आर्थिक वर्ष २०७७।०७८ मा २० लाख ३७ हजार जनाले डिम्याट खाता खोले । त्यसैगरी आर्थिक वर्ष २०७८।०७९ मा १५ लाख ५७ हजार र आर्थिक वर्षको असोजसम्म १ लाख ४५ हजार जनाले डिम्याट खाता खोलेको छन्। गत आर्थिक वर्ष २०७८।०७९को साउनमा ३ लाख २६ हजार ५२५ जनाले डिम्याट खाता खालेका थिए । त्यस्तै, भदौमा ३ लाख १ हजार, असोजमा १ लाख ६५ हजार, कात्तिकमा १ लाख २४ हजार, मंसिरमा ९६ हजार, पुसमा ५८ हजार, माघमा १ लाख ९ हजार, फागुनमा १ लाख २८ हजार, चैतमा ८९ हजार, वैशाखमा ५४ हजार जेठमा ४३ हजार र असारमा ५८ हजारले डिम्याट खाता खोलेका थिए । चालू आर्थिक वर्ष ०७९।०८० को साउनमा ६७ हजारले डिम्याट खाता खोलेका छन् । त्यस्तै भदौमा ५३ हजार र असोजमा २३ हजाले डिम्याट खाता खोलेका छन् ।