Breaking news

#ट्याग:

'सुरूवाती सयदिन हेर्दा मिठाराम अधिकारी कुहिराेकाे कागमात्र बने’ 

२०७९ भदौ २८ मंगलबार

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले नगरपालिकाको मेयरको कार्यभार सम्हालेको १०० दिन पुगेको छ । कुनै उत्साहजनक काम नगरेरै १०० दिन पूरा गरेका मेयर अधिकारी आफ्नोेकामबाट उनी आफैं पनि सन्तुष्ट नभएको सुनाउने गर्छन् । १०० दिनको समयमा प्रशंसा गर्न लायकभन्दा आलोचना गर्न लायक काम धेरै गरेका अधिकारीप्रति उनका निकटतम प्रतिस्पर्धी विनोद चालिसेले पनि आलोचनात्मक टिप्पणी गरेका छन् । 

 

काठमाडौं खबरसँग कुराकानी गर्दै चालिसेले मेयर मिठाराम अधिकारीबाट कुनैपनि क्षेत्रमा आसै गर्न नसकिने बताएका हुन् । उनले अबको पाँच वर्ष कसरी चलाउँछन् भन्ने पहिलो १०० दिनको कामबाट नै पुष्टि भइसकेको भन्दै बिहानीले दिउँसोको संकेत गरेजस्तै उनले अबको पाँच वर्ष कुनै उल्लेखनीय काम गर्न सक्दैनन् भन्ने पुष्टि भइसकेको बताए । 

 

त्यसो त बुढानीलकण्ठ नगरपालिकामा पहिलेदेखि नै माग उठ्दै आएको खहरे मिचेर बनाएका घरहरुमाथि कारबाही प्रक्रिया अघि बढाउनै पर्ने दबाबमा थिए, मेयर अधिकारी । आफ्नै कारणले वर्षेनि कपनवासी डुबानमा परेको देखिरहँदा उनी नगरपालिकाको मेयर भएपछि त्यो विषयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने हो । तर उनले आगामी आर्थिक वर्षको बजेटमा यो कुरा उल्लेख गरेनन् । खाेला तथा सार्वजनिक जमिन अतिक्रमणविरुद्ध उनले किन केही कदम चाल्न सकेनन् होला ? भन्ने प्रश्नमा चालिसे भन्छन् ‘मेयर अधिकारीकै घरको दुईवटा कोठा खहरे खोलाको नक्साभित्र पर्छ भनेर सुन्ने गरिएको छ । अनि उहाँले कसरी आफ्नै घर भत्काएर खहरे बग्न दिनुहुन्छ ?’ त्यसो त चालिसेले लगाएको जस्तै आरोप आइतबार उपत्यका विकास प्राधिकरणमा एक वडा सदस्यले पनि लगाएका थिए । कार्यक्रममा बोल्दै बुनपा ९ का वडासदस्य श्याम कार्कीले मेयरको घर नै खहरेको नक्साभित्र पर्नेभन्दै छानबिनको माग समेत गरेका थिए । 


मेयरका उम्मेदवार चालिसे मिठाराम अधिकारीमा कुनै निर्णय क्षमता नरहेको भन्दै अहिलेको नगरपालिका ७४ सालभन्दा अघिको जस्तै कर्मचारीकै भरमा चलेको बताउँछन् । ‘मिठारामजीले प्रशासन पनि चलाउन सक्नुभएको छैन । उहाँभन्दा त बरु उपमेयर अलिक प्रभावशाली देखिनुहुन्छ ।’ चालिसे भन्छन् ‘उपमेयरलाई पनि विधि र प्रक्रियाको कुनै ज्ञान नहुँदा कार्यकारी र अन्य विभागीय प्रमुखको जे भन्याे त्यहीमा हस्ताक्षर मात्रै गर्ने काम मेयर अधिकारीको रहेको छ ।’

 

त्यसो त मिठाराम अधिकारी पहिलो पटक जनप्रतिनिधि बनेका व्यक्ति होइनन् । पहिले २०७४ सालमा नै गाविस अध्यक्ष बनिसकेका उनी पटकपटक लाभको पदमा पुगिसक्दा पनि उनको कार्यक्षमताले गति लिन सकेको छैन । ‘उहाँ कुहिरोको काग जस्तै हुनुभएको छ । चुनावअघि उहाँले जस्तो घोषणापत्र ल्याउनुभएको थियो, त्यसको एक प्रतिशत काम पनि यो १०० दिनमा हुन सकेको छैन ।’ सुशासन र जनतालाई दिने सेवालाई पनि चुस्त बनाउन नसकेको उनको आरोप छ ।

 

१०० दिनको समयमा छिमेकी काठमाडौं महानगरपालिकाले सार्वजनिक सम्पत्ति मिचेर बनाएका संरचनामाथि डोजर चलाउन सुरु ग¥यो । अहिले महानगरवासीले भटाभट अवैध संरचना आफैं हटाउन थालेका छन् । यो अभियान बुढानीलकण्ठ नगरपालिकामा पनि आवश्यक रहेको भन्दै खहरेको सीमाभित्र पर्ने होस् या अन्य सार्वजनिक जग्गामा बनेका संरचना नयाँ मेयर आएपछि हट्ने आशा धेरैले राखेका थिए । तर सुरुको १०० दिनमा यसको सुरुवाती काम पनि केही भएको छैन । 

 

नेता चालिसे एक्सनमा जानुपूर्व त्यो विषयको तथ्यांक संकलन हुनुपर्ने भएपनि मेयर अधिकारीसँग सार्वजनिक सम्पत्तिको कुनै तथ्यांक नरहेको दाबी गर्छन् । चालिसेले अधिकारीलाई त नगरपालिकाभित्र कतिवटा शाखाहरु छन् ? भन्ने समेत यकिन जानकारी नहुन सक्ने अनुमान गर्छन् । ‘यदि मिठाराम अधिकारी साँच्चिकै मेयर हुन् भने अतिक्रमण भएका सार्वजनिक जग्गामा डोजर हान्ने आँट गर्नुपर्छ ।’ उनले भने ‘उहाँको डिसिजन मेकिङ पावर देखिएन । उनले एउटा परिषद् पास गरेकोबाहेक कुनै पनि निर्णय गरेको भेटेको छैन ।’ 

 

आफ्नो सुरुको १०० दिनमा दीर्घकालीन महत्वका कामहरु सम्पन्न गर्न सक्ने अवस्था त रहँदैन । तर यो समयमा केही न केही सुधारको सुरुवात गर्न सकिने चालिसेको भनाइ छ । उनको बुझाइमा मेयर अधिकारीले नयाँ मेयर निर्वाचित भएपछि कर्मचारी व्यवस्थापनको विषयमा आफैंले चासो लिनुपर्ने हो । कर्मचारी परिचालनमा कडा रुपमा प्रस्तुत हुनुपर्ने मेयर अधिकारी आफ्नै जनप्रतिनिधिलाई काम बाँडफाँट गर्ने सवालमा समेत कमजोर देखिएको उनको आरोप छ । मतदाता नामावलीमा आफ्नै नगरपालिकाको छाप किर्ते भएको प्रमाण समेत बाहिर आउँदा समेत चुक्क बोल्न नसक्ने मेयर साँच्चै अकर्मण्य रहेको उनको आरोप छ । यही घटनाले पनि मेयर अधिकारीले कुनै पनि काम यो कार्यकालमा गर्न सक्छन् भन्ने नलागेको उनी सुनाउँछन् । 

 

कर्मचारीहरुको गुणस्तर सुधार, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा योजनावद्ध विकास, निजी क्षेत्रको शिक्षा गुणस्तर हुने तर सरकारी विद्यालयमा किन गुणस्तरहीन शिक्षा भयो ? भनेर यसको खोजी गर्ने जस्ता विषयमा मेयर अधिकारीले केही पनि गर्न नसकेको उनको आरोप छ । सार्वजनिक जग्गा संरक्षणको लागि पहिले इन्भेन्ट्री तयार पार्नुपर्ने भए पनि यस विषयमा कुनै काम गर्न नसकेको उनले आरोप लगाए ।  सार्वजनिक जग्गा रेखांकन गर्ने, सहकारी डुबेका घटनाहरु आइरहँदा तिनीहरुको निगरानी र अनुगमन गर्ने जस्ता कामहरु मेयरले गर्नुपर्ने भए पनि त्यसो गर्न सकेको पाइएको छैन । 

 

काठमाडौंमा फोहोरमैला व्यवस्थापनको बहस चलिरहँदा बुढानीलकण्ठ नगरपालिकाले भने यसमा कुनै चासो दिएको छैन । फोहोरमैलाको विषय पनि आफैंले केही गर्न सक्छौं कि भनेर योजना बनाउनु पर्ने हो । त्यतिका समयसम्म फोहोर नउठ्दा पनि नगरपालिकाले छलफलसम्म अघि बढाउन सकेन । यी र यस्तै कारणहरुले गर्दा मेयर मिठाराम अधिकारीमा आफैं काम गर्ने कुनै मिसन र रणनीति नै नरहेको चालिसे बताउँछन् । साथै, उनमा जवाफदेहिता, पारदर्शिता आदि केही पनि नदेखिएकोले अबको पाँच वर्षमा नगरपालिकामा केही परिवर्तन होला भनेर सोच्न सक्ने अवस्थै नरहेको उनी बताउँछन् । 



सम्बन्धित समाचार

लोकप्रिय समाचार