Breaking news

#ट्याग:

'चुनावी माहोल 'ग्रीन जोन'मा छ, बलियाे जनमत सिर्जना भएकाे छ'

२०७९ कार्तिक ४ शुक्रबार

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा काठमाडौं क्षेत्र नं ४ मा पनि गठबन्धनको तर्फबाट संयुक्त चुनावी प्रचारप्रसार चलिरहेको छ । अहिले चुनावी प्रचारप्रसार र चुनाव परिचालन समितिको शुक्रबार उद्घाटन हुँदै छ । काठमाडौंको सुकेधारामा आयोजना हुने कार्यक्रममा काँग्रेस महामन्त्री एवं काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गगन थापाले उद्घाटन गर्दैछन् । हामीले निर्वाचन प्रचार समितिका संयोजक एवं काठमाडौं क्षेत्र नं ४ का क्षेत्रीय सभापति श्यामकृष्ण संगतसँग चुनावी माहोल कस्तो छ ? यो चुनावमा गठबन्धनले महसुस गरेको चुनावी चुनौती के हो ? भन्नेबारे प्रश्न गरेका थियौं । उनको जवाफको सम्पादित अंश तल प्रस्तुत गरिएको छ । 

 

अहिले काठमाडौं क्षेत्र नं ४ को चुनावी माहोल राम्रो बन्दै गएको छ । काठमाडौं महानगरपालिकाको ४ वटा वडा र बुढानीलकण्ठ नगरपालिकाको ८ वटा वडा रहेको यो क्षेत्रमध्ये महानगर क्षेत्रमा हामी पहिले नै पनि बलियो छौं र यसलाई अझ सुदृढ बनाउने काम भइरहेको छ । बुनपातर्फको चुनावी समीक्षा गर्दा हामी स्थानीय निर्वाचनमा केही कमजोर देखिएका थियौं । तर यसलाई रणनीतिक रुपमा हामीले आफ्नो पक्षमा बलियो जनमत सिर्जना गराइसकेका छौं । त्यसैले यो क्षेत्रको समग्र माहोल एकदम सकारात्मक हुँदै गएको छ । 

 

चुनावलाई हामीले तिहार अघि र पछि गरी दुईवटा चरणमा विभाजन गरेर प्रचारप्रसार अभियानलाई अघि बढाएका छौं । निर्वाचनको निश्चित दिनअघि मात्रै झण्डा लिएर चुनावी प्रचारमा जान पाउने रणनीति अनुसार नै हामीले तिहारपछि घरदैलोमा जाने तयारी गरेका छौं । यसअघिलाई हामीले वडा भेला र समूहगत छलफलको माध्यमबाट चुनाव प्रचार गर्ने अभियान अघि बढाएका छौं । 

 

निर्वाचनको लागि आवश्यक पर्ने निर्वाचन परिचाल समिति र प्रचारप्रसार समितिको उद्घाटन शुक्रबार नै एक कार्यक्रमकाबीच गरिएको छ । जसमा निर्वाचन परिचालन समितिमा विनोदबाबु प्रधानलाई संयोजक चयन गरिएको छ भने प्रचारप्रसार समितिमा म आफैं रहेको छु । काठमाडौं क्षेत्र नं ४ को संयोजक म भए पनि यसको पनि ४(क)तर्फ गोपालप्रसाद आचार्यको संयोजकत्वमा अर्काे समिति छ भने ४(ख)तिर श्यामकृष्ण श्रेष्ठको संयोजकत्वमा अर्काे समिति गठन गरिएको छ । यी समितिहरुमा गठबन्धनमा आबद्ध सबै दलका प्रतिनिधिहरु रहने व्यवस्था गरिएको छ । 

 

हामीले आसन्न चुनावमा केही चुनौतीहरु देखेका छौं । एउटा त, बुनपातर्फ स्थानीय तहमा हामीहरुको एउटा पनि वडाध्यक्ष नजितेकाले ८ वटा वडामा हामी केही धेरै हाेमवर्क गरिरहेका छाैँ । ३ वटा वडामा हामीहरुको बहुमत सदस्य भए पनि वडाध्यक्ष जित्न सकिएन । वडा सदस्यहरुमात्रै हुनुहुन्छ । भलै यो समस्या कामपातर्फ देखिँदैन । अर्काे भनेको हाम्रा प्रतिस्पर्धी साथीहरुले नभएका अनर्गल प्रचार गरेर जनतामा भ्रम फैलाउने काम गरिरहनु भएको छ । हामीले भोगेको मुख्य चुनौतीको विषय यही हो । हामीलाई आफ्नो पार्टी वा गठबन्धनमा आबद्ध दलहरुबाट केही चुनौती छैन । चुनौती छ त हाम्रो निकटतम प्रतिस्पर्धीबाट । त्यसैले यो चुनौतीलाई कसरी चिर्ने भन्ने रणनीतिमा हामीहरु छौं । 

 

हामीलाई यो क्षेत्रमा फेरि सजिलो पनि छ । हाम्रा विपक्षी दलका साथीहरुलाई जस्तो हामीलाई अरुले गरेको कामलाई पनि आफूले गरेको भनेर अनर्गल प्रचार गरिरहनुपर्न आवश्यकता हामीसँग छैन । हाम्रा महामन्त्रीज्यूले आफ्नो कार्यकालमा देखाउन मिल्नेगरी काम गर्नुभएको छ । त्यसैले ती विकास निर्माणका कामहरु देखाएर पनि हामीहरु भोट माग्न सक्षम छौं । त्यसैले यो हाम्रो सहज पक्ष हो । त्यस्तै, अर्काे सहज पक्ष भनेको स्वतन्त्रबाट लडेकाले उम्मेदवारहरुले गगन थापालाई समर्थन गर्दै भकाभक उम्मेदवारी फिर्ता लिइसकेका छन् । यो पनि हामीहरुको सवल पक्ष हो । 

 

समग्रमाभन्दा हामीले आफूले गरेको कामलाई जनतासम्म पुर्‍याउँदा हामीलाई चुनावमा जित्न कठिन छैन । हामीले क्षेत्र नं ४ मा पर्ने १४८ वटा टोलमा वडावाइज छलफल कार्यक्रम राखेका छौं । बुनपा १० र कामपा ७ मा दुई दिन र बाँकी वडाहरुमा एकैदिनमा छलफल कार्यक्रम सकेका छौं । महामन्त्री थापा र समाजवादी पार्टीबाट उम्मेदवारी दिएका कुसुम कुमार कार्की दुवै प्रचारप्रसारको लागि खटिनु भएको छ । यसरी हामी अहिले निर्वाचनको ग्रिन जोनमा छौं । यसलाई अझ बलियो बनाउँदै हामी चुनावी प्रचारप्रसारलाई अबको एक महिना तीब्रताका साथ अघि बढाउन चाहन्छौं । 
 



सम्बन्धित समाचार

लोकप्रिय समाचार