Breaking news

#ट्याग:

मंगलबार ४ः५३ मा खण्डग्रास सूर्यग्रहण नेपालबाट देखिने, राशीमा भर नपर्नुस्

२०७९ कार्तिक ४ शुक्रबार

काठमाडौं । आगामी मंगलबार लाग्ने खण्डग्रास सूर्यग्रहण लाग्दैछ । सूर्यग्रहण नेपालको सबै भू–भागबाट पश्चिम–दक्षिण–पश्चिम भागमा देख्न सकिने विज्ञको भनाइ छ । बीपी कोइराला मेमोरियल प्लानेटरीयम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका अनुसार नेपालबाट सूर्यास्तको समयमा क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाइ कोणमा सूर्य अवस्थित हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न भने सकिने छैन । 

 

काठमाडौंबाट अवलोकन हुने सूर्यको ३७।७ प्रतिशत भाग मात्र ग्रहण लागेको देख्न सकिने अब्जरभेटरीका निमित्त कार्यकारी निर्देशक एवम् खगोलविद् डा.सनतकुमार शर्माले बताए । यो खण्डग्रास सूर्यग्रहण हेर्दा केही राशीलाई राम्रो हुने, केही राशीलाई नराम्रो हुनेजस्ता कुराहरु बाहिर आए पनि वैज्ञानिक रुपमा यो सत्य छैन । नेपालमा कात्तिक ८ गते मंगलबार साँझ ४ः५३ बाट खण्डग्रास सूर्यग्रहण लाग्नेछ । ग्रहणको समाप्ति साँझ ५ः२६ मा हुने बताइएकोछ । नेपालमा करिब ३३ मिनेट मात्र ग्रहण देखिने शर्माले बताए ।  

 

सूर्य ग्रहणलाई खाली आँखाले भने हेर्नु हुँदैन । बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर अवलोकन गर्न नहुने शर्माले बताए । ‘खुल्ला आँखाले सूर्यग्रहणको अवलोकन गरेमा आँखा सदाका लागि बिग्रिने सम्भावना रहन्छ । साथै ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नुहुँदैन’ उनले भने । हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङ्गको धातु लेपन भएको चस्माबाट मात्र यसको अवलोकन गर्न सकिनेछ । साधारण चस्माबाट यसको अवलोकन गर्न नहुने बताइएको छ । खण्डग्रास सूर्यग्रहण लागेका बेला केही राशिका मान्छेले हेर्न हुने केहीले नहुने भन्ने आधारहरू वैज्ञानिक रूपमा सत्य नरहेको उनले बताए । ‘यो खण्डग्रास सूर्यग्रहण हेर्दा केही राशीलाई राम्रो हुने, केही राशीलाई नराम्रो हुनेजस्ता कुराहरू बाहिर आए पनि वैज्ञानिक रूपमा यो सत्य छैन’ उनले भने । सूर्य ग्रहणको समयमा मानवमा पर्ने प्रभावका सम्बन्धमा हालसम्म कुनै पनि वैज्ञानिक आधारहरू प्राप्त हुन नसकेको बताए ।



लोकप्रिय समाचार