

काठमाडौं । नेपाली काँग्रेस बुढानीलकण्ठ नगर समितिका सभापति राजाराम बुढाथोकीले काठमाडौैं क्षेत्र नं ४ मा गठबन्धनको विजय निश्चित रहेको भन्दै अबको संघर्ष चुनावमा मतान्तर बढाउनको लागि मात्रै रहेको बताएका छन् । आइतबार काठमाडौं खबरसँग कुराकानी गर्दै बुढाथोकीले पछिल्लो समय चुनावी अभियानको क्रममा विशेषगरी बुढानीलकण्ठका ८ वटामा गठबन्धनका उम्मेदवारहरुको पक्षमा माहोल बढ्दै गएकोले आफूहरु उत्साहित रहेको उनले बताए ।
अहिले गठबन्धनका उम्मेदवारहरुले बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र पर्ने ८ वटा वडामध्ये ७ वटाका ७० वटा टोलमा गएर मतदाताहरुसँग अन्तक्रिया गरिसकेका छन् । सो अन्तक्र्रियाको क्रममा मतदाताले देखाएको सहभागिता र उनीहरुको हौसलाले आफूहरु उत्साहित भएको बुढाथोकी बताउँछन् । ‘यहाँसम्मको अवस्था हेर्दा हामीहरु उत्साहित भएका छौं । ती कार्यक्रमहरूमा नेपाली काँग्रेसबाट संघीय निर्वाचनको लागि उम्मेदवारी दिएका गगन थापा, माओवादीका समानुपातिकतर्फका उम्मेदवार राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका कुुसुम कुमार कार्कीले बोलेका थिए ।’ उनले भने ‘कार्यक्रममा उपस्थितहरुले सांसदहरुसँग भेट्न कठिन भएको लगायतका सामान्य गुनासो गरे पनि यो टिम निर्वाचनमा विजयी हुनै पर्ने तर्क गर्ने गरेका छन् ।’
कार्यक्रममा उपस्थितहरुको गुनासो सुनिसकेपछि गठबन्धनका उम्मेदवारहरुले क्षेत्र नं ४ को प्रदेशतर्फ सरकारी कार्यालय जस्तै जनताको गुनासो सुन्ने एउटा कार्यालय स्थापना गर्ने निष्कर्षमा पुगेको बुढाथोकीले बताए । ‘प्रदेश एक र दुईमा नै नेपाल सरकारको जस्तै कार्यालय राख्ने गर्ने सहमतिमा तीनै दलका उम्मेदवारहरु पुग्नु भएको छ । त्यसलाई चलाउने एउटा स्टेरिङ कमिटी बनाउने कुरा भएको छ । आफूले गरेको कामको बारेमा जनताले थाहा नपाएको र जनताले सांसदलाई भन्नेबित्तिकै भेट्न नपाएको भन्ने गुनासो सुनुवाई समेत गर्नुपर्ने भएकोले यो कार्यालयको अवधारणा आएको हो ।’ उक्त कार्यालयमा पुगेर आफ्ना समस्या राख्न सक्ने गरी संयन्त्र बनाउने तयारी भइरहेको बुढाथोकीले बताए ।
बुढाथोकीले काठमाडौं क्षेत्र नं ४ मा गगन थापालाई कुनै पनि चुनौती नरहेको बताए । ‘यो क्षेत्रमा महामन्त्रीज्यूलाई कुनै चुनौती नै छैन । एमालेले देशभर क्लिन स्वीप गरेको अवस्थामा समेत सहजै चुनाव जित्नुभएकोले अहिले चुनौती छैन ।’ उनी भन्छन् ‘समाजवादीका कुसुमजी पनि सबैसँग मिल्न सक्ने खुबी भएको उम्मेदवार भएकोले उहाँको समेत जित निश्चित जस्तै छ । हरेक कार्यक्रममा उहाँलाई पनि पार्टीका सबै सदस्यहरुले उपस्थित भएर साथ दिइरहनु भएको छ ।’ काँग्रेसभित्र आन्तरिक विवाद रहेको र त्यो चुनौती भन्न सक्ने कुरा बकबासकोे कुरा रहेको बुढाथोकी बताउँछन् ।