Breaking news

#ट्याग:

'घरमात्र सकिएन, नगद-सुनदेखि मोटरसाइकलसम्म जले, संयोगले हामी बाँच्यौ'

२०७९ असोज ७ शुक्रबार

काठमाडौं । ताप्लेजुङको फुङलिङ दोखुबाट २५ वर्षअगाडि काठमाडौं कपनमा आएर बसेका टंक घिसिङको २५ वर्षको कमाइ एक मिनेटमा खरानी भयो । बुधबार राति लागेको लागोले उनको घर कामै नलाग्ने भएको छ । उनले घरको तल्लो फ्ल्याट ट्रेकिङ कम्पनीलाई भाडामा लगाएका थिए । ​हिमाल चढ्न प्रयोग हुने अक्सिजन सिलिन्डरहरू राखिएको थियो । आगलागी हुँदा उनको घरको क्षति मात्रै नभएर नगद, सुन, लत्ताकपडा सबै जलेको हो । क्यानडा जान उनको छोराको भिसा लागेको थियो । त्यसको लागि पैसा साटेर घरमै राखेका थिए । 


छोरा क्यानडा जानलाई साटेको पैसा र १६ लाख नगद गरेर आफ्नो कोठामा २८ लाख रुपैयाँ राखेको उनले बताए । क्षतिको विवरण सुनाउँदै उनले ३५ तोला सुन र १५ तोला चाँदी थियो, सबै सखाप भएको बताए । घरअगाडि रहेका उनले आफूहरूले लगाएको एकसरो कपडाबाहेक सबै खरानी भएको बताए । खाना पकाउने क्रममा ग्यास लीक भएर आगो सल्किएको र आगो अक्सिजन सिलिण्डमा सल्किएर फैलिएको हुन सक्ने घिसिङले बताए । ‘किचनबाट ग्यास लिक भएको भन्ने छ । त्यहाँ सीसीटीभी क्यामेरा थियो, त्यो हेरेपछि विस्तृत थाहा हुन्छ,’ उनले भने । साँझको समयमा आफूहरू बजार निस्किएकाले परिवारका सदस्यहरू भने सकुशल रहेको उनले बताए । उनी श्रीमतीसँगै चाबहिल गएका थिए ।

 

घरमा रहेकी सासूआमा पनि नातिलाई लिएर बेलुका बजारमा टहल्न निस्केकी रहिछन् । ७ महिनाको गर्भवती रहेकी साली मात्र घरमा थिइन् । उनी माथिल्लो तल्लामा रहेकाले पछि उद्धार गर्न सम्भव भएको थियो । भुइँतल्ला ट्रेकिङ व्यवसायी मिङ्मा शेर्पाले भाडामा लिएका थिए । घटना भएको दिन त्यहाँ मिङ्माका भाइ र कामदारहरू थिए । घिसिङ बेलुका करीब सवा ८ बजेतिर घर फर्किए । घरनजिक आइपुग्दा भीडभाड थियो । नजिकै आगो लागिरहेको देखे । कतै आफ्नै घर त हैन भनेर हेर्दा उनी छाँगाबाट खसेजस्तो भए । उनी पुग्दा दमकल आइसकेको थियो । ‘म आउँदा आगो लागिरहेको थियो । भित्र जान सक्ने अवस्था थिएन । के गर्ने, कसो गर्ने अत्तोपत्तो पाइनँ,’ घिसिङले भने । छिमेकीहरुले एक्कासि बम पड्केकोजस्तो आवाज आएको बताउँछन् । पछि हेर्दा त घरमा आगलागी भएको देखेका थिए । त्यसपछि प्रहरीलाई खबर गरेका थिए । 

 

प्रहरीका अनुसार घटनामा ३ जनाको मृत्यु भएको छ । प्रहरी परिसर काठमाडौंका अनुसार मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय तेन्जी शेर्पा, संखुवासभा घर भई काठमाडौंको सुकेधारा बस्दै आएका ३२ वर्षीय अशोक राई र काठमाडौं २६ रानीबारी बस्ने २५ वर्षीय छेवाङ शेर्पा रहेका छन् । कपनमै बस्ने २८ वर्षीय कुशल बुढाथोकीको दायाँ हात, दुबै खुट्टा र अनुहारको दायाँ भाग जलेको छ । उनको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार खाना पकाउने ग्यास र अक्सिजन सिलिन्डर विस्फोट भएर आगलागी भएको हो ।



सम्बन्धित समाचार

लोकप्रिय समाचार